भारत र पाकिस्तानद्वारा उच्चायोगका कर्मचारीलाई अवान्छित घोषणा, २४ घण्टाभित्र देश छोड्न निर्देशन

एजेन्सी : भारत र पाकिस्तानद्वारा एकअर्काका उच्चायोगका कर्मचारीलाई अवान्छित घोषणा गर्दै २४ घण्टाभित्र देश छोड्न निर्देशन दिएका छन्।
पाकिस्तानले मंगलबार राति अबेर इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ अर्थात् अवान्छित व्यक्ति घोषणा गरेको हो।
यसअघि मंगलबार भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक पाकिस्तानी कर्मचारीलाई अस्वीकृत व्यक्ति घोषणा गरेको थियो।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी अधिकारीलाई २४ घण्टा भित्र भारत छोड्न भनिएको थियो।
यसको जवाफमा, पाकिस्तानी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तान सरकारले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई अवाञ्छित व्यक्ति घोषणा गरेको छ। ती अधिकारीलाई २४ घण्टा भित्र पाकिस्तान छोड्न निर्देशन दिइएको छ।’
जम्मू-कश्मीरको पहलगाममा भएको आक्रमणपछि बढेको भारत र पाकिस्तान द्वन्द्व सैन्य द्वन्द्वमा परिणत भएको थियो।
मे ७ मा दुई देशबीच सुरू भएको सैन्य द्वन्द्व मे १० को साँझ युद्धविराम सम्झौताको घोषणासँगै समाप्त भयो।
वैशाख ३१, २०८२ बुधबार ०८:४७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।