चलचित्र विकास बोर्डको जग्गा गायब भएको सुन्दा प्रधानमन्त्री छक्क

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालाजु स्थित नेपाल चलचित्र विकास बोर्डको हराएको भनिएको २७ रोपनी जग्गा बारे चासो देखाएका छन्। मंगलबार बनेपामा निर्माण हुन लागेको नयाँ फिल्म स्टुडियो ‘सिनेपाः’को शिलान्यास कार्यक्रममा बोल्दै उनले यस विषयमा तुरुन्तै छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिए।
‘पहिला चलचित्र विकास कम्पनी भन्ने थियो, अब त्यही कम्पनीको जमिन पनि हिनामिना भएको भनिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुरा सुन्दा म छक्क परेँ।’
कार्यक्रममा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र सचिवलाई सम्बोधन गर्दै उनले थपे, ‘मन्त्रीज्यू र सचिवज्यू यहीँ हुनुहुन्छ, हप्ता-दश दिनमा त के भएको हो, पत्ता लगाइ हाल्नुहोस्।’
प्रधानमन्त्रीले यदी कसैले जग्गा हिनामिना गरेको पाइएमा त्यसलाई कानुनी प्रक्रिया अघि बढाएर नियन्त्रणमा ल्याइने पनि स्पष्ट पारे। ‘के भएको छ, हामी खोज्छौँ। यदि कसैले हिनामिना गरेको छ भने त्यसलाई कानुनी प्रक्रिया पुर्याएर कन्ट्रोलमा ल्याउँछौँ,’ उनले चेतावनी दिए।
प्रधानमन्त्री ओलीले दोलखामा निर्माणाधीन फिल्म सिटीप्रति असन्तुष्टि पोखे। ‘फिल्म सिटी दोलखामा बनाउने भनेर लागेको छ सिनेमा क्षेत्र। हप्तामा दुई दिन घाम लागे धन्यवाद भन्नुपर्ने, दिउँसो पनि बत्ती बाल्न नपर्ने भए खुसी मान्नुपर्ने ठाउँ छ’ उनको व्यङ्ग्य टुङ्गिएन, ‘न त खिच्न मिल्ने सुविधा, न त बत्ती, त्यो डाँडोमै के फिल्म बनाउनु? त्यसमा भन्दा लमजुङ, पोखरा तिर फिल्म खिच्ने हो भने रेल पनि कुदाउन सकिन्छ।’
प्रधानमन्त्रीले फिल्म सिटी दशक देखि कछुवाको गतिमा अघि बढिरहेको र बजेट नपुगेर ढिलो भइरहेको बताए।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेता नीर शाहले पनि ६० वर्ष कुर्दा सम्म नेपालमा फिल्म स्टुडियो नबनेको गुनासो गरे। उनले भारतका स्टुडियो धाउनुपरेको अनुभव सुनाउँदा, ओलीले जवाफमा भने, ‘म पहिलै सरकारमा भएको भए त्यस्तो अवस्था आउँदैनथ्यो। स्टुडियो निर्माणमा ढिलो भएकोमा म आफैंले कमजोरी महसुस गर्छु।’
ओलीले स्टुडियोका लागि जमिन खोज्दा पटक-पटक मुद्दा खेप्नुपरेको अनुभव पनि बाँडे। ‘जमिन खोज्दा मुद्दा, अर्को स्टेप चाल्दा अर्को मुद्दा! नेपाल हो यो,’ भन्दै उनले अब बनेपामा बन्ने स्टुडियोमा सरकारकै ३७ करोड लगानी हुने जानकारी दिए। स्टुडियोमा गीत रेकर्डदेखि पोस्ट–प्रोडक्सनसम्म सबै हुने व्यवस्था मिलाउन सुझाव दिए। ‘सरकारसँग अहिले धेरै पैसा छैन, नपुग्यो भने तानतुन गरेर जुटाउँछौँ,’ प्रधानमन्त्रीले भने।
चलचित्र विकास बोर्डको पहलमा बनेपाको वडा नं. १० र १३ मा निर्माण हुन लागेको ‘सिनेपाः’ स्टुडियोको कुल लागत ३९ करोड रुपैयाँ अनुमान गरिएको छ। बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार ‘सिनेपाः’ भनेको "सिनेमा" र नेवार समुदायले नेपाललाई जनाउने "पाः" शब्दको संयोजन हो। यो स्टुडियो सन् २०२६ सम्म तयार पार्ने लक्ष्य राखिएको छ।
यसको लागि २०७८ असार २८ गतेको मन्त्रिपरिषद् बैठकले बाहुनडाँडा सामुदायिक वनको २ हेक्टर जग्गा स्टुडियो निर्माणका लागि स्वीकृति दिएको थियो।
वैशाख ३०, २०८२ मंगलबार १८:१७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।