स्वास्थ्यमन्त्रीले देख्दै नदेख्ने खरिद भ्रष्टाचार : विभागदेखि अस्पतालसम्मकै टेण्डरमा मिलेमतो, गेटामा त लुट शैली

काठमाडौँ: प्रदीप पौडेल स्वास्थ्यमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिला स्वास्थ्य सेवा विभाग अन्तर्गतको खरिद शाखाले स्वास्थ्य उपकरण खरिदको प्रक्रिया अगाडि बढायो।
तीन वटाबाट सुरु भएको टेन्डर बढेर ८ सम्म पुगे। जति टेन्डर निस्किए ती सबैमा मिलेमतो देखिए। स्वतन्त्र प्रतिस्पर्धा भन्दा पनि टेन्डरका सर्तहरू निश्चित सप्लायर्स कम्पनीलाई लाभ दिनेगरि राखियो। अहिले स्वास्थ्य सचिव रहेका विकास देवकोटा विभागको महानिर्देशकहुँदा नै मिलेमतोमा खरिद अगाडि बढेका थिए। उनको बढुवापछि अहिले विभागमा टंक बाराकोटी आएका छन्। तर शैली उस्तै। केही बदलिएकै छैन।
मन्त्री पौडेल यो मिलेमतोबारे जानकार नहुने कुरै भएन। तर उनले टेन्डरलाई स्वतन्त्र प्रतिस्पर्धाको वातावरण बनाउने प्रयास गरेनन्। खरिदमा भएका बदमासी सार्वजनिक भएपछि मन्त्रालयबाट 'खरिदमा मन्त्री प्रत्यक्ष संलग्न नहुने' भन्ने विज्ञप्ति निकालेर झारा टारे।
मिलेमतोमा अगाडि बढेका विभागका अधिकांश टेन्डरहरू अहिले प्राविधिक चरण पार हुँदै आर्थिकमा समेत पास भइरहेका छन्। प्रारम्भमा जस्तो मिलेमतो देखिएको थियो, जुन कम्पनीलाई लक्षित गरेर मापदण्ड बनाइयो उनीहरूले नै अन्तिममा टेन्डर पाइरहेका छन्।
केन्द्रमा मात्रै होइन, यो क्रम केन्द्र मातहतका संघीय अस्पतालहरूमा पनि उस्तै देखियो। नारायणी अस्पताल होस् या भक्तपुर अस्पताल होस् या भेरी र गजेन्द्र नारायण अस्पताल, सबैतिरको टेन्डर तयारी चरणमै मिलेमतोमा निश्चित कम्पनीको हितमा निकालियो।
कतिसम्म भने नारायणीमा त अनावश्यक उपकरणहरूको एकै प्याकेज बनाएर मिलेमतोमा निकालिएको टेन्डरमा एक-एक मात्रै प्रस्ताव पर्यो। अस्पताल प्रमुखले उनीहरूलाई नै प्राविधिक चरणमा पास गरेर अब आर्थिक प्रस्ताव खोलेर ठेक्का दिने तयारीमा छन्। तर मन्त्रालय मौन छ। मन्त्रीको व्यवहार यस्तो देखिन्छ कि उनलाई केही पनि थाहै छैन।
गत वर्ष नै करिब ६६ करोडको टेन्डरबाट बदनाम भएको कैलालीको गेटा अस्पतालले यो वर्ष निकालेको करिब २५ करोड ७६ लाखको टेन्डरको अवस्था त झन् टिठ लाग्दो देखियो।
स्वास्थ्य मन्त्री पौडेलले चैत पहिलो साता डा. प्रमोद यादवलाई गेटाको प्रमुख बनाएर लगेका थिए। उनको सरुवा अगाडिसम्म गेटाको टेन्डर प्रक्रिया सुरु नै भएको थिएन।
उनी गए लगत्तै भटाभट टेन्डर प्रक्रिया अगाडि बढाए। तर संस्थाको हितमा होइन, निश्चित कम्पनीको सामग्री मात्र योग्य हुने गरी मिलेमतोमा।
उनको नियुक्ति लगत्तै उनले सबैभन्दा पहिला गेटामा रहेका बायोमेडिकल इन्जिनियरलाई खरिद प्रक्रियाबाट अलग गरेर प्रसूति गृहका करारका बायोमेडिकल इन्जिनियर अमृत भण्डारीलाई काजमा लगे।
गेटाका बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतलाई नयाँ खरिदमा सहभागी गराएनन्। बायोमेडिकल इन्जिनियर भण्डारी गेटा गए लगत्तै भटाभट खरिद गर्ने मेसिन तथा उपकरणको स्पेसिफिकेसन स्वीकृत भएकाले मिलेमतोको रणनीति अनुसार पहिला नै तयार पारेको स्पेसिफिकेसन अनुसारै खरिद प्रक्रिया अगाडि बढाएको देखिन्छ।
यादव जाने बित्तिकै भण्डारी गेटा पुगेका थिए। तर उनी काजमा गेटा गएको पत्र भने चैत २६ को मितिमा बनाइएको छ।
मन्त्री भए लगत्तै पौडेलले गेटामा डा. अशोक श्रीपाइलीलाई प्रमुख बनाएर पठाएका थिए। गत वर्ष भएको करिब ६६ करोडको खरिदमध्ये अझैँ भुक्तानी बाँकी नै थियो। त्यसमा नयाँ खरिदमा पनि निश्चित सप्लायर्सको स्वार्थमा काम गर्न दबाब भएपछि श्रीपाइलीले तीन महिनामै सरुवा मागेर हिँडे। गेटामा ११ औँ तहको प्रमुख हुने भए पनि मन्त्री पौडेलले १० औँ तहका यादवलाई पठाए।
डा. यादवले जति पनि टेन्डर निकालेका छन् ती सबै नै कुनै न कुनै सप्लायर्सको स्वार्थमा देखिन्छ। कतै स्पेसिफिकेसनमा खेलेका छन् त कतै अनावश्यक प्याकेज बनाएका छन्। मन्त्रीले उनलाई गेटा पठाउनु, गए लगत्तै नयाँ बायोमेडिकल इन्जिनियर लैजानु र अस्पतालको अन्य पक्षको सुधारको साटो खरिदमा मात्र केन्द्रित हुने घटनाक्रमले उनको सरुवाको उद्देश्य अस्पताल सञ्चालनका अन्य पक्षमा काम गर्न नभई २५ करोड बराबरको खरिद मिलेमतोमा सक्काउने जिम्मेवारी दिएको देखिन्छ।
लट १: साढे पाँच करोडका पाँच टेन्डर
गेटा अस्पतालले २०८१ चैत ३१ यता करिब २५ करोड ७६ लाखको टेन्डर प्रक्रिया अगाडि बढाएको छ। उकेराले ती सबै टेन्डरको अध्ययन गरेको छ। अध्ययनमा सबै टेन्डरका सर्त र प्रक्रियामा बदनियत र मिलेमतो देखियो।
अस्पतालले २०८२ वैशाख ३१ गते एउटै सूचना जारी गर्दै एक लटमा करिब पाँच करोड ७६ लाख रकमको पाँच वटा टेन्डर आह्वान गरेको थियो।
पाँच करोड ७६ लाखको पाँच टेन्डरमध्ये ८८ लाखको एक सेट 'न्युरो इन्स्ट्रुमेन्ट्स', ६४ लाखको एक सेट 'सीएसएसडी सेट अप इक्विप्मेन्ट्स', एक करोड २० लाखको एक सेट 'एडभान्स सर्भाइकल स्क्यानर फर गाइने ओटी', करिब ९० लाखको एक सेट 'इएनटी माइक्रोस्कोप' र करिब दुई करोड १४ लाखमा 'इक्विप्मेन्ट फर इमर्जेन्सी, इनडोर एण्ड अदर सर्भिसेज' छन्।
अस्पतालले यी पाँच वटै टेन्डरमा 'सिंगल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेजर' अपनाएको छ। अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (आईसीबी)लाई निषेध गर्दै 'राष्ट्रिय स्तरको बोलपत्र (एनसीबी) विधिमा खरिद प्रक्रिया अगाडि बढेको छ।
एक करोड २० लाखमा स्पेसिफिकेसन लक्ड
गेटाले २०८१ चैत ३१ मा करिब एक करोड २० लाखमा एक सेट 'एडभान्स सर्भाइकल स्क्यानर फर गाइने ओटी' सम्बन्धी मेसिन तथा 'एडभान्स सर्भाइकल स्क्यानर फर गाइने ओटी' उपकरणका लागि टेन्डर आह्वान गर्यो।
त्यसको प्राविधिक स्पेसिफिकेसन मेसिन उत्पादक कम्पनी 'न्यूमार्स टेक्नोलोजिज्'सँग मात्रै मिल्नेगरी प्राविधिक स्पेसिफिकेसन बनाइयो।
अस्पतालले २०८२ वैशाख २१ मा प्रिबिड मिटिङ राखे पनि हालसम्म लक्ड गरिएका प्रावधान संशोधन गरेको छैन। अस्पतालले यो टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति वैशाख ३१ लाई तोकेको थियो भने सोही दिन एक बजेलाई टेन्डर खुल्ने समय तोकेको थियो।
गेटा अस्पतालले टेन्डर आह्वान गरेको 'एडभान्स सर्भाइकल स्क्यानर'को ठेक्का (आईएफबी) नम्बर 'जीएच-जी-एनसीबी-०५-२०८१–८२' हो।
सो टेन्डरको कागजातमा 'सप्लाई, इन्स्टलेसन एण्ड कमिसनिङ अफ एडभान्स सर्भाइकल स्क्यानर फर गाइने ओटी' उल्लेख छ।
दुई करोड १४ लाख टेन्डरमा प्याकेज बनाएर लक्ड
गेटा अस्पतालले २०८१ चैत ३१ मा करिब दुई करोड १४ लाखमा 'इक्विप्मेन्ट फर इमर्जेन्सी, इनडोर एण्ड अदर सर्भिसेज' भन्दै मेसिन तथा उपकरण खरिदका लागि गरेको टेन्डरमा पनि उस्तै मिलेमतो देखिन्छ।
अस्पतालले यति ठूलो रकमको एउटै टेन्डरमा '६' वटा फरक–फरक प्रकृतिका सामग्रीको एउटै प्याकेज बनाएको छ। प्याकेज बनाउनुको उद्देश्य निश्चित कम्पनीको सप्लायर्सलाई ठेक्का पार्नु देखिन्छ।
अस्पतालले २०८२ वैशाख २१ मा यो टेन्डरको प्रिबिड मिटिङ राखेको थियो। अस्पतालले टेन्डरको प्राविधिक स्पेसिफिकेसनको पहिलो नम्बरमा भएको 'अटोमेटिक ट्रेकल सेक्रेसन रिमुभल डिभाइस'का केही बुँदा संशोधन गरे पनि मुख्य लक्ड गरिएको बुँदा भने संशोधन गरेन।
अस्पतालले करिब दुई करोड १४ लाखको 'इक्विप्मेन्ट फर इमर्जेन्सी, इनडोर एण्ड अदर सर्भिसेज'को यो टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति वैशाख ३१ (२०२५ मे १४)लाई तोकेको थियो भने सोही दिन एक बजेलाई टेन्डर खुल्ने समय तोकेको थियो। यो ठेक्का (आईएफबी) नम्बर 'जीएच-जी-एनसीबी-०३-२०८१–८२' हो।
एउटै टेन्डरमा '६' सामग्रीको प्याकेज बनाएर खरिद प्रक्रिया अगाडि बढाइएको 'इक्विप्मेन्ट फर इमर्जेन्सी, इनडोर एण्ड अदर सर्भिसेज' सम्बन्धी मेसिन तथा उपकरणको टेन्डर प्याकेजमा 'अटोमेटिक ट्रेकल सेक्रेसन रिमुभल डिभाइस' ६ सेट, 'एबीपीएम मेसिन' चार सेट, 'होल्टर इसीजी मेसिन' तीन सेट, 'पल्मोनरी फंक्सन टेस्ट विथ इसीजी मेसिन' दुई सेट, 'हाइ इन्ड अप्रेटिङ रुम एस्पिरेटर' दश सेट, 'एबीजी मेसिन' तीन सेट छन्।
यी ६ किसिमका सामग्रीको प्याकेजमध्ये ६ सेट 'अटोमेटिक ट्रेकल सेक्रेसन रिमुभल डिभाइस' मेसिन उत्पादक कम्पनी 'ट्रेच फ्लस'सँग मिल्नेगरी प्राविधिक स्पेसिफिकेसन बनाएको छ।
त्यसैगरी दुई सेट 'पल्मोनरी फंक्सन टेस्ट विथ इसीजी मेसिन'को प्राविधिक स्पेसिफिकेसन उत्पादक कम्पनी 'निकोन कोडेन' र दश सेट 'हाइ इन्ड अप्रेटिङ रुम एस्पिरेटर'को प्राविधिक स्पेसिफिकेसन मेसिन उत्पादक कम्पनी 'इन्स्पिटल'सँग मात्रै मिल्नेगरी बनाएको देखिन्छ। तीन सेट खरिद गर्नेगरी टेन्डर भएको 'एबीपीएम मेसिन'को प्राविधिक स्पेसिफिकेसन उत्पादक कम्पनी 'इडान'सँग मात्रै मिल्नेगरी लक्ड गरेर बनाएको देखिन्छ।
८८ लाखमा एक सेट 'न्यूरो इन्स्ट्रुमेन्ट्स'
अस्पतालले २०८१ चैत ३१ मा ८८ लाखमा एक सेट 'न्यूरो इन्स्ट्रुमेन्ट्स' सम्बन्धी मेसिन तथा उपकरण खरिद गर्ने गरी टेन्डर प्रक्रियामा अगाडि बढायो।
२०८२ वैशाख २१ मा 'न्यूरो इन्स्ट्रुमेन्ट्स'को प्रिबिड मिटिङको समय तोकेको थियो। तर, अस्पतालले स्पेसिफिकेसन मंगलबारसम्म संशोधन गरेको छैन।
अस्पतालले यो टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति वैशाख ३१ लाई तोकेको छ भने सोही दिन एक बजेलाई टेन्डर खुल्ने समय तोकेको छ। यसको ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-एनसीबी-०७-२०८१-८२' हो।
६४ लाखमा 'सीएसएसडी सेटअप इक्विप्मेन्ट' टेण्डर
गेटा अस्पतालले २०८१ चैत ३१ मा ६४ लाखमा एक सेट 'सीएसएसडी सेटअप इक्विप्मेन्ट्स' सम्बन्धी मेसिन तथा उपकरण खरिद गर्ने गरी टेन्डर प्रक्रियामा अगाडि बढायो।
अस्पताल नेतृत्वले यो टेण्डरमा पनि सिधै बदनियत देखिन्छ। यो टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति २०८२ वैशाख ३१ (२०२५ मे १४) लाई तोकेको छ भने सोही दिन एक बजेलाई टेन्डर खुल्ने समय तोकेको छ।
प्रिबिड मिटिङपछि अस्पतालले 'सीएसएसडी सेटअप इक्विप्मेन्ट्स'मा टेण्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति सहित केही बुँदा संशोधन गर्दै वैशाख २६ गते सूचना जारी गर्यो। तर, मुख्य लक्ड गरिएको बुँदा भने संशोधन गरेको छैन। यसको ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-एनसीबी-०६-२०८१-८२' हो।
९० लाखमा इएनटी खरिद पनि उस्तै
अस्पतालले २०८१ चैत ३१ मा करिब ९० लाखमा एक सेट 'इएनटी माइक्रोस्कोप' सम्बन्धी मेसिन तथा उपकरण खरिदका लागि गरेको टेण्डरको अवस्था पनि उस्तै देखियो।
अस्पतालले २०८२ वैशाख २१ मा यसको प्रिबिड मिटिङ राखेको थियो। प्रिबिड मिटिङपछि वैशाख २६ गते टेण्डरको स्पेसिफिकेसन संशोधन गरियो। तर, मुख्य लक्ड बुँदा भने संशोधन गरिएन। जसले स्वतन्त्र प्रतिष्पर्धा रोक्यो।
'इएनटी माइक्रोस्कोप'को टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति वैशाख ३१ (२०२५ मे १४) लाई तोकेको छ। सोही दिन एक बजेलाई टेन्डर खुल्ने समय तोकेको छ।
संशोधित कागजातमा 'क्लारिफिकेसन सब्मिसन डेट: (२०२५ मे ९)' राखियो। टेण्डरमा ठाउँठाउँमा मितिहरू पनि अस्पष्ट छन्। यसको ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-एनसीबी-०४-२०८१-८२' हो।
लट-२ : चार करोड ८६ लाख ८० हजार
अस्पतालले २०८२ वैशाख २ गते अर्को एउटै सूचना जारी गर्दै करिब चार करोड ८६ लाख ८० हजार रकमको तीन वटा सामग्रीको टेण्डर आह्वान गरेको थियो। दोस्रो लट बनाएर प्रकाशित गरिएको स्वास्थ्य उपकरण खरिदको मापदण्डहरू पनि उस्तै छन्। खरिदका अधिकांश सर्तहरुमा बदनियतै देखिन्छ।
अस्पतालले एक करोड ३१ लाख २० हजारको 'मेडिकल ग्यास पाइपलाइन सिस्टम', करिब ५७ लाख ६० हजारमा एक सेट 'इलेक्ट्रोन्सेफालोग्राम (इइजी) मेसिन' र करिब दुई करोड ९८ लाखमा 'मोडुलर ओटी इक्विप्मेन्ट्स' खरिद गर्ने गरी टेण्डर आह्वान गरेको छ।
अस्पतालले २०८२ वैशाख दुई गते एउटै सूचनामा तीन वटा सामग्रीको टेण्डर आह्वान गरेकोमध्ये तेस्रो हो, करिब दुई करोड ९८ लाखमा खरिद गर्नेगरी भएको 'मोडुलर ओटी इक्विप्मेन्ट्स'को टेण्डर।
'मोडुलर ओटी इक्विप्मेन्ट्स' सम्बन्धी मेसिनको ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-एनसीबी-०८-२०८१-८२' हो। सो टेन्डरको कागजातमा 'सप्लाई, इन्स्टलेसन एण्ड कमिसनिङ अफ मोडुलर ओटी इक्विप्मेन्ट्स' उल्लेख छ।
अस्पतालले २०८२ वैशाख २१ मा यो मेसिनको प्रिबिड मिटिङ राखेको थियो। प्रिबिड मिटिङपछि स्पेसिफिकेसन सामान्य संशोधन गरेको देखिन्छ। तर मुख्य लक्ड गरिएको बुँदा भने संशोधन गरिएन।
अस्पतालले 'मोडुलर ओटी इक्विप्मेन्ट्स' सम्बन्धी मेसिनको यो टेण्डरमा पाँच वटा फरक फरक प्रकृतिको मेसिन तथा उपकरणको एउटै प्याकेज बनाएको छ।
टेण्डरको यो प्याकेजमा 'सर्जिकल लाइट विथ भिडियो क्यामेरा एण्ड रेकर्डिङ सिस्टम' दुई सेट, 'इलेक्ट्रो-हाइड्रोलिक ओटी टेबल (हाइ इण्ड)' दुई सेट, 'अब्स्टेट्रिक भ्याकुम एक्स्ट्राक्टर मेसिन' दुई सेट, 'भिडियो ल्यारिङ्गोस्कोप' तीन सेट र 'कार्डियो इस्केमिया डिटेक्सन मेसिन' तीन सेट राखिएको छ।
उखेराको प्रारम्भिक अध्ययनमा दुई सेट खरिद गर्नेगरी 'सर्जिकल लाइट विथ भिडियो क्यामेरा एण्ड रेकर्डिङ सिस्टम' र दुई सेट 'इलेक्ट्रो-हाइड्रोलिक ओटी टेबल (हाइ इण्ड)'को टेण्डरको प्राविधिक स्पेसिफिकेसन मेसिन उत्पादक कम्पनी 'शाल्य'सँग मात्रै मिल्नेगरी बनाएको देखियो।
तीन सेट खरिद गर्नेगरी भएको 'कार्डियो इस्केमिया डिटेक्सन मेसिन'को प्राविधिक स्पेसिफिकेसन उत्पादक कम्पनी 'निकोन कोडेन'सँग मात्रै मिल्नेगरी बनाइएको छ।
'मेडिकल ग्यास पाइपलाइन सिस्टम'
वैशाख २ मा भएका तीन वटा टेण्डरमध्ये करिब एक करोड ३१ लाख २० हजारको 'मेडिकल ग्यास पाइपलाइन सिस्टम' सम्बन्धी मेसिन तथा उपकरणको ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-एनसीबी-१०-२०८१-८२' हो। सो टेन्डरको कागजातमा 'सप्लाई, इन्स्टलेसन एण्ड कमिसनिङ अफ मेडिकल ग्यास पाइपलाइन सिस्टम' उल्लेख छ।
अस्पतालले २०८२ वैशाख २१ मा यसको प्रिबिड मिटिङ राखेको थियो। प्रिबिड मिटिङपछि टेण्डरको स्पेसिफिकेसन संशोधन गरेको देखिन्छ तर लक्ड बुँदा भने संशोधन गरिएन।
अस्पतालले 'मेडिकल ग्यास पाइपलाइन सिस्टम'को यो टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति जेठ एक गते लाई तोकेको छ भने सोही दिन एक बजेलाई टेन्डर खुल्ने समय तोकेको छ।
५७ लाख ६० हजारको 'इलेक्ट्रोन्सेफालोग्राम (इइजी) मेसिन'
२०८२ वैशाख २ गते एउटै सूचनामा तीन वटा सामग्रीको टेण्डर आह्वान गरेकोमध्ये दोस्रो हो, करिब ५७ लाख ६० हजारमा एक सेट खरिद गर्न लागिएको 'इलेक्ट्रोन्सेफालोग्राम (इइजी) मेसिन'को टेण्डर।
'इलेक्ट्रोन्सेफालोग्राम (इइजी)' सम्बन्धी मेसिनको ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-एनसीबी-०९-२०८१-८२' हो। सो टेन्डरको कागजातमा 'सप्लाई, इन्स्टलेसन एण्ड कमिसनिङ अफ इलेक्ट्रोन्सेफालोग्राम (इइजी) मेसिन' उल्लेख छ।
अस्पतालले २०८२ वैशाख २१ मा यो मेसिनको प्रिबिड मिटिङ राखेको थियो। प्रिबिड मिटिङपछि यो टेण्डरको स्पेसिफिकेसन संशोधन गरियो।
लट-३ : ११ करोड ९० लाख
गेटा अस्पतालले २०८२ वैशाख दुई गते अर्को एकै सूचनामा करिब ११ करोड ९० लाख रकमको पाँच वटा सामग्रीको टेण्डर आह्वान गर्यो।
तेस्रो लटमा करोड ६२ लाखको 'थ्रिडी ल्याप्रोस्कोपी सिस्टम', तीन करोड ५४ लाखको 'आइसीयू-एनआइसीयू इक्विप्मेन्ट', दुई करोड ६६ लाखको 'हिस्टोप्याथोलोजी ल्याब', दुई करोड १८ लाखको एक सेट 'न्यूरो अपरेटिङ माइक्रोस्कोप' र ९० लाखको एक सेट 'मर्चरी च्याम्बर' छन्।
यी पाँच वटै टेण्डरमा अस्पतालले दुई खाम विधि अपनाइएको छ। तर, यी पाँच वटै टेण्डरमा भएको ठेक्का नम्बरको मिति भने गडबड छ।
अस्पतालले यी पाँच वटै ठेक्काको ठेक्का (आइएफबी) नम्बर कतै 'जीएच-जी-आइसीबी-........-२०८१-८२' राखेको छ भने कतै '२०८०-८१' राखेको छ। जबकी यो टेण्डर आर्थिक वर्ष २०८१-८२ को हो।
अस्पतालले यी पाँच वटै टेण्डरको प्रिबिड मिटिङ वैशाख ३० लाई तोकेको छ। सो टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति जेठ १६ लाई तोकेको छ भने सोही दिन एक बजेलाई टेन्डर खुल्ने समय तोकेको छ।
यो लटको पाँच टेण्डरमध्ये अस्पतालले दुई करोड १८ लाखमा 'न्यूरो अप्रेटिङ माइक्रोस्कोप' एक सेट खरिदका लागि गरेको टेण्डर निश्चित मेसिन उत्पादक कम्पनीको उत्पादनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरेको देखियो।
'न्यूरो अप्रेटिङ माइक्रोस्कोप'को ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-आइसीबी-०४-२०८१–८२' हो। यो टेण्डरमा पनि ठेक्का नम्बरको मिति कतै '...२०८०–८१' त कतै '...२०८१–८२' लेखिएको छ।
सो टेन्डरको कागजातमा 'सप्लाई, इन्स्टलेशन एण्ड कमिशनिङ अफ न्यूरो अप्रेटिङ माइक्रोस्कोप' उल्लेख छ।
गेटाले बदनियतपूर्ण तरिकाले 'न्यूरो अप्रेटिङ माइक्रोस्कोप' टेण्डर भन्दै टेण्डर गरेर छुट्टाछुट्टै प्रकृतिका तीन वटा मेसिनलाई एउटै प्राविधिक स्पेशिफिकेशनमा राखेको देखियो।
यो टेण्डरमा तीन वटा फरक–फरक प्रकृतिका मेसिन देखिन्छ। तर प्राविधिक स्पेशिफिकेशन एउटै बनाएर मिलेमतो गरेको प्रष्टै देखिन्छ।
टेण्डरको तीन प्राविधिक स्पेशिफिकेशनमध्ये 'न्यूरो माइक्रोस्कोप'को टेण्डर मेसिन उत्पादक कम्पनी 'सान्मा', 'थ्री पिन हेड क्ल्याम्प'को 'इन्टेग्रे लाइफसाइन्स' र 'इलेक्ट्रो ड्रिल फर न्यूरोसर्जरी एण्ड स्पाइन सर्जरी'को प्राविधिक स्पेशिफिकेशन 'एनएसके'सँग मात्रै मिल्नेगरी लक्ड गरेको देखियो।
यसरी एउटै तीन छुट्टाछुट्टै प्रकृतिका उपकरणको प्राविधिक स्पेशिफिकेशनमा अस्पताल प्रशासनले नियामक निकायको डरै नमानी निर्धक्क लक्ड गरेर चाहेकै सप्लायर्स कम्पनीलाई टेण्डर दिने बदनियतले टेण्डर अगाडि बढेको देखिन्छ।
यो टेण्डरको प्राविधिक स्पेशिफिकेशन पनि तीन वटै हुनुपर्थ्यो। छुट्टाछुट्टै टेण्डर गर्नुपर्ने थियो। तर 'न्यूरो अप्रेटिङ माइक्रोस्कोप'को टेण्डर गरेर तीन किसिमका फरक प्रकृतिका मेसिनलाई एउटै प्राविधिक स्पेशिफिकेशनमा राख्नु नै बदमासीको सबैभन्दा ठूलो प्रमाण हो।
९० लाखको 'मर्चरी च्याम्बर'
९० लाखको एक सेट 'मर्चरी च्याम्बर'को खरिदका लागि अस्पतालले गरेको टेण्डरको ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-आइसीबी-०५-२०८१–८२' हो। सो टेन्डरको कागजातमा 'सप्लाई, इन्स्टलेशन एण्ड कमिशनिङ अफ मर्चरी च्याम्बर' उल्लेख छ।
तर, अस्पतालले २०८२ वैशाख दुई गते आह्वान गरेको यो टेण्डरमा कुनै ठाउँमा गत वर्षको देखिने ठेक्का नम्बर 'जीएच-जी-आइसीबी-०५-२०८०–८१' राखेको छ। जबकी यो टेण्डर आर्थिक वर्ष २०८१–८२ को हो।
दुई करोड ६६ लाखमा 'हिस्टोप्याथोलोजी ल्याब'
अस्पतालले दुई करोड ६६ लाखमा 'हिस्टोप्याथोलोजी ल्याब' खरिदका लागि आह्वान गरेको टेण्डरको ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-आइसीबी-०३-२०८१–८२' छ। तर, अस्पतालले यो टेण्डरमा पनि ठेक्का नम्बर उसैगरी गोलमाल लेखेको छ।
सो टेन्डरको कागजातमा 'सप्लाई, इन्स्टलेशन एण्ड कमिशनिङ अफ इक्वीप्मेन्ट फर हिस्टोप्याथोलोजी ल्याब' उल्लेख छ।
अस्पतालले दुई करोड ६६ लाखमा दस वटा 'हिस्टोप्याथोलोजी ल्याब'सम्बन्धी उपकरणको एउटै प्याकेज बनाएर टेण्डर आह्वान गरेको छ।
'हिस्टोप्याथोलोजी ल्याब' सम्बन्धी टेण्डरको प्याकेजमा एक सेट 'अटोमेटिक स्लाइड स्टेनियर', एक सेट 'फुल्ली अटोमेटिक टिस्यु प्रोसेसर', एक सेट 'फ्लोरोस्सेन्स माइक्रोस्कोप', एक सेट 'सेमी–अटोमेटेड माइक्रोटोम', एक सेट 'टिस्यु इम्बेडिङ सेन्टर (वर्कस्टेशन)', एक सेट 'सेमी–अटो एलबीसी सेन्ट्रिफ्यूज', एक सेट 'टिस्यु फ्लोटेशन बाथ', एक सेट 'स्लाइड स्टोरेज क्याबिनेट' र एक सेट 'हट एयर ओभन'लाई अस्पतालले एउटै प्याकेज बनाएर टेण्डर आह्वान गरेको हो।
'आइसीयू-एनआइसीयू इक्वीप्मेन्ट'मा पनि प्याकेज
अस्पतालले तीन करोड ५४ लाखको 'आइसीयू-एनआइसीयू इक्वीप्मेन्ट' खरिदका लागि आह्वान गरेको टेण्डरको ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-आइसीबी-०२-२०८१–८२' हो। यसमा पनि उसैगरी ठेक्का नम्बरको मितिमा गडबड छ।
सो टेन्डरको कागजातमा 'सप्लाई, इन्स्टलेशन एण्ड कमिशनिङ अफ आइसीयू-एनआइसीयू इक्वीप्मेन्ट' उल्लेख छ।
अस्पतालले तीन करोड ५४ लाख रकमको 'आइसीयू-एनआइसीयू इक्वीप्मेन्ट' सम्बन्धी १३ वटा फरक–फरक प्रकृतिका उपकरण तथा सामग्रीको एउटै प्याकेज बनाएर टेण्डर आह्वान गरेको छ।
'आइसीयू-एनआइसीयू इक्वीप्मेन्ट' सम्बन्धी टेण्डरको यो प्याकेजमा दुई सेट 'पोर्टेबल एक्स–रे मेसिन', दुई सेट 'डिफिब्रिलेटर', २५ सेट 'सिरिन्ज पम्प', १५ सेट 'इन्फ्युजन पम्प', पाँच सेट 'वार्मर इन्फ्यान्ट विथ फोटोथेरापी', दुई सेट 'फोटो थेरापी युनिट' र एक सेट 'न्योनेटल भेन्टिलेटर' छन्।
त्यसैगरी एक सेट 'न्योनेटल भेन्टिलेटर विथ एचएफओ', एक सेट 'टेम्प्रेचर म्यानेजमेन्ट डिभाइस', दुई सेट 'बबल सी–प्याप', एक सेट 'इन्कुबेटर', एक सेट 'जन्डिस मेटर' र एक सेट 'भेन फाइन्डर' खरिदका लागि अस्पतालले १३ वटा उपकरण तथा सामग्रीको एउटै प्याकेज बनाएर टेण्डर आह्वान गरेको हो।
दुई करोड ६२ लाखको 'थ्रिडी ल्याप्रोस्कोपी सिस्टम'
अस्पतालले दुई करोड ६२ लाखमा एक सेट खरिद गर्नेगरी टेण्डर गरेको 'थ्रिडी ल्याप्रोस्कोपी सिस्टम'को प्राविधिक स्पेशिफिकेशन मेसिन उत्पादक कम्पनी 'ओलम्पस'सँग मात्रै मिल्नेगरी बनाएको देखिन्छ।
'थ्रिडी ल्याप्रोस्कोपी सिस्टम' खरिदका लागि आह्वान गरेको टेण्डरको ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-आइसीबी-०१-२०८१–८२' छ। यसको पनि ठेक्का नम्बरको मितिमा उसैगरी फरक छ।
सो टेन्डरको कागजातमा 'सप्लाई, इन्स्टलेशन एण्ड कमिशनिङ अफ थ्रिडी ल्याप्रोस्कोपी सिस्टम' उल्लेख छ।
६० लाखको एम्बुलेन्स खरिदमा पनि बदनियत
गेटा अस्पतालले करिब ६० लाखमा एउटा 'टाइप–बी एम्बुलेन्स' खरिदका लागि २०८२ वैशाख २४ मा टेण्डर आह्वान गरेको छ। यसमा पनि बदनियत नै देखिन्छ।
अस्पतालले टेन्डर आह्वान गरेको 'टाइप–बी एम्बुलेन्स'को ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-एनसीबी-१३-२०८१–८२' हो। सो टेन्डरको कागजातमा 'प्रक्योरमेन्ट एण्ड सप्लाई अफ टाइप–बी एम्बुलेन्स' उल्लेख छ।
अस्पतालले २०८२ जेठ ११ लाई प्रिबिड मिटिङको समय तोकेको छ। अस्पतालले यो टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति जेठ २३ लाई तोकेको छ भने सोही दिन एक बजेलाई टेन्डर खुल्ने समय तोकेको छ।
गेटाले एम्बुलेन्सको टेण्डरमा त झन् सजिलै देखिनेगरी नियम नै पेलपाल बनाएर 'सिंगल स्टेज सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर' अपनाएको छ।
सार्वजनिक खरिद नियमावली अनुसार 'सिंगल स्टेज सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर' भनेको 'एक खाम विधि'बाट गरिने खरिदको विधि हो।
गेटाले एम्बुलेन्स खरिदमा 'सिंगल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस' विधि अपनाउनुपर्ने थियो। 'सिंगल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेड्युर' भनेको 'दुई खाम विधि' हो।
दुई खाम विधिमा टेण्डर प्रस्ताव भइसकेपछि प्राविधिक मूल्यांकन गरिन्छ अनि प्राविधिक रुपमा छनोट भएका कम्पनीको मात्रै आर्थिक प्रस्ताव खोलिन्छ।
मिलेमतोमा हुने खरिद बाहेक दुई खाम विधि एक खाम विधिको तुलनामा खरिदको राम्रो विधि हो। किनभने दुई खाम विधिमा प्राविधिक मूल्यांकनमा छनोट भएका सप्लायर्स कम्पनीबीच मात्रै आर्थिक प्रतिष्पर्धा हुन्छ। अनि जसले सस्तो मूल्यमा मेसिन सामान ल्याइदिने कबुल गर्छ उसैले टेन्डर पाउँछ।
तर, एक खाम विधिमा आर्थिक र प्राविधिक प्रस्ताव एकै पटक खुल्दा भने प्राविधिक रुपमा चाहेकै सप्लायर्स कम्पनीलाई मात्रै पास गराएर आर्थिक रुपमा बजेटको सिलिङ भित्र रहेर महंगोमा सामग्री ल्याइदिने गरी कबुल गर्ने सप्लायर्स कम्पनीलाई पनि बदनियतपूर्ण रुपमा टेण्डर दिने जोखिम हुन्छ। एम्बुलेन्स खरिदमा यही खेल देखिन्छ।
'इन्फर्टीलिटी ट्रिटमेन्ट इक्वीप्मेन्ट्स' अपुरो
अस्पतालले करिब दुई करोड ६३ लाख २० हजारमा 'इन्फर्टीलिटी ट्रिटमेन्ट इक्वीप्मेन्ट्स' खरिदका लागि २०८२ वैशाख नौ मा टेण्डर आह्वान गर्यो।
अस्पतालले टेन्डर आह्वान गरेको 'इन्फर्टीलिटी ट्रिटमेन्ट इक्वीप्मेन्ट्स'को ठेक्का (आइएफबी) नम्बर 'जीएच-जी-आइसीबी-०६-२०८१–८२' हो। सो टेन्डरको कागजातमा 'सप्लाई, इन्स्टलेशन एण्ड कमिशनिङ अफ इन्फर्टीलिटी ट्रिटमेन्ट इक्वीप्मेन्ट्स' उल्लेख छ।
अस्पतालले २०८२ वैशाख ३० मंगलबारलाई यो प्रिबिड मिटिङको समय तोकेको थियो। यो टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति जेठ २३ लाई तोकेको छ भने सोही दिन एक बजेलाई टेन्डर खुल्ने समय तोकेको छ।
तर, अस्पतालले 'इन्फर्टीलिटी ट्रिटमेन्ट इक्वीप्मेन्ट्स'को टेण्डरमा पनि बदनियतपूर्ण तरिकाले नै टेण्डर प्रक्रिया अगाडि बढाएको देखिन्छ।
अस्पतालले 'इन्फर्टीलिटी ट्रिटमेन्ट इक्वीप्मेन्ट्स'को टेण्डरमा नौ वटा मेसिन, उपकरण तथा सामग्रीको एउटै प्याकेज बनाएर टेण्डर गरेको छ।
अस्पतालले 'सेन्ट्रिफ्युज', एक सेट 'रेफ्रिजेरेटेड सेन्ट्रिफ्युज', एक सेट 'इन्कुबेटर', एक सेट 'सिओटु इन्कुबेटर', एक सेट 'माइक्रोस्कोप डब्लु-स्टेरियो जुम', एक सेट 'कम्प्युटर एसिस्टेड सिमेन एनालाइजर', एक सेट 'लामिनर फ्लो', एक सेट 'अल्ट्रासाउण्ड मेसिन' र एक सेट 'फोरके हिस्टेरोस्कोपी सिस्टम'जस्ता फरक–फरक प्रकृतिका मेसिन तथा उपकरणलाई एउटै प्याकेज बनाएको छ।
यो टेन्डरको आइटम नम्बर २ मा समावेश रिफ्रिजेरेटेड सेन्ट्रिफ्युजको बुँदा २.२ मा आरपिएम = १७,७५० वा बढी लेखिएको छ। बुँदा नम्बर २.१८ मा भने आरपिएम ४५०० लेखिएको छ। यसले स्पेसिफिकेशन तयार गर्ने बायोमेडिकलमा उपकरण सम्बन्धी पर्याप्त ज्ञान नभएको देखिन्छ।
'मानव शुक्राणु कम गतिमा सेन्ट्रिफ्युज गर्नुपर्छ ताकि शुक्राणुहरू नष्ट नहुन्,' एक जानकारले उकेरालाई भने, 'आइभिएफ प्रयोगशालामा रुम टेम्प्रेचर (३०-३७°C) को प्रक्रिया गरिन्छ, तर यहाँ प्रयोग गर्न खोजिएको सेन्ट्रिफ्युज रिफ्रिजेरेटेड (चिसो) छ, जुन अनुपयुक्त छ।'
यही स्पेसिफिकेशनको बुँदा २.१७ मा ४x५०एमएल ट्युबको माग गरिएको छ। तर आइभिएफमा पाँच एमएलदेखि १५एमएलसम्मका ट्युब प्रयोग गरिन्छ। यस्तो साइज आइभिएफका लागि अत्यधिक हुने जानकारले उकेरालाई बताए।
यसको स्पेशिफिकेशन हेर्दा इनक्युबेटरको स्पेसिफिकेशन विशेष रूपमा एउटै कम्पनीको मोडेलमा तालमेल मिल्ने गरी बनाइएको देखिन्छ। यसले स्वतन्त्र प्रतिस्पर्धा घुम्च्याएको देखिन्छ।
'यसको प्याकेज यस्तो बनाइएको देखिन्छ कि बजेट त सकिन्छ, तर आइभिएफ प्रयोगशाला शुरु नै हुन सक्दैन,' जानकारस्रोतले भन्यो, 'अण्डा निकाल्न प्रयोग हुने Oocyte Aspiration Pump नभई आइभिएफ सुरु गर्नै सकिँदैन। तर टेन्डरमा यो नै समावेश छैन।'
प्रकाशित टेण्डरका मापदण्डहरुमा बदनियतै बदनियत देखिन्छ। तर अस्पतालका प्रमुख डा. प्रमोद यादव भने ढुक्क देखिन्छन्।
स्वतन्त्र प्रतिष्पर्धाको साटो निश्चित कम्पनीका सप्लायर्सलाई ठेक्का दिनेगरि किन टेण्डरको मापदण्ड बनाएको भन्ने उकेराको प्रश्नमा डा. यादवले भने, 'नियमसँगत नै खरिद प्रक्रिया अगाडि बढाएका छौँ।'
जेठ १, २०८२ बुधबार ००:०४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।