नियमित उडानमा फर्कियो निगमको ट्विन-अटर विमान

नियमित उडानमा फर्कियो निगमको ट्विन-अटर विमान
फाइल तस्बिर

काठमाडौं : नेपाल वायुसेवा निगमको ट्विन-अटर विमान (नाइनएन-एबीटी) मर्मतपश्चात पुनः नियमित उडान तालिकामा फर्किएको छ।

निगमका अनुसार वार्षिक मर्मत, दुईवटा नयाँ इन्जिन जडान, नियामकीय निरीक्षण र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएपछि विमान २०८२ वैशाख २९ गतेदेखि नियमित तालिकामा सञ्चालनमा आएको हो।

आन्तरिक उडान सेवाका लागि निगमका दुवै ट्विन-अटर विमान (नाइनएन-एबीटी र नाइनएन-एबीयु) पूर्ण रूपमा सञ्चालनमा रहेकाले अब दुर्गम भेगका यात्रुहरूलाई अझ सहज, सुलभ र मितव्ययी हवाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको निगमले जनाएको छ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आन्तरिक उडानमा विमानको पूर्ण उपयोग गर्दै दैनिक प्रति जहाज कम्तीमा चार उडान गर्ने तालिका कार्यान्वयनमा लैजान बजार व्यवस्थापनसहित सम्बन्धित विभागलाई निर्देशन दिएका छन्।

निगमले यात्रुको सुरक्षालाई उच्च प्राथमिकतामा राखी गुणस्तरीय सेवा निरन्तर दिने प्रतिबद्धता दोहोर्याएको छ।

वैशाख ३१, २०८२ बुधबार ०७:४१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।