दश वर्षपछि आफ्नै मन्दिरमा फर्किए सेतो मछिन्द्रनाथ (तस्बिरहरू)

दश वर्षपछि आफ्नै मन्दिरमा फर्किए सेतो मछिन्द्रनाथ (तस्बिरहरू)

काठमाडौं : २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको जनबहालस्थित सेतो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सम्पन्न भएसँगै मूर्तिलाई पुनः मन्दिरमा पुनर्स्थापित गरिएको छ। मन्दिर पुनर्निर्माण कार्य सुरु गर्नुअघि मूर्तिलाई नजिकैको अस्थायी स्थानमा सारिएको थियो।

भारत सरकारको ६ करोड २६ लाख रुपैयाँको सहयोगमा शहरी विकास मन्त्रालयमार्फत २०७७ माघ २७ गते ठेक्का सम्झौता भई २०७७ फागुन १३ गते यस मन्दिरको पुनर्निर्माण कार्य सुरू भएको थियो।

दुई वर्षभित्र अर्थात् २०७९ फागुन १२ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि पुनर्निर्माणको सम्पूर्ण काम भने निर्धारित समयमा पूरा हुन सकेन। पुनर्निर्माणका मुख्य कार्यहरू सकिएपछि हालै मात्र सेतो मछिन्द्रनाथको मूर्तिलाई मन्दिरमा पुनर्स्थापित गरिएको हो।

परापूर्वकालमा जमलको खेतमा किसानले हलो जोत्दा मूर्ति फेला पारेका थिए। उनले मूर्तिलाई घरमा धानको भकारीभित्र लुकाएर राखे, तर भकारीबाट जति धान झिकेपनि नसकिने भएपछि मूर्तिलाई अन्नदाता मानी जनबहालमा स्थापना गरियो। सोही परम्पराअनुसार सेतो मछिन्द्रनाथको जात्राका लागि मूर्ति फेला परेको जमलमै रथ बनाउने चलन छ।

उपत्यकामा जमल र बनेपाको नालामा सेतो तथा ललितपुरको बुङमती र चोभारमा रातो गरी चारवटा मच्छिन्द्रनाथ छन्। धार्मिक सहिष्णुताको प्रतीक मानिने सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्ध (विशेषगरी महायान तथा बज्रयान) सम्प्रदायले आर्यावलोकितेश्वरका रूपमा पूजा गर्ने परम्परा छ।

नेवार समुदायको गहिरो आस्था र ऐतिहासिक महत्व बोकेको सेतो मछिन्द्रनाथको यस वर्षको रथजात्रा सम्पन्न भएपश्चात २०८१ चैत्र २७ गते मूर्तिको पुनर्स्थापना गरिएको हो।

मूर्ति पुनर्स्थापनापछिको जनबहाल मन्दिरका केही तस्बिरहरू हेर्नुहोस्:

वैशाख ३१, २०८२ बुधबार १३:३१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।