‘सगरमाथा संवाद’मा १ सय ७५ विदेशी विशिष्ट पाहुना आउने

काठमाडौं : दोस्रो संस्करणको ‘सगरमाथा संवाद’ मा १७५ जना विदेशी विशिष्ट पाहुना सहभागी हुने भएका छन्। नेपाल सरकारले आयोजना गर्न लागेको संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने तय भएको छ।
परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले मंगलबार पत्रकार सम्मेलनमार्फत संवादको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै भनिन्, ‘विदेशी पाहुनासहित करिब ३५० जना सहभागी हुनेछन्, जसमा १२ देशका उच्चस्तरीय प्रतिनिधिमण्डल पनि रहनेछन्।’
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मूल विषयमा केन्द्रित यस संवादलाई नेपालले स्थापना गरेको अन्तर्राष्ट्रिय मञ्चको रूपमा लिइएको छ। मानव सभ्यतासँग सम्बन्धित समस्यामाथि संवाद, छलफल र समाधान खोज्ने उद्देश्यसहित सगरमाथा संवाद अघि सारिएको हो।
डा. राणाका अनुसार तयारीका क्रममा करिब १० वटा पूर्व संवादहरू सम्पन्न भइसकेका छन्। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिनेछन् भने परराष्ट्रमन्त्री डा. राणाले स्वागत सम्बोधन गर्नेछिन्।
समारोहमा संवादसम्बन्धी चिनारीयुक्त श्रव्य दृश्य सामग्री प्रस्तुत गरिनेछ। भारत, चीन, कोप-२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपति तर्फबाट जलवायु मामिलाका विशेष प्रतिनिधिहरूले समेत सम्बोधन गर्ने कार्यक्रम छ।
संवादमा संयुक्त राष्ट्रसङ्घका महासचिवको तर्फबाट पठाइएको विशेष श्रव्यदृश्य सन्देश पनि प्रस्तुत गरिने छ। उद्घाटन समारोहपछि जलवायु परिवर्तन र पर्वतीय क्षेत्रका मुद्दा समेटिएका १२ छुट्टाछुट्टै सत्रहरू सञ्चालन हुनेछन्। ती सत्रमा राजनीतिज्ञ, नीति निर्माता, वैज्ञानिक, विज्ञ तथा अनुसन्धानकर्ताहरूले विचार आदानप्रदान गर्नेछन्।
कार्यक्रममा ६१ वटा स्वदेशी तथा विदेशी संगठनहरू जसमा सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंक, विश्वविद्यालय, अनुसन्धान केन्द्र, नागरिक समाज र गैरसरकारी संस्थाहरू समावेश छन्।
‘नेपाललाई तटस्थ, संवादमैत्री कुटनीतिको नेतृत्वदायी भूमिकामा अघि बढाउन सगरमाथा संवादले सहयोग पुर्याउनेछ,’ मन्त्री डा. राणाले भनिन्, ‘यसले नेपालको विश्वव्यापी छविलाई मजबुत बनाउने र अन्तर्राष्ट्रिय सहयोग तथा साझेदारी विस्तार गर्ने अपेक्षा गरिएको छ।’
वैशाख ३०, २०८२ मंगलबार १७:१९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।