चौथो अंग : अल्छीपन पत्रकारको शत्रु हो, जिज्ञासा उसको शक्ति

भू-मध्य रेखामा पर्ने देशमा धेरै चट्याङ पर्ने रहेछ, जसका कारण धेरै व्यक्तिको ज्यान जाने गर्छ। मैले यसबारे बिबिसी वर्ल्ड सर्भिसका सम्पादकलाई भनेँ। सम्पादकले यसबारे अध्ययन भएको छैन, तिमिले कसरी दाबी गर्न सक्छौँ भने। मैले सम्बन्धित देशबाट तथ्याङ्क माग्ने अनि लेख्ने भनेँ।
सम्पादकले हुन्छ भनेपछि स्टोरी गरेँ। पछि यो विषयमा वैज्ञानिकहरूले अध्ययन गरे। नभन्दै भू-मध्य रेखामा पर्ने देशहरूमा अन्यत्र हेरि चट्याङका कारण धेरै व्यक्तिहरूको ज्यान जाने गरेको पुष्टि भयो। त्यो बेलामा यसबारे अध्ययन भएको थिएन। तर अध्ययनै नभएको विषयमा के लेख्नु भनेर छाडेको भए यो विषय उजागरै हुने थिएन।
यसले पत्रकारहरूले यो विषयमा त अध्ययनै भएको रैनछ भनेर रिपोर्टिङ गर्न छाड्ने हैन, आफ्नो तर्फबाट पनि प्रयास गर्नुपर्छ भन्ने सिकायो।
नेपालमा धेरै विषयमा कमै अनुसन्धान हुन्छन्। तर विषयगत रूपमा सरकारी वा अनुसन्धान केन्द्रले अध्ययन नै नगरेका विषयहरू पनि उजार भएका छन्। उजागर गर्नुपर्छ। यो पत्रकारिताभित्रकै काम हो। तर कमजोरीहरू भने छन्।
बहुचर्चित मेलम्ची खानेपानी परियोजनालाई नै हेरौँ न। निकै लामो समय लगाएर बल्ल बल्ल काठमाडौँसम्म पानी आयो। तर एकाएक माथिल्लो तटमा रहेको हिमताल फुट्दा गेग्र्यानसहित आएको बाढीले पुन परियोजनामा ठूलो क्षति पूर्यायो।
हिमताल र रातारात बन्ने हैन। अनि त्यति धेरै गेग्र्यान पनि एकै पटक जम्मा भएका त हैनन्। यदि त्यो परियोजना सुरु हुनु भन्दा अघि माथिल्लो हिमाली क्षेत्रको भौगोलिक अवस्थाबारे राम्रोसँग अध्ययन, अनुसन्धान गरेको भए त जोखिमको पहिचान हुन्थ्यो। वैकल्पिक उपाय अपनाउन सकिन्थ्यो। न परियोजना बनाउने जिम्मा पाएकाले अध्ययन गरे न त पत्रकारले नै चासो देखाए। त्यत्रो राज्य कोष लगानी भएको परियोजना नै तहसनहस भयो।
रोशी खोलामा आएको बाढीले त्यो क्षेत्रमा ठूलो जनधनको क्षति पुर्यायो। त्यसको कारण अत्याधिक क्रसरको प्रयोग देखियो। पहिले नै कति मात्रामा निकाल्दा जोखिम हुन्न भनेर अध्ययन गरेको भए यति धेरै जनधनको क्षति हुने थिएन।
हामीले वातावरण मैत्री हुनुलाई कम आँक्यौँ भने निर्माण गरेका विकास निर्माणहरू पनि कामै नलाग्ने गरी क्षतिग्रस्त हुनसक्छ। त्यसकारण नेपालमा काम गर्ने पत्रकारले स्पेशिफिक भएर कस्ता प्रतिवेदन बनेका छन् हेर्ने, त्यही प्रतिवेदनमा गडबड छन् कि भनेर स्वतन्त्र विज्ञसँग गएर बुझ्ने हो भने यस्तो अवस्था केही हदसम्म रोक्न सकिन्छ।
अब यसमा अनुसन्धानै भएको थिएन कसरी लेख्नु भन्ने लाग्न पनि सक्छ। विषय जुन सुकै होस् यदि अनुसन्धान हुँदै छ भने कुर्न सकिन्छ, नत्र रिपोर्टिङ गर्नुपर्छ। अनुसन्धानै भएको छैन भनेर त्यसै छाड्नु हुँदैन। पत्रकारको एक काम अनुसन्धान गर्नु पनि हो नि।
मिडिया हाउस अनुसार सुविधा फरक-फरक हुन सक्छ तर जति सकिन्छ त्यति दिइहाल्नु पर्छ। कुरेर बस्न हुन्न। किनभने पत्रकारको काम जे हो त्यो भनिहाल्नु पर्छ। पछि गरौँला भनेर कुर्ने पेसा नै हैन यो।
दायरा फराकिलो बनाउनु पत्रकारिताको चुनौती
मैले २०५० साल देखि पत्रकारिताको सुरु गरेको हो। म लेख्नु अघि पढाउँथे पनि। पढाउनुका साथै आफूले लेखेका कुरा छाप्थेँ पनि। विद्यालयमा ९ वर्ष जति पढाएपछि अरू नै काम गर्न मन लाग्यो। अनि फुल टाइम पत्रकारिता नै गर्ने भएँ।
म पत्रकारिताको विद्यार्थी थिइन। नेपालमा प्रेस इन्स्टिच्युट तालिम दिने थाहा पाएँ। पत्रकारिताको हुटहुटीले त्यहाँसम्म पुर्यायो मलाई। अनि स्पटलाइट भन्ने पत्रिकामा काम पनि गरेँ। त्यसपछि राइजिङ नेपालमा जोडिएँ।
राइजिङ नेपाल भन्ने बित्तिकै सरकारी मुखपत्र भन्ने लाग्न सक्छ। हो पनि। तर गर्ने हो भने सरकारी मुखपत्रमा पनि मन लागेको काम गर्न सकिन्छ। त्यहाँ जहाज खरिदमा भएको भ्रष्टाचारदेखि वन्यजन्तु तस्करीसम्मका कुरा, मेलम्ची खानेपानीमा भएको अनियमितता लगायतका विषयमा लेखेँ। छापियो पनि। मलाई कसैले यी समाचारहरू किन लेखेको भनेर सोधेनन् पनि।
अनि हिमालयटाइमस् सुरु हुने भयो। त्यसको सुरुवातमा हामी नै थियौँ। स्पेशटाइममा पनि काम गरेँ। अंग्रेजीमा समाचार भन्ने हुटहुटी थियो। नेपाल टेलिभिजनमा प्रयास पनि गरेँ। तर मलाई अन्तर्वातामा फालिदिए।
त्यसले झन् धेरै तान्यो। अनि च्यानल नेपालमा समाचार पनि भनेँ। पछि नेपाली टाइम्ससँगै बिबिसी नेपाली सेवामा गएँ। बिबिसी नेपाली सेवामा नेपालीमा लेख्नु पर्ने भएपछि अंग्रेजीमा निरन्तरता नटुंगियोस् भनेर नेपाली टाइम्समा काम गरेँ।
यदि तपाईँलाई कुनै क्षेत्रमा एकदमै चाख छ तर बिट अर्कै छ भने तोकिएको काम पनि गर्ने र मन लागेको क्षेत्रमा पनि काम गर्ने गर्नुपर्छ।
त्यतिबेला माओवादी विद्रोहको समय थियो। दैनिक काम यही गर्नुपर्दथ्यो। तर वातावरणको विषयलाई छाड्नु हुँदैन भन्ने लागेर वातावरण सम्बन्धी स्टोरी पनि निरन्तर गरिरहेँ। सम्पादकहरूलाई पठाइरहेँ।
लन्डन गएपछि म नेपाली भाषा शाखामा नै थिएँ। यता शाखाको काम सकेपछि बिबिसी वर्ल्ड सर्भिसकालागि पनि निरन्तर रिपोर्टिङ गरे। कति छापिन्थे, कति छापिँदैनथे। तर लेख्न छाडिएन।
पर्यावरण सम्बन्धी निरन्तर रिपोर्टिङ गरेपछि मलाई विशेषज्ञ समूहमा नियुक्ति गरियो। पहिले नेपालमा मात्र केन्द्रित भए पुग्थ्यो अब भने संसारभरका विषयमा रिपोर्टिङ गर्नुपर्ने भयो।
सानो ठाउँमा काम गर्नुको आफ्नै फाइदा थिए। कुनै काममा केन्द्रित भएर गर्न पाइन्छ। नेपाली भाषा शाखामा काम गर्दा शान्ति प्रक्रियादेखि भारतीय गुप्तचर संस्थाका पूर्व प्रमुख अनि अमेरिकीदेखि चिनियाँ प्राध्यापकसँग कुराकानी गरेको थिएँ।
तर वर्ल्ड सर्भिस गएपछि मेरो विषय बद्लियो। मैले वातावरण सम्बन्धीका विषयहरू हेर्ने भएँ, दायरा फराकिलो हुँदै गयो। अब एक देशको मात्रै विषय थाहा भएर भएन, अफ्रिकादेखि एसियासम्म कुनै घटना घटे भने किन र कसरी भनेर भन्न सक्नुपर्ने भयो। त्यसैमा वृहत् ज्ञान राख्नु पर्ने भयो।
उदाहरणका लागि, अफ्रिकामा निकै सुख्खा भयो। बेतोडले सुख्खा भएकाले उत्पादनै भएन त्यहाँ। यो सुख्खापन सामान्य हो या के हो बुझ्नुपर्यो भन्ने आउँछ। रिपोर्टिङ गर्ने साथीहरूले कहिलेदेखि सुख्खा भएको, किसानलाई परेको मारसम्मका कुराहरू फिल्डबाट ल्याइहाल्नुहुन्छ। हामी विज्ञ समूहमा बसेर काम गरेकाले चाहिँ वैज्ञानिकहरूसँग बुझेर यो के कारणले भएको हो भन्ने थाहा पाउनु पर्छ। आम पाठकलाई वृहत् सन्दर्भ पनि बुझाउनु पर्ने हुन्छ।
अर्को उदाहरण, अस्ति भर्खरै एउटा स्टोरी गरेँ। नदीहरू भुईँमा त बग्छन् नै आकाशमा पनि बग्ने भएका छन्। त्यति मात्रै होइन आकाशमा बग्ने नदीले पनि बाटो परिवर्तन गरेका छन्। यो भनेको जति गर्मी भयो पृथ्वीको तापमान उति बढ्दै जाने हो।
जहाँ पानी छ त्यहाँ बाफ बनेर उड्ने भयो। बाफ बनेर माथि जाने भएपछि ती माथि बग्ने भए। जसलाई हामी ‘एटमस्फरिक रिभर’ भन्छौँ। अहिले यस्ता नदीहरू बढ्दै गएका छन्। उनीहरूको सङ्ख्यात्मक वृद्धि मात्रै नभएर हावाको गति पनि परिवर्तन भएको छ। मौसमका कारण यी सबै परिवर्तन भइरहेको छ। अब यस्तो किन भइरहेको छ भनेर बुझाउने काम त हामी पत्रकारको हो।
यसो हेर्दा वातावरणका कुरा भन्ने हुन्छ,तर यसमा विज्ञानदेखि अर्थतन्त्र र भूराजनीति सम्मका कुरा जोडिएर आउँछन्। त्यसमा दक्खल हुनैपर्छ।
पत्रकारले जुन बिटमा लेख्छन् ती बिटलाई अलि फराकिलो तरीकाले हेर्न जान्नु पर्छ। त्यसका आयामहरूले कता कता छुन्छन्, के कारणले यस्तो हुन्छ भन्ने कुरा खोज्ने, लेख्ने काम पत्रकारको हो।
जलवायु सम्बन्धी सम्मेलन भइरहन्छन्। ३० वर्ष भयो यो सम्मेलन हुन थालेको। यस्ता सम्मेलनले घोषणा पत्र निकाल्छन् जसले पृथ्वीको तापमान निश्चित समयमा यहाँ भन्दा बढी बढ्न नदिने, विकसित देशले केही आर्थिक सहयोग गर्नुपर्ने देखि कार्बन उत्सर्जन कम गर्ने बस्तु उपभोगमा जोड दिनु पर्ने कुरासम्म उठ्छन्।
तर यी विषयहरू प्रायजसो कुरामै सीमित भएका छन्। कामै नभएको त होइन तर अर्थतन्त्र देखि भू-राजनीतिसम्मका कुराले अप्ठ्यारो पारेको देखिन्छ यसमा।
सम्मेलन भइरहने तर कार्बन उत्सर्जन किन नघटेको त भन्ने प्रश्न उठ्न पनि सक्छ। यसलाई यसरी बुझौँ, विश्व अर्थतन्त्र धेरै प्रतिशत जैविक इन्धनमा आश्रित छ। यसले इन्धन बालेर कार्बन उत्सर्जन गर्छन्। यसरी उत्सर्जन भएको कार्बन वायुमण्डलमा कम्मल बसे जरी बस्छ। अब वायुमण्डललाई कम्मलले बेरेर बसेपछि पृथ्वीमा धेरै गर्मी हुने नै भयो। किनभने त्यो कम्मल कार्बन हो। यसलाई घटाउनुपर्छ भनेर सम्मेलन भएको हो।
तर अर्थतन्त्रको चक्करमा घुमेको छ यो कुरा। जैविक इन्धनको उत्सर्जन घटाउनै नसक्ने त होइन तर एकदमै धेरै महँगो हुन्छ। अर्थतन्त्रको आधारभूत संरचना नै बदलिनु पर्ने हुन्छ। जस कारण भोट बैंक उल्टिन सक्छ। त्यसकारण कोपमा जैविक इन्धनको प्रयोग घटाउनु पर्छ भनेर घर फर्केपछि उनीहरूले घटाउन भने खासै काम गर्दैनन्।
जैविक इन्धनको सट्टा प्रयोग गर्ने नवीकरणीय ऊर्जाका लागि विशेष किसिमका धातु चाहिन्छ। त्यो धातु पृथ्वीमा त छ तर सीमित देशले मात्रै ठूलो खर्च गरेर निकाल्न सक्छन्। ८० प्रतिशत क्षमता चीनसँग देखिन्छ। त्यो धातुलाई पनि रिफाइन गरेर मात्रै प्रयोग गर्न सकिन्छ।
अमेरिकाले ग्रिनल्याण्ड आफ्नो देश बनाउँछु भन्नुको कारण यस्तै धातुको कारण हो। यस्तै धेरै कारणले वातावरणीय विषयमा भू-राजनीति पनि जोडिएको हुन्छ ।
भारतका प्रधानमन्त्रीले केही समय अघि अमेरिकाका राष्ट्रपतिलाई भेटेर अमेरिकाको ग्यास र तेल आयत गर्ने ठूलो देश भारत हुने छ भने। एकातिर आर्थिक फड्को मार्न चाहेका देशहरू छन्। अनि अर्कोतिर धेरै भन्दा धेरै जैविक ऊर्जा बिक्री गरेर आर्थिक वर्चस्व कायम गर्न चाहेका राष्ट्रहरू छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पृथ्वीको तापमान बढेकोमा घटाउने त पर जाओस् भइरहेका कार्यक्रमहरू पनि रोकेका छन्। बाहिर भनेका त छैनन् तर कतिपय अन्य विकसित राष्ट्रहरूले पनि अमेरिकाले गर्दैन भने हामी किन गर्ने भनेर पछाडि हट्दै गएको देखिन्छ। यसरी वातावरणका विषयहरू पृथ्वीको तापमान घटाउने कुरा भू-राजनीतिको चपेटामा परेका छन्।
पत्रकारले समस्या देखाउने मात्रै हैन किन समाधान भएन भनेर पनि भन्न सक्नु पर्छ। यही जैविक इन्धनको प्रयोगको उदाहरणलाई लिऊँ, हरित अर्थतन्त्रको कुरा चलेको थुप्रै भयो। वैज्ञानिकहरूले औद्योगिक युग सुरु हुनु भन्दा अघि जति तापक्रम थियो पृथ्वीको तापक्रम १.२ ले बढेको छ। वैज्ञानिकहरूले यसलाई १.५ डिग्री भन्दा बढी बढ्न नदेऊ भनेका छन्।
तर कार्बन यसरी उत्सर्जन भएको छ की यही तरीकाले कार्बन उत्सर्जन भए तीन देखि औसतमा ४ डिग्री तापक्रम बढ्ने देखिन्छ। सन् २०३० सम्ममा तापक्रम १.५ मा कायम राख्ने हो भने कार्बन उत्सर्जन अहिले गरेको भन्दा ४५ प्रतिशतले कम गर्नु पर्छ। वैज्ञानिकहरूले तापक्रम बढ्न नदेऊ त भन्छन्। अब यसमा पत्रकारले बढ्यो भने के हुन्छ, हाम्रो जीवनशैलीमा कसरी जोडिन्छ भन्न सक्नु पर्छ।
नेपाल जस्ता विकासोन्मुख देशले कार्बन उत्सर्जन एकदमै कम गर्छन्। ०.१ भन्दा पनि कम उत्पादन गर्छ। यो एकदमै नगण्य हो। नेपालले नवीकरणीय ऊर्जामा राम्रो काम गरिरहेको छ। तर नेपाल जस्तो देसलाई बद्लिएको तापक्रमले धेरै असर परेको छ। खेतहरू सुख्खा भएका छन्, सुख्खा पहिरो गएको छ, तीन महिनामा पर्नु पर्ने पानी तीन दिनमा परेर बाढी आएको छ,हिमाल खुइलिएका छन् आदि।
यी सबै भएको हाम्रो कारणले होइन भनेर हल्ला मात्रै गरेर काम छैन। आफ्नो तर्फबाट सक्दो त गर्नै पर्छ। जनधनको क्षति भएमा नेपालमा मात्रै होइन विश्वका विभिन्न ठाउँका पनि हुन्छ।
सरकारी अधिकारीहरूले जे कुरालाई पनि जलवायु परिवर्तनले भनेर पन्छिने खोजेका छन्। आफ्नो अकर्मण्यता लुकाउन उनीहरूले जलवायु परिवर्तनको असर भनिदिन्छन्। हाम्रो काम नै चिरफार गर्ने हो, उनीहरूले जे भने त्यही लेख्ने हैन। हरेक विषय लगेर जसरी जलवायु परिवर्तन भनिने गरिन्छ त्यो हो त भनेर पत्रकारले लेख्न सक्नु पर्छ।
राज्यले नखाएको विष लाग्यो, जलवायु परिवर्तनले जनधनको क्षति भयो भनेको समाचार लेख्दा सरकारले त्यसलाई अनुकूलन (adaptation) गर्न अथवा न्यूनीकरण ( Mitigation) गर्न के-के उपाय अपनाउन सक्थ्यो, अपनायो या अपनाएन, कहाँ-कहाँ चुक भयो भनेर समेत लेख्न सक्नु पर्छ।
अनुकूलन हुनु भनेको परिवर्तन भएको जलवायु अनुसार जीवन सहज बनाउने अनि न्यूनीकरण भने कार्बन उत्सर्जन कम गर्दै जाने हो।
अनुकूलनको एउटा उदाहरण, अमेरिकाको छेउमा क्यारेभियन भन्ने क्षेत्र छ। त्यहाँ सामुद्रिक आँधी आउन थाले। स्थानीयले घरका भित्ता बलियो बनाउन थाले। यो क्षेत्रमा सामुद्रिक आँधीले निकै सतायो। त्यसपछि घर अग्ला बन्न थाले। उनीहरूले अनुकूलित हुन सिके ।
प्रश्न नै पत्रकारिताको तागत
मैले विज्ञान विषय पढेको होइन। एसएलसीसम्म विज्ञान पढेपछि औपचारिक शिक्षामा विज्ञान पढिन। अंग्रेजी साहित्यको विद्यार्थी म। वातावरण क्षेत्रमा लेख्ने भएपछि आधारभूत विज्ञान त बुझ्नै पर्यो। ‘टर्मिनोलोजीमा फेमिलियर’ हुन पर्यो।
यसको लागि दिनरात नभनी पढ्नुको विकल्प थिएन,छैन। कुरोको चुरो नबुझी लेख्न सकिन्न। अनि पढ्दै गर्दा आफ्ना पाठक पनि सम्झिनु पर्छ, मैले बुझ्न त यति गाह्रो छ भने पाठकलाई झन् कसरी बुझाउने होला!
स्टोरी भन्ने काम हाम्रो, विज्ञको होइन। प्राविधिक कुरा बटुल्ने, हानी नोक्सानी कसरी भइरहेको छ भन्ने डटहरू जोड्ने तर समाचार विज्ञको भाषा शैलीमा दिने होइन। विज्ञको भाषा शैली त सुन्नै पर्छ। तर त्यही भाषा टपक्क टिपेर पाठकलाई दिने होइन। विज्ञको सुन्ने तर भाषा शैली आफ्नैमा दिनुपर्छ।
सूचना संकलन गर्ने आफ्नै सिप र शैली हुनसक्छ। धेरै प्रतिवेदनहरू बन्छन्। विज्ञका लेखहरू आएका हुन्छन्। आफ्नो क्षेत्र कुन हो त्यसलाई छान्ने अनि पढ्ने।
यस्ता रिपोर्टहरू पढ्दा विज्ञहरूको १२ बजाउन सकिन्छ। उदाहरणका लागि, मैले हिम नदीहरूको रिपोर्टिङ गर्न खोजेको धेरै भयो। प्रतिवेदन त बनेको छ तर तथ्याङ्क प्राय पुरानै। सरकारी अधिकारीहरूले त्यो संकलन गर्न गाह्रो भएकाले सकेनौँ भन्छन्। उनीहरूले सकिएन भन्दैमा हाम्रो काम त सकिँदैन। हाम्रो अडियन्सले त नयाँ कुरा खोज्छ नि। हामीले वर्षे नि निस्कने प्रतिवेदनमा किन एकै तथ्याङ्क राख्छौँ भनेर सोध्ने हो।
एक उदाहरण, जल तथा मौसम विभागले यो वर्ष जति पानी पर्नु पर्ने हो त्यति पानी पर्यो भनेर विज्ञप्ति निकाल्यो। गाउँमा किसानले कहाँ पानी पर्या छ, यहाँ खेत बाझैँ छ, दुई तीन दिनमा परेको पानीले सबै बगाएर लगिदियो भन्लान्।
पानी त परेकै हो। तर कहाँ निर ग्याप भयो ? अब पत्रकारले खोज्ने यही हो। पानीको मात्रा त मौसम विभागले भनेको सही हो तर पहिले जस्तो समान पानी परेन। तीन महिनामा पर्ने पानी तीन दिनमै पर्यो जस कारण किसान र मौसम विभागको कुरा मिलेन।
यस्तो अवस्थामा विज्ञसँग कुरा गरेर किसानका लागि समाधानका उपाय निकालिदिनु हाम्रै काम हो।
अर्को उदाहरण फिलिपिन्सको, सामुन्द्रिक आँधीले फिलिपिन्समा खेती नै सखाप पार्यो। त्यसपछि उनीहरूले बाली परिवर्तन गरे पिँडालु, तरुल र सखरखण्ड लगाउन थाले। जमिन मुनि फल्ने हुनाले सामुद्रिक आँधीले बिगार्न सकेन।
यस्तो अध्ययनहरू गर्दा कुन ठाउँमा के समस्या आयो अनि उनीहरूले के उपाय लगाए भन्ने जानकारी हुन्छ। यसका लागि केही समय टिकटक र सामाजिक सञ्जालबाट बाहिर निस्किएर कहाँ के भइरहेका छन् भनेर खोज्दा भेटिइहाल्छ। त्यति गाह्रो पनि छैन अहिले। अहिले त एआइको जमाना हो नि।
स्टोरीको एंगल एकै हुनुहुन्न
यसमा पनि एउटा उदाहरणबाटै सुरु गर्छु। सन् १९९७ मा मैले हिउँचितुवाको तस्करी बारे रिपोर्टिङ गर्न मनाङ, मुस्ताङ र डोल्पोमा पुगेको थिएँ। त्यो तस्करी भएर चीनमा पुग्थ्यो।
हिउँचितुवाहरू हिमालमा बस्छन् तर सीमित रेन्जमा सीमित हुँदैनन्। एक देशबाट अर्को देश गइरहेका हुन्छन्। त्यतिबेला हिउँचितुवाको गणना गर्न पनि निकै गाह्रो थियो। रिपोर्टिङका क्रममा तस्करी हुने गरेको तथ्य भेटियो। यो समाचार छापियो पनि।
तर चीनको नेशनल पार्कमा रिपोर्टिङको क्रममा आश्चर्य लाग्दो अर्को तथ्य भेटियो। हिउँचितुवा पाइने भनिएको स्थानमा जहाँ ट्र्याप गरेर राखिएको थियो त्यहाँ त तल्लो पहाड तिर भेटिने चितुवा भेटियो।
खोज्दै जाँदा ती पहाडमा भेटिने चितुवा र हिउँमा भेटिने चितुवाबीच समागम भएर बच्चा जन्मेको रहेछ। ती जन्मेका बच्चा आधा हिउँ चितुवा जस्ता, आधा पहाडी चितुवा जस्ता रोचक देखिएको त्यहाँ काम गर्नेले बताए। अब तस्करीको समाचार लेख्न आएको भनेर फेला परेको नयाँ तथ्यबारे खोजबिन नगर्ने भन्ने हुन्छ र?
किन पहाडी चितुवा कहिले नदेखिने ठाउँमा देखियो ? यसको कारण के हो? प्रश्न हुनु अनि त्यसको उत्तर खोज्ने काम पत्रकारको हो।
वनस्पतिदेखि वन्यजन्तुसम्मका चोरी तस्करी विश्वको ठूलो समस्या हो। यसमा अन्तर्राष्ट्रिय जालो जोडिएको हुन्छ। सामान्य लाग्ने घटनालाई किन भनेर खोज्ने हो भने यस्ता बलिया सञ्जाल पनि सहजै पर्दाफास हुन सक्छन्।
केही उदाहरण, अफ्रिकामा क्यान्सर जस्तो घातक रोगलाई निको पार्ने काम गर्ने एकदमै लोपोन्मुख वनस्पति छ। धनीहरूले यो वनस्पति घरमा सजाउन प्रयोग गर्छन्। तर दक्षिण अफ्रिकी सरकारले यो निर्यातमा प्रतिबन्ध लगाएको थियो। तर यो निकासी भइरहेको तथ्य फेला पर्यो।
अफ्रिकामा बच्चाहरूको खेलौना चीनबाट आउँथ्यो। तर एकाएक अफ्रिका आएका चिनिया खेलौना चीन फर्किन थाले। किन भनेर भन्सारका अधिकारीले हेर्दा ती खेलौनाको भित्र खोक्रो रहेको भागमा त्यही वनस्पति राखेर तस्करी गर्ने गरेको खुल्यो।
अर्को नेपालको मुस्ताङमा एक प्रकारको अति महँगो ‘अर्किड’ फूल पाइन्छ तर तस्करले आलु भनेर छलेर तस्करी गरेको भेटिएको थियो। भियतनाममा हात्तीका दाह्रालाई गाइको सीँगको रङ्ग लगाएर अफ्रिकाबाट तस्करी हुने गरेको खुल्यो।
संसारभर चोरी सिकारीका तरीका एकै देखिन्छन्। पत्रकारले फेरिएको अपराध गर्ने शैली बुझ्ने प्रयास गर्नुपर्छ। यसमा सबैभन्दा गतिलो हतियार नै किन भन्ने प्रश्नको उत्तर खोज्ने हो। चीनबाट आएको खेलौना किन चिन गइराछ भन्ने प्रश्नले नै वनस्पति तस्करीको शैली खुलाएको हो नि।
प्रस्तुति नै पत्रकारको कला
अबको पत्रकारिताको चुनौती भनेको प्रस्तुति पनि हो। अब लेखेर, वा बोलेर मात्र पत्रकारको काम सकिन्न। आफूले रिपोर्टिङ गरेको विषय कसरी अधिक पाठक/दर्शक/श्रोतामा पूर्याउन सकिन्छ भन्ने जिम्मेवारी पनि पत्रकारकै काँधमा आइपुगेको छ।
केही समय अघि भारतमा तातो हावाको प्रभावबारे रिपोर्टिङ गरेको थिएँ। यो लेखेर मात्रै बुझाउन सकिने विषय थिएन। छोटो भिडियो पनि बनाएँ। तातो हावा भयो भने मात्रै समस्या हुने हैन सापेक्षिक आर्द्रता ( हावामा पानीको मात्रा बढ्नु) भयो भने धेरै समस्या हुने हो।
तातो भयो भने पसिना आउँछ तर आर्द्रता बढ्यो भने पसिना आउँदैन त्यसपछि प्रकृतिको विरुद्ध हुन थाल्छ। अनि ह्यदयघात हुने, तातो हावाले मान्छेको ज्यानै जाने सम्मका घटना हुन सक्छन्। यस्तो विषय बुझाउन छोटो भिडियो प्रभावकारी हुनसक्छ।
जति ठेलिका ठेली पुस्तक पढे पनि घागडान विज्ञ भेटे पनि पत्रकारको काम आम नागरिकलाई बुझाउने हो। पुस्तक तथा प्रतिवेदनहरू त पढ्नै पर्यो, विज्ञ त नभेटी पनि भएन। तर अन्तमा सबैले सहजै बुझ्ने गरी लेख्ने वा देखाउने जिम्मेवारी त पत्रकारै हो।
नेपालमा पहिलेको अवस्थामा विषय विज्ञहरू बढ्दै जानु भएको छ। तर यहाँ कुनै विषयको विज्ञको अभाव भयो भने बाहिरका विज्ञहरूसँग सहजै सम्पर्क गर्न सकिन्छ अहिले। उनीहरूलाई सामाजिक सञ्जाल पछ्याउन सकिन्छ, इमेल गर्न सकिन्छ।
अहिले मिडियाको ल्याण्डस्केप परिवर्तन हुँदै छ। १२ सय शब्दको स्टोरीलाई ७० सेकेन्डमा भनिसक्नु पर्ने बेला आइसक्यो। त्यसकारण पत्रकारहरू अपडेट हुन जरुरी छ ।
अब समाचार सँगै त्यसको प्रभाव पनि भन्न सक्ने हुनैपर्छ। उदाहरणका लागि समुद्रमा तेल चुहियो, यसले के असर गर्छ लौ १५ मिनेटमा खोजी गर भन्ने असाइन्मेन्ट आउन सक्छ। यसबारे त थाहै छैन, कसैलाई चिनेकै छैन भन्न त पाइएन। अब रिपोर्टर बिस्तारै विषय विज्ञ पनि हुन सक्नु पर्छ।
अल्छीपन पत्रकारको सबैभन्दा ठूलो शत्रु हो। तपाईँ जलवायु सङ्कटको रिपोर्टिङ गर्नुस् की राजनीति, अर्थतन्त्र या अन्य, त्यसको दायरा फराकिलो बनाउने, सम्बन्धित विषयमा भएका अध्ययनदेखि विज्ञसँग कुराकानी गर्ने, अनि विभिन्न माध्यमबाट स्टोरी टेलिङ गर्ने जिम्मेवारी पत्रकारकै हो। यो पेसाको मजा पनि यही हो।
(खड्काले पत्रकारिता गरेको तीन दशक बढी भइसक्यो। उनी द राइजिङ नेपाल, हिमालयनटाइम्स, स्पेशटाइम ,स्पटलाइट, नेपाली टाइम्स, बिबिसी नेपाली सेवा हुँदै अहिले बिबिसी वर्ल्ड सर्भिसमा सिनियर पत्रकार हुन्। वातावरण पत्रकारितामा संलग्न खड्कासँग वातावरण पत्रकारितामा केन्द्रित भएर उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानी)
चौथो अंगका पुराना श्रृंखला :
वैशाख ३०, २०८२ मंगलबार १६:३६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।