वनसँग ‘लभ’ परेका टेकबहादुर

सुर्खेत : पाँच छोराछोरी, सोह्र नातिनातिना भएका टेकबहादुर विकको उमेर ७५ पुगिसक्यो, तर जोस भने अझै युवाजस्तै छ। बिहान सबेरै हरियो ड्रेस लगाएर काँधमा झोला र हातमा लठ्ठि बोकेर जंगल पस्छन्। उही जोसका साथ। १४ वर्षदेखि एउटै काममा छन्- जंगल हेर्ने। मानौं यो उनको जागिर होइन, धर्म हो।
वीरेन्द्रनगर-१ स्थित कृष्ण सामुदायिक वन उपभोक्ता समूहमा ‘वन हेरालु’को जिम्मा सम्हालिरहेका टेकबहादुरलाई गाउँका सबैले चिन्छन्। उनको वन प्रतिको माया देखेर गाउँले छक्क पर्छन्। टेकबहादुरले गाउँलेलाई सुनाउँछन्- जंगल भनेको जीवन हो।
सानैदेखि गरिबीले पछ्याएको टेकबहादुरको जीवन सजिलो कहिल्यै भएन। बाल्यकालमै अरूको खेतमा हलो जोत्ने, धान काट्ने, घाँस-दाउरा बोक्ने काम गर्दै हुर्किए। दाउरा बेचेर जीवनमा खास परिवर्तन आउने छाँट नदेखेपछि उनी पैसाको जोहो गर्न भारतको कालापहाडसम्म पुगे, तर उताको हालत पनि उस्तै- ठगिने, कम ज्यालामा काम गर्नु पर्ने।
अन्ततः गाउँ फर्किए र २०६७ सालमा सामुदायिक वनको वन हेरालु भए। तलब त सुरुमा १५ सय मात्रै थियो। तर गाउँमै रोजगारी पाएकोमा सन्तुष्ट थिए। अहिले त तलब १० हजार पुगेको छ, वृद्धभत्ता पनि आउँछ।
टेकबहादुरका दुई छोरा छन्। एकले किराना पसल चलाउँछन्, अर्कोले अटो रिक्सा। तीन छोरीहरूको विवाह भइसक्यो। पाँच छोराछोरीबाट अहिले उनी १६ नातिनातिनाका हजुरबुवा भएका छन्।
उनी भन्छन्, ‘हामी दुई बुढाबुढीलाई सरकारले वृद्धभत्ता दिन्छ । वनले दिएको पैसा दुःखी बिरामी हुँदा चाहिन्छ भनेर राख्छौं,’ मुस्कुराउँदै टेकबहादुरले भने, ‘१६ नातिनातिनाको हजुरबुवा भइयो । अझैपनि काम गरेर खान मनलाग्छ । जबसम्म ज्यानले सक्छ तबसम्म गरिरहन्छु ।’
०००
घाम, पानी, चिसो जेसुकै भएपनि उनले जंगलको सुरक्षा गर्न कहिलै छाडेनन्। कहिले रुख काट्नेलाई सम्झाउँदा उल्टै गाली सुन्नुपर्छ रे। टेकबहादुरले सुनाए, ‘जंगल हेरालुको काम गर्न त्यत्तिकै सहज कहाँ छ र ? कहिलेकाहीँ त रुख काट्नेलाई सम्झाउँदा उल्टै गाली पनि खानुपर्छ। रुख नकाट भन्नासाथ हप्काउँछन्,’ उनले भने, ‘पहिलोपटक सम्झाउँछु, दोस्रो पटक जरिवाना काट्छु- हँसिया लिएर काटे ५० रुपैयाँ, बञ्चरो लिएर काटे १०० रुपैयाँ।’
चैत, वैशाख, जेठमा वन बन्द हुने भएकाले त्यतिबेला अझ कडाइ गर्नु पर्छ। साना जनावर मारिन्छन्, साज-सालका रुख ढालिन्छन्, त्यसैले टेकबहादुर र उनका दुई जना साथीहरू लगातार निगरानीमा खटिन्छन्। टेकबहादुरले आफ्ना सहकर्मीलाई पनि सिकाइरहेका छन्- चोरी निकासी कसरी रोक्ने भनेर।
वन जंगल प्रति टेकबहादुरको अतृप्त प्रेम छ। वन मासिए गाउँ पनि मसिने उनको बुझाई छ। ‘विभिन्न किसिमको जडीबुटी पाइन्छ जंगलमा । जंगल हरियो भए मात्रै स्वच्छ हावा आउँछ । वन मासियो भने गाउँ पनि मर्छ,’ उनले थपे, ‘वन स्थानीय स्रोत मात्रै होइन, समाजको मेरुदण्ड पनि हो,’ टेकबहादुर भन्छन् ।
उनका नातिनातिनाले सोध्छन्- ‘अब त आराम गर्नुस् न, किन जानुहुन्छ जंगल?’ उनको सिधा जवाफ हुन्छ, ‘जंगल छैन भने हावा छैन, पानी छैन, घाँस छैन, खाना छैन। हामी पनि छैनौं। त्यस कारण वनसँग मेरो प्रेम बसिसक्यो।’
सामान्य किसान परिवारमा जन्मिएका टेकबहादुरले जति संघर्ष गरे त्यति नै समर्पण जंगल प्रति देखाए। टेकबहादुरको वनप्रतिको प्रेम साँच्चिकै प्रेरणादायी छ।
वैशाख ३०, २०८२ मंगलबार २१:०१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।