वैदेशिक रोजगारीको नाममा ५१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीको नाममा ५१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका–८ का २१ वर्षीय ललित बोहरा रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार साउदले तीन जनालाई आयरल्यान्ड पठाउने भन्दै ४१ लाख ९० हजार र बोहराले एक जनालाई युके लैजाने भन्दै १० लाख रुपैयाँ लिएका थिए। तर, लामो समयसम्म अल्झ्याउँदै उनीहरू सम्पर्कविहीन बनेका थिए।
पीडितहरूले दिएको उजुरीको आधारमा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। थप अनुसन्धान र कारबाहीका लागि दुवै जनालाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
वैशाख ३०, २०८२ मंगलबार २१:३६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।