३५ दिनमै सकियो फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायाङ्कन

३५ दिनमै सकियो फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायाङ्कन

काठमाडौं : फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायाङ्कन ३५ दिनमा सकिएको छ। निर्माण पक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा इन्डक्ल्याप पार्टीको आयोजनासँगै फिल्मको छायाङ्कन सकिएको हो। यो फिल्मको छायाङ्कन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भएको थियो।

‘सिनेमा अपेक्षा गरेअनुसार राम्रोसँग छायाङ्कन सकियो,’ निर्देशक हिमाल न्यौपानेले भने ‘अब पोस्ट प्रोडक्सनमा पनि हामी मेहनत गरेर दर्शकलाई राम्रो सिनेमा दिनेछौँ।’

इन्डक्ल्याप कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले फिल्मको कथाले दर्शकको मन छुने विश्वास व्यक्त गरे।

न्यौपानेको डेब्यु निर्देशन रहेको ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ले गाउँदेखि शहर आएका एक सरल व्यक्तिले भोग्नुपरेको अनपेक्षित परिस्थितिबारे केन्द्रित रहेको निर्माण पक्षले जानकारी दिएको छ। फिल्मले आमा र छोराबीचको भावनात्मक कथा बोकेको छ।

चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्।

फिल्ममा विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायतका कलाकार मुख्य भूमिकामा छन्। भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय समेत रहेको छ।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी छन्।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक छन्।

चलचित्रमा प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको सङ्गीत रहने छ। नवीन गुरुङ डीओपी रहेको चलचित्रमा कृष्ण परियारको सिनेमोटोग्राफी रहेको छ।

फिल्म तिजको अवसर पारेर भदौमा प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ। तर मिति भने तोकिएको छैन।

वैशाख ३०, २०८२ मंगलबार १४:२३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।