डोङफेङ नानो ०६-एओ क्लास विद्युतीय सवारीमा नयाँ मूल्य मापदण्ड

डोङफेङ नानो ०६-एओ क्लास विद्युतीय सवारीमा नयाँ मूल्य मापदण्ड

काठमाडौं : इलेक्ट्रिक एओ क्लास सवारी साधनको बजारमा तीव्र प्रतिस्पर्धाबीच चिनियाँ अटो ब्रान्ड डोङफेङले आफ्नो नयाँ मोडल नानो ०६ सार्वजनिक गर्दै नयाँ मूल्य मापदण्ड स्थापित गर्ने प्रयास गरेको छ।

चाइना प्यासेन्जर कार एशोसिएसनका अनुसार, सन् २०२४ मा A0-क्लास कारमा नयाँ ऊर्जा सवारीको प्रयोग दर ६८.७ प्रतिशत पुगेको छ। मार्चमा मात्र यो सेग्मेन्टमा १.७७ लाख युनिट बिक्री भएको थियो, जुन कुल प्योर इलेक्ट्रिक कार बजारको २५ प्रतिशत हो।

डोङफेङ नानो ०६ यस सेग्मेन्टमा प्रवेश गर्ने पछिल्लो गाडी हो। यद्यपि, यो डोङफेङ मोटर कर्पोरेसन जस्तो राज्य-स्वामित्वको अनुभवी कम्पनीको उत्पादन भएकाले यसको सुरुआत अपेक्षाकृत बलियो मानिएको छ।

डोङफेङ नानो ०६ ले ‘सबैका लागि प्रविधि’ भन्ने अवधारणालाई आत्मसात गर्दै, सस्तो मूल्यमा उच्च प्रविधि र उपयोगिता दिन खोजेको छ। एओ क्लास गाडीहरू सामान्यतया बजेट-सचेत ग्राहकलाई लक्षित हुने भए पनि, नानो  ०६ ले उच्चस्तरीय विशेषता र नवप्रवर्तनलाई पनि ध्यान दिएको छ।

डोङफेङको ५६ वर्षको अनुभव र ६ करोडभन्दा बढी गाडी उत्पादनको इतिहासले यसलाई मोलतोल, निर्माण र अनुसन्धानमा प्रतिस्पर्धी बनाएको छ। 
नानो ०६ को लम्बाइ ४.३ मिटर, चौडाइ १.८६ मिटर, उचाइ १.६ मिटर र ह्वीलबेस २७१५ मिमी रहेको छ। स्काई गेट डुअर्स र डुअल सेग्मेन्ट ट्रंक जस्ता विशेषता यसलाई अन्य सानो ईभीहरूभन्दा फरक बनाउँछन्। ट्रंकको ढोका अन्तरिक्ष यानबाट प्रेरित छ र फोल्ड हुने ४४० मिमी x ९५० मिमीको टेबलमा पनि बदल्न सकिन्छ, जसले आउटडोर गतिविधिमा सहयोग गर्छ।

यसको डिजाइन क्युट वा कार्टुनिश शैलीबाट अलग रहेर मेकानिकल, साइबर आर्ट र डिजिटल लुकमा केन्द्रित छ।

नानो ०६ मा डोङफेङले आफैँ विकास गरेको क्वान्टम आर्किटेक्चर प्रयोग गरिएको छ। यसमा माइनस ३० डिग्री सेल्सियसदेखि ५५ डिग्री सेल्सियससम्म तापक्रममा काम गर्न सक्ने तेस्रो पुस्ताको थर्मल म्यानेजमेन्ट सिस्टम छ, जसले चिसो मौसममा पनि ब्याट्री क्षमता र मोटरको कार्यक्षमता कायम राख्छ।

गाडीमा थ्रीसी फास्ट चार्जिङ सपोर्ट गरिएको छ, जसले ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन १८ मिनेट मात्र लाग्छ, र ५ मिनेटको चार्जले ११४ किमि रेञ्ज थपिन्छ।

सीटीसीसी च्याम्पियन ड्राइभरहरूले ट्युनिङ गरेको च्यासिस र माच ई इलेक्ट्रिक ड्राइभ सिस्टमको प्रयोगले सहज र रोमाञ्चक ड्राइभ अनुभव दिने लक्ष्य लिएको छ।

डोङफेङ नानोका डेपुटी जीएम यु उएफेंगका अनुसार, ‘स्मार्ट ड्राइभिङ भन्नाले देखावटी प्रविधि होइन, सुरक्षित र जिम्मेवार टेक्नोलोजी हो।’ नानो ०६ ले व्यावहारिक इन्टेलिजेन्ट ड्राइभर असिस्टेन्स सिस्टममार्फत स्मार्ट ड्राइभिङको नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।

ग्लोबल लन्चका क्रममा डोङफेङ नानोले चार वर्षमा चार नयाँ मोडल सार्वजनिक गर्ने योजना घोषणा गरेको छ। चीनको ‘गो ग्लोबल’ रणनीति, राज्यको स्वामित्वको स्रोत र ब्रान्डिङलाई उपयोग गर्दै कम्पनीले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बलियो बनाउने लक्ष्य राखेको छ।

वैशाख ३१, २०८२ बुधबार ०७:३५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।