भूकम्पको शीर्षकमा बजेट छुट्याउन माग

भूकम्पको शीर्षकमा बजेट छुट्याउन माग

काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले आगामी बजेटमा भूकम्प पुनर्निर्माणको शीर्षकमा पर्याप्त रकम छुट्याउन सरकारलाई आग्रह गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले हालसम्म भूकम्प सम्बन्धी पुनर्निर्माणको शीर्षकमा बजेट नछुट्याइएको जानकारी आएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरे। ‘भूकम्पको शीर्षकमा बजेट छुट्याइएको छैन भन्ने जानकारी पाएको छु, त्यसो नगरियोस्। सबै क्षेत्रका लागि पुनःनिर्माण बजेट व्यवस्था गरियोस्,’ उनले भने।

उनले जनजीविकाका सवालमा राज्य गम्भीर नदेखिएको टिप्पणी गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेख्य सुधार हुन नसकेको बताए। ‘संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था हुँदाहुँदै पनि जनतामा निराशा छ,’ शर्माले भने।

‘वर्तमान अवस्थामा बजेटको ६५ प्रतिशत चालु खर्चमा जाने गरेको छ, जबकि पूँजीगत खर्च १७ प्रतिशत मात्र छ। यो अनुपात उल्ट्याएर ६५ लाई ३५ मा झार्नुपर्छ। त्यसो भयो भने हाम्रो समर्थन हुनेछ,’ शर्माले भने।

उनले स्रोत अभावको बहानामा जनअपेक्षा मेट्ने काम रोकिनु नहुने पनि स्पष्ट पारे। बजेट निर्माण प्रक्रियामा जनताको अपेक्षा प्राथमिकतामा राख्नुपर्ने उनले जोड दिए।

वैशाख ३१, २०८२ बुधबार १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।