गैरजिम्मेवारीको चरम सीमामा एन्फा, राष्ट्रिय टोलीको आधारस्तम्भ ‘ए’ डिभिजन लिग दुई वर्षदेखि ठप्प

गैरजिम्मेवारीको चरम सीमामा एन्फा, राष्ट्रिय टोलीको आधारस्तम्भ ‘ए’ डिभिजन लिग दुई वर्षदेखि ठप्प

काठमाडौं : नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को गैरजिम्मेवारीका कारण देशको सर्वाधिक प्रतिष्ठित घरेलु प्रतियोगिता, शहिद स्मारक ‘ए’ डिभिजन लिग, पछिल्लो दुई वर्षदेखि सञ्चालन हुन सकेको छैन। २०७९ साल फागुन १९ गते सम्पन्न भएपछि अहिलेसम्म लिग हुन सकेको छैन।

फुटबल खेलाडीहरूको क्षमता विकास गर्ने, नयाँ प्रतिभाहरूलाई पहिचान गर्ने र उनीहरूलाई राष्ट्रिय टोलीका लागि तयार पार्ने सबैभन्दा बलियो आधारस्तम्भ हो- लिग। तर, यही आधारशिला कमजोर हुँदा नेपाली फुटबलको भविष्यमाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ।

हरेक वर्ष नियमित रूपमा सञ्चालन हुनुपर्ने लिग दुई वर्षसम्म हुन नसक्नुले एन्फाको व्यवस्थापकीय क्षमता र फुटबल विकासप्रतिको प्रतिवद्धतामाथि आशंका त उब्जाएको छ नै, नयाँ खेलाडी उत्पादन प्रक्रियामा ठूलो कमी आएको छ। यसको प्रत्यक्ष असर राष्ट्रिय टोलीमा देखिएको छ, जहाँ ‘फ्रेस’ र उच्च प्रतिस्पर्धाबाट खारिएका खेलाडीहरूको अभाव खड्किएको छ।

एन्फा लिग सञ्चालनमा उदासीन देखिँदा व्यावसायिक रूपमा चौधरी ग्रुपले एन्फाकै अनुमतिमा नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण सम्पन्न गरेको छ। यद्यपि, एनएसएल एक फ्रेन्चाइज मोडेलको लिग हो र यसले ए, बी, सी डिभिजनको संरचनात्मक लिगको अभावलाई पूर्ति गर्न सक्दैन।

‘चेन ब्रेक’ भएको एन्फाको तर्क
एन्फा प्रवक्ता सुरेश शाह ए डिभिजन लिग नहुनुको प्रमुख कारक ‘चेन ब्रेक’लाई मान्छन्। नेपाली फुटबलमा ए, बी, र सी डिभिजनका क्लबहरूको संरचना रहेको र त्यसमा रेलिगेसन तथा प्रोमोसनको प्रक्रिया भएकाले ए डिभिजन लिग हुनका लागि बी र सी डिभिजन लिग हुनु अनिवार्य रहेको बताउँछन् उनी।

‘हामीसँग ए, बी, सी स्टक्चरका क्लबहरू हुन्छ। त्यसमध्येमा झ्रने र चढ्ने एउटा प्रक्रिया हुन्छ। बी डिभिजन लिगका अन्तिम दुई टोली सी डिभिजन लिगमा घटुवा हुन्छन् भने माथिल्लो दुई टोली ए डिभिजन लिगमा बढुवा हुन्छन्। सी र ए डिभिजन लिगको चरण पनि यस्तै हो। बीचमा बी डिभिजनको टुर्नामेन्ट नभएको कारणले ए डिभिजन लिग हुन नसकेको हो’, उनी भन्छन्।

लिग हुन नसक्नुमा किन ढिलाइ भनेर एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङलाई सोध्दा उनले पनि प्रवक्ता शाहकै जवाफ दोहोऱ्याए।

‘खेल खेलाउने चेन बिग्रिएर ए डिभिजन लिग हुन नसकेको हो। अहिले बी डिभिजनको लिग भइरहेको छ। अब हुँदै जान्छ। एक पटक एन्फाले स्थगित गर्यो, अर्को पटक क्लबहरूले, त्यसैले लिग हुन ढिलाइ भयो’, उनी भन्छन्।

तर, यस ढिलाइको वास्तविक कारण एन्फा व्यवस्थापनमा देखिएको कमजोरी हो। ए डिभिजन लिग खेलाउने मुख्य आधार बी डिभिजन लिग हो भने, बी डिभिजन लिग समयमा गराउने जिम्मेवारी कसको त? स्वयं एन्फाको हो।

२०७८ सालमा भएको बी डिभिजन लिग त्यसपछि लगातार तीन वर्षसम्म हुन सकेन। बल्लतल्ल २०८१ फागुन २५ गतेबाट मात्र बी डिभिजन लिग सुरू भएको छ, जुन अहिले पनि जारी छ। यसले लिगको ‘चेन ब्रेक’ हुनुमा एन्फाकै ढिलासुस्ती र लापरबाही प्रमुख कारक रहेको स्पष्ट पारेको छ।

प्रवक्ता शाह भने लिग ढिलाइ हुनुमा एन्फाको कमजोरी स्वीकार गर्दैनन्। क्यालेन्डर अनुसार लिग किन नगराएको भन्ने प्रश्नमा पनि उनी घुमाउरो पारामा बी डिभिजन लिग नभएकै कारण ए डिभिजन लिग हुन नसकेको उही आलटाले जवाफ दोहोर्याइरहन्छन्।

‘बी डिभिजन लिगकै खेल नभएपछि ए डिभिजनमा कसरी क्लब पुर्याउनु हुन्छ त? त्यसैले बी डिभिजन लिग भएपछि ए डिभिजन लिग हुन्छ’, उनी थप्छन्।

प्रवक्ता शाहले लिग नहुनुमा संरचनात्मक प्रक्रियालाई देखाउन खोजेका छन्। यद्यपि बी डिभिजन लिग पनि सोही संरचनाकै एक हिस्सा हो र उक्त प्रतियोगिता समयमा गराउने दायित्व पनि एन्फाकै हो।

क्यालेन्डर र वास्तविकताबीच आकाश जमिनको फरक
एन्फाका पदाधिकारीले लिग गराउन आफूहरू तत्पर रहेको बताउँदै गर्दा यसको वार्षिक कार्यतालिका (क्यालेन्डर)ले भने त्यसलाई अलिकति पनि पुष्टि गर्दैन।

२०८१ वैशाख २६ गते एन्फाले वर्षभरिका राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा घरेलु खेलकुद कुन दिन हुने भन्ने समयसीमा तोकेर नयाँ क्यालेन्डर निकाल्यो। तर, आफैँले बनाएको तालिकाअनुसार लिग सञ्चालन गर्न एन्फा पूर्णतः चुक्यो।

त्यसको ज्वलन्त उदाहरण हो- राष्ट्रिय लिग। एन्फाको क्यालेन्डर अनुसार २०८१ साउन १९ गतेदेखि असोज १० गतेसम्म राष्ट्रिय लिग आयोजना हुने भनिएको थियो। प्रदेश लिगबाट छानिएका टिम र ए डिभिजन क्लबहरू बीच हुने भनिएको राष्ट्रिय लिग अहिलेसम्म हुने सकेको छैन।

यद्यपि एन्फा प्रवक्ता शाह राष्ट्रिय लिग छिट्टै हुने रटान लगाउन छाड्दैनन्। यद्यपि उनको ‘छिट्टै’ यसपालि पनि छिट्टै आउने देखिँदैन। राष्ट्रिय लिगका लागि प्रदेश लिग सकिनुपर्नेमा अझै केही प्रदेशमा लिग सकिन बाँकी रहेको उनको भनाइ छ।

यद्यपि यसपटक पनि  एन्फाले वार्षिक क्यालेन्डरमा ए डिभिजन लिगको खेल तालिका समावेश गरेको छ। तालिका अनुसार आगामी पुस १ गतेदेखि २०८३ सालको जेठ ३१ गतेसम्म १४ टोलीबीच ए डिभिजन लिग प्रतियोगिता हुनेछ।

क्यालेन्डरमा बी डिभिजन लिग १५ टोलीबीच २० फागुन २०८२ देखि २१ वैशाख २०८३ सम्म जारी रहने भनिएको छ। त्यसअघि २२ भदौदेखि २४ मंसिरसम्म एन्फा महिला लिग हुने भनिएको छ।

खेलाडी र क्लबमा निराशा
लिगको यो अनिश्चितताले खेलाडीहरूमा ठूलो निराशा छाएको छ। लिग नहुँदा उनीहरूको आयस्रोत गुमेको छ भने नियमित अभ्यास र प्रतिस्पर्धाबाट वञ्चित हुनुपरेको छ। धेरै खेलाडीहरू खेल जीवन धान्नका लागि विदेश पलायन हुन बाध्य भएका छन्।

राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले गत माघ १३ गते सभापति कपको सेमिफाइनलमा एनआरटीको जितपछि पत्रकार सम्मेलनमा बोल्दै एन्फालाई लिग गराउन आग्रह गरेका थिए।

उनले भनेका थिए, ‘लिग भयो भने नेपालमै बसिन्छ। विदेश गएका खेलाडी पनि खेल्न आउँछन्। फुटबलको माया छ नि, फुटबल छाड्न सकिन्न। मुख्य कुरा डोमेस्टिक लिग हुनु पर्यो।’

लिग नहुँदा खेलाडीको व्यक्तिगत जीवन र खेल करियरका साथै क्लबहरूमा समेत नकारात्मक असर पारेको छ। लिग नहुँदा क्लबहरूको अस्तित्व नै सङ्कटमा पर्ने अवस्था आएको छ।

वार्षिक कार्ययोजना र क्यालेन्डर बनाएर देखावटी रूपमा भावी योजना प्रस्तुत गरे पनि त्यसलाई व्यवहारमा उतार्न नसक्दा नेपाली फुटबलको महत्त्वपूर्ण आधार मानिने ए डिभिजन लिग लगायतका प्रतियोगिता ठप्प भएका छन्। यसले नेपाली फुटबलको समग्र विकासमा गम्भीर धक्का पुगेको छ र खेलाडी, क्लब तथा समर्थकमा निराशा छाएको छ।

वैशाख ३१, २०८२ बुधबार ११:०५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।