बजेट भाषणकै दिन बजेट पुस्तिका च्यात्ने सांसद् केसीको चेतावनी

काठमाडौं : प्रतिनिधि सभा सांसद अर्जुन नरसिंह केसीले बजेट पुस्तिका च्यात्ने चेतावनी दिएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसद केसीले बालाजु-रानीपौवा-त्रिशुली सडक स्तरोन्नत्तिका लागि यसपटक पनि बजेट विनियोजन नभएको बजेट च्यात्ने चेतावनी दिएका हुन्।
२०७१ सालमा ठेक्का सम्झौता भएको उक्त सडक अहिलेसम्म पनि स्तरोन्नत्ति नभएको र पछिल्लो दुई आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन नभएको सांसद् केसीको भनाइ छ।
‘मर्मत सम्भारको नाममा पुरानो बाटो सबै क्षतिग्रस्त गराइएको छ। बाटो असरल्ल छ,’ उनले भने, ‘मेरो मर्यादा र संस्कारले दिँदैन। तर यसपटक पनि त्यो बाटोलाई बजेट परेन मैले बजेट भाषणकै दिन बजेट पुस्तिका च्यात्नुको विकल्प छैन।’
आफू गठबन्धन सरकारमै सामेल भए पनि आफनो पहिलो प्राथमिकता जिल्लाका जनता भएको भन्दै उनले अर्थमन्त्रीसँग त्यसका लागि विशेष आग्रह गरे।
वैशाख ३१, २०८२ बुधबार १२:४०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।