गैडाकोटको मौलाकालीमा आइएमईको ‘इला होटल’ को सेवा सुरू

गैडाकोट : मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा आइएमई ग्रुपको लगानीमा निर्माण गरिएको अत्याधुनिक ‘इला होटल तथा रिसोर्ट’ सोमबारदेखि सञ्चालनमा आएको छ। पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक विशेष समारोहबीच होटलको उद्घाटन गरे।
कार्यक्रममा मन्त्री पाण्डेले मौलाकाली केबलकार र होटललाई संस्कृति, विकास र साझेदारीको उत्कृष्ट उदाहरणको रूपमा व्याख्या गर्दै भने, ‘संस्कृति संरक्षण, धार्मिक पर्यटनको विकास र रोजगारी सिर्जनामा सरकार, निजी क्षेत्र र स्थानीय तह बीचको साझेदारीले नमुना प्रस्तुत गरेको छ।’
उनले पर्यटन नीतिमा चाँडै परिमार्जन गरिने जानकारी दिँदै पर्यटन क्षेत्रमा देखिएको नीतिगत अन्योल अन्त्य हुने विश्वास समेत व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ। सरकारको सानो नीतिगत सहयोगले विकासको ठूलो काम सम्भव हुन्छ।’
ढकालले स्थानीय तहहरूलाई प्रतिस्पर्धी बन्न आग्रह गर्दै लगानी मैत्री वातावरण सिर्जनाका लागि व्यवहारिक नीति र सहुलियत आवश्यक भएको बताए।
मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको ‘इला होटल’ मा ६५ वटा सुइट र डिलक्स रुम, एक हजार क्षमताको बैंक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिमसहितका सुविधा उपलब्ध छन्।
आइएमई ग्रुपले सातै प्रदेशमा केबलकार, होटल र रिसोर्टसहितको परियोजना विस्तार गरिरहेको छ। हालसम्म तीन प्रदेशमा केबलकार सञ्चालनमा आइसकेका छन् भने दुई स्थानमा होटलसहितका परियोजना सञ्चालनमा छन्।
लुम्बिनीको बसन्तपुरमा होटल निर्माण कार्य अघि बढिरहेको छ भने कैलालीमा केबलकार, रिसोर्ट र होटल एकैसाथ निर्माण हुँदैछ। ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा पनि केबलकार निर्माणको तयारी भइरहेको छ।
वैशाख ३०, २०८२ मंगलबार १८:४२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।