स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ

स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ
तस्विर : क्यान

काठमाडौं : आइसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले मंगलबार टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्यो।

कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र केन्द्रीय सदस्य छुम्बी लामा लगायतको उपस्थिति थियो। अध्यक्ष चन्दले बेलायतमा हुने अभ्यास खेलले टोलीको आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्दै प्रतियोगिताका लागि शुभकामना दिए।

नेपाली टोली मंगलबार साँझ ६ बजे स्कटल्याण्डतर्फ जाँदैछ। लिग-२ अन्तर्गत नेपालले जुन २ देखि १० (जेठ १९ देखि २७) सम्म स्कटल्याण्ड र नेदरल्याण्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ।

यसपछि नेपालले यी दुई देशसँग टी-२० अन्तर्राष्ट्रिय शृङ्खलासमेत खेल्नेछ, जुन जुन १५ देखि २० (असार १ देखि ६) सम्म चल्नेछ। लिग-२ सुरु हुनुअघि नेपाली टोलीले बेलायतको स्थानीय टिम र स्कटल्याण्ड ‘ए’ टोलीसँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको क्यानले जनाएको छ।

लिग-२ शृङ्खलाका लागि १५ सदस्यीय नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन्। नेपालले लिग-२ मा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

वैशाख ३१, २०८२ बुधबार १४:२५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।