काठमाडौं प्लाजाको शौचालयको पानी ‘ट्रिटमेन्ट’ गरेर सिँचाइ गरिने

काठमाडौं प्लाजाको शौचालयको पानी ‘ट्रिटमेन्ट’ गरेर सिँचाइ गरिने

काठमाडौं : काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय काठमाडौं प्लाजामा फोहर पानी प्रशोधन गर्ने नयाँ प्रणाली जडान गरिएको छ। यो ट्रिटमेन्ट प्लान्टले दैनिक पाँच हजार लिटरसम्म फोहर पानी सफा गर्न सक्छ।

करीब २० लाख रुपैयाँ लागतमा स्थापना गरिएको यो प्लान्ट बिजुलीबाट सञ्चालित छ र एरोबिक तथा एनएरोबिक दुवै विधिबाट पानी प्रशोधन गर्छ।

‘यो परीक्षणका लागि सुरु गरिएको नमूना योजना हो,’ वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले भनिन्, ‘फोहर पानी व्यवस्थापन स्वच्छ काठमाडौँका लागि आवश्यक छ। परीक्षण सफल भए विस्तार गर्ने योजना छ।’

प्रणालीको प्रविधि विवरण दिँदै वरिष्ठ इञ्जिनियर निशा कोइरालाले बताइन्, ‘३.६ मिटर लम्बाइ, १.२ मिटर चौडाइ र १.९८ मिटर उचाइको प्लान्टमा चारवटा च्याम्बर छन्। शौचालयबाट आएको फोहर पानी सुरुमा सेडिमेन्टेसन विधिबाट तरल र ठोस छुट्याइन्छ। त्यसपछि एनएरोबिक, एरोबिक, फिल्ट्रेसन र डिसइन्फेक्सन चरणमा पुगेर दुर्गन्धरहित पानी उत्पादन हुन्छ, जुन बोटबिरुवा सिँचाइका लागि प्रयोग गर्न मिल्छ।’

महानगरका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन्, जसमध्ये हाल ४४ वटा शौचालयबाट आएको तरल फोहर पानीलाई प्रशोधन गरिएको छ। 

उनका अनुसार प्लाजामा दैनिक करिब ९ हजार लिटर पानी प्रयोग हुने गरेको छ र सफल परीक्षणपछि थप शौचालयको पानी प्रशोधनमा समेट्ने तयारी छ।
 

वैशाख ३०, २०८२ मंगलबार १६:५८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।