राष्ट्रपतिले भने ‘हरेक वर्ष सरकारी बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण’

राष्ट्रपतिले भने ‘हरेक वर्ष सरकारी बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण’

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्नु सुशासनको लागि चुनौती रहेको बताएर। महालेखा परीक्षकले आर्थिक वर्ष २०८०-२०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उनले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्त्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही बन्नु आवश्यक रहेको बताए।

‘सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो, सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीहरूलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ,’ प्रतिवेदन बुझ्दै उनले भने।

लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजू गम्भीर चासो र सरोकारको विषय बनेको बताउँदै उनले वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानुनको परिपालन एवं आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

उनले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्त्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए।

महालेखा परीक्षकबाट सरकारी वा सार्वजनिक स्रोत, साधन तथा सम्पत्तिको सदुपयोग भए नभएको, अनियमितता वा हानी नोक्सानी भए नभएकोसमेतको विषय परीक्षण हुँदै आएको सन्दर्भमा प्रतिवेदनमा औँल्याइएका विषयहरूले सम्बन्धित निकायलाई आर्थिक अनुशासन तथा वित्तीय उत्तरदायित्त्वप्रति थप सजग गराउने बताए।

वैशाख ३१, २०८२ बुधबार १४:०७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।