एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौं : एनएमबि बैंक लिमिटेडको अगुवाइमा दोलखा जिल्लाको विगु गाउँपालिकामा अवस्थित ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा एनएमबि बैंककै एकल लगानीमा नुवाकोटस्थित २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
लाप्चे तामाकोशी आयोजनामा एनएमबि बैंकसँगै नबिल बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र डायनामिक हाइड्रो ईनर्जी प्रालि सम्मिलित छन्।
कुल लागत करिब रु. ७ अर्ब रहेको आयोजनामा रु. ५ अर्ब २५ करोड बराबरको बैंक ऋण लगानी हुनेछ। एनएमबि बैंक यो आयोजनाको अगुवा बैंकका रूपमा रहनेछ।
यसैगरी, एनएमबि बैंक लिमिटेडले एकल ऋण लगानीमा २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको पनि वित्तीय व्यवस्थापन सम्पन्न गरेको हो। आयोजनाको अनुमानित लागत करिब रु. ४३ करोड ४० लाख रहेको छ, जसमध्ये एनएमबि बैंकले रु. ३४ करोड ऋण लगानी गर्नेछ।
दुवै आयोजनाको सन्दर्भमा आयोजित सम्झौता कार्यक्रममा एनएमबि बैंक लिमिटेडको तर्फबाट श्री दिनेश दुलाल, चिफ- सस्टेनेबल एनर्जी बैंकिङ र डायनामिक हाइड्रो ईनर्जी प्रा. लि.का अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौतामा हस्ताक्षर गरे।
ऋण सम्झौता आदानप्रदान भने एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरे र कम्पनीका अध्यक्ष कार्कीबीच सम्पन्न भयो।
कार्यक्रममा सीईओ घिमिरेले एनएमबि बैंकले हाइड्रोपावर आयोजना छान्ने क्रममा प्राविधिक, वातावरणीय तथा जोखिमका पक्षहरूमा सूक्ष्म विश्लेषण गरी आवश्यक समाधानसहित ऋण व्यवस्थापन गर्ने गरेको जानकारी दिए।
त्यस्तै, अध्यक्ष कार्कीले एनएमबि बैंकसँग यस आयोजनासहित आठ वटा जलविद्युत परियोजनामा ऋण उपभोग गरिरहेको बताउँदै समयमै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाए।
एनएमबि बैंक लिमिटेडले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ।
वैशाख ३०, २०८२ मंगलबार ११:३४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।