नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लाग्यो

नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लाग्यो

काठमाडौँ :  मंगलबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको घटेको छ। मंगलबार नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा झरेको छ।

नेप्सेसँगै कारोबार रकम समेत घटेको छ। मंगलबार दिनभर तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार चार सय ४५ पटक खरिदबिक्री हुँदा नौ अर्ब ६३ करोड ४८ लाख बराबरको कारोबार भएको छ।

मंगलबार विकास बैंक समूह शून्य दशमलव ८८, जीवन बीमा शून्य दशमलव ९५ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३४ प्रतिशतले बढ्यो। अरू सबै समूहको उपसूचक घट्यो। बैङ्किङ शून्य दशमलव ३०, वित्त एक दशमलव ९१, होटेल तथा पर्यटन दुई दशमलव २१, जलविद्युत् एक दशमलव १८ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले घट्यो।

लघुवित्त शून्य दशमलव ६९, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा समूह शून्य दशमलव ५९, व्यापार दुई दशमलव ४६ र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घट्यो।

मंगलबारको कारोबारमा क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घट्यो।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ। यो कम्पनीको ६७ करोड २० लाख ८५ हजार ८० बराबरको १५ लाख ४६ हजार चार सय ८९ कित्ता शेयर किनबेच भएको छ।

वैशाख ३०, २०८२ मंगलबार १७:०३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।