क्यानको ‘सेन्ट्रल कन्ट्याक’ बाट अलग हुने सन्दीपको घोषणा

क्यानको ‘सेन्ट्रल कन्ट्याक’ बाट अलग हुने सन्दीपको घोषणा
तस्विर : क्यान

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने निर्णय गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले यो निर्णय क्रिकेट वा देशबाट टाढा हुन नभइ व्यावसायिक उन्नतिको दिशामा अघि बढ्ने प्रयास भएको स्पष्ट पारेका छन्।

सन्दीपले लेखेका छन्, ‘यो निर्णय मेरो जीवनको अर्को चरणतर्फको यात्रा हो। म क्यानप्रति सधैं आभारी छु। नेपाली क्रिकेट र मेरो विकासमा क्यानको योगदान उल्लेखनीय रहेको छ।’ उनले यो निर्णय कुनै असहमति वा दूरी होइन, उद्देश्यपूर्ण परिवर्तन भएको स्पष्ट पारे।

उनले राष्ट्रिय टोलीका लागि खेलिरहने प्रतिबद्धता समेत गरेका छन्। उनले भनेका छन्, ‘नेपालका लागि खेल्ने जिम्मेवारी र गौरव मेरो हृदयसँग सधैं जोडिएको छ। मेरो देशप्रतिको निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै घट्ने छैन।’

सन्दीपले आगामी दिनहरूमा क्रिकेटसँगै जीवनका अन्य आयामहरूमा पनि आफूले धेरै योगदान गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। 

आइसीसी विश्वकप लिग-२ को शृङ्खलाका लागि नेपाली टोली बुधबार स्कटल्याण्ड जाँदैछ। टोलीमा सन्दीप पनि सहभागी छन्। यस विषयमा क्यानले भने कुनै धारणा सार्वजनिक गरेको छैन। 

वैशाख ३१, २०८२ बुधबार १४:४८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।