हुलाक बचत बैंकको पाँच करोड रकम घोटाला गर्ने ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला स्थित जिल्ला हुलाक कार्यालयमा कार्यरत तत्कालीन नायव सुब्बा तथा कार्यालय प्रमुख बलीराम प्रसाद कुर्मीसहित ६ जना विरुद्ध पाँच करोडभन्दा बढी रकम अपचलन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्ति अनुसार कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले बचतकर्ताहरूको रकम अभिलेख नराखी तथा बैंक दाखिला नगरी स्वेच्छाचारी रूपमा खर्च गरेको, कार्यालयको नगदी रजिस्टरमा उल्लेख नगरी रकम अपचलन गरेको खुलेको छ। उनले अन्य प्रमुखहरूसँग मिलेमतो गरी रकम बाँडफाँडसमेत गरेका थिए।
अनुसन्धानका क्रममा कुर्मीले बचतकर्ताहरूको साँवा-ब्याजसहित ५ करोड ३५ लाख ६४ हजार २ सय ७९ रुपैयाँ ३३ पैसा अपचलन गरेको देखिएको आयोगले जनाएको छ।
अपचलनमा कुर्मीका साथै जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखहरू जयलाल प्रसाद साह कानु, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साह पनि संलग्न रहेको आयोगको ठहर छ।
उनीहरूले कार्यालयको लेजर तथा नगदी रजिस्टर अद्यावधिक नगरी, रकम बैंकमा दाखिला भए/नभएको नहेरी, अभिलेख चेकजाँच नगरी रकम दुरुपयोग गरेको पाइएपछि सबैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरिएको हो।
आयोगले आरोपितहरूमाथि कैद, जरिवाना र बिगो बराबरको रकम असुल उपर गर्न माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार यो मुद्दा सरकारी सेवा र जनधनमा भएको गम्भीर दुरुपयोगका दृष्टिले अत्यन्त संवेदनशील रहेको छ।
कुर्मीविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि बारा जिल्ला अदालतमा ठगी मुद्दा चलाइएको थियो। उनी हाल पुर्पक्षको लागि थुनामा छन्।
वैशाख ३०, २०८२ मंगलबार १९:०२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।