पाकिस्तानी हिरासतमा रहेका बीएसएफका जवान पूर्णम २२ दिनपछि रिहा

एजेन्सी : पाकिस्तानले भारतीय सीमा सुरक्षा बल (बीएसएफ) जवान पूर्णम कुमार साऊलाई भारतको जिम्मा लगाएको छ।
२२ दिनअघि अप्रिल २३ मा सीमा पार गरेर पाकिस्तानी सीमामा पुगेका पूर्णमलाई पञ्जाबको अटारी सीमाबाट पाकिस्तानी रेन्जर्सले पक्राउ गरेको थियो।
‘२३ अप्रिल २०२५ देखि पाकिस्तान रेन्जर्सको हिरासतमा रहेका बीएसएफ जवान पूर्णम कुमारलाई आज बिहान १०.३० बजे संयुक्त चेक पोस्ट अटारी, अमृतसरमा भारतलाई हस्तान्तरण गरिएको छ,’ बीएसएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हस्तान्तरण शान्तिपूर्ण र स्थापित प्रोटोकल अनुसार गरिएको थियो।’
अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो र मे ७ मा पाकिस्तानमा भारतको हवाई आक्रमणपछि स्थिति द्वन्द्वग्रस्त बनेको थियो।
मे १० मा दुई देशबीच युद्धविराम भएको थियो, त्यसपछि दुवै देश तनाव कम गर्ने प्रयासमा छन्।
फिरोजपुरमा बीएसएफको २४औं बटालियनमा कार्यरत पूर्णमलाई २३ अप्रिलमा भारत-पाकिस्तान सीमा क्षेत्रमा खटाइएको थियो।
कश्मीरको पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकले ज्यान गुमाएकै दिन उनी पाकिस्तानी सेनाको कब्जामा रहेको खबर बाहिरिएको थियो।
पूर्णमले सीमा नजिकैका किसानहरूलाई संवेदनशील क्षेत्रबाट सुरक्षित स्थानमा सार्ने क्रममा अन्तर्राष्ट्रिय सीमा पार गरेका थिए।
त्यसक्रममा पाकिस्तानी सेनाले उनलाई नियन्त्रणमा लियो। उनको आँखामा पट्टी बाँधिएको एउटा तस्बिर सार्वजनिक भएसँगै उनी पाकिस्तानी सेनाको हिरासतमा रहेको पुष्टि भयो।
रिहा भएको खबरसँगै पूर्णमको गाउँ पश्चिम बङ्गालको रिशरामा रहेको परिवारमा खुसी छाएको छ। उनको घरमा सात महिनाकी गर्भवती श्रीमतीसहित आमाबुवा तथा आठ वर्षीय छोरा छन्।
वैशाख ३१, २०८२ बुधबार १४:०३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।