दुबईबाट फर्केर सुनसरीमा च्याउ खेती, वार्षिक १८ लाख बचत

धरान : तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका-९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरिरहेका छन्।
दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उनी अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहेका छन्। अजितले दुबईमा काम गर्दा महिनाको रु ३५-४० हजार कमाउँथे। त्यो पैसाले खासै जीवन चलाउन सजिलो भने थिएन।
‘आफूलाई खाना खर्च अनि घरखर्च पठाउँदै सकिन्थ्यो। बचत त के गर्नु र कहिलेकाहीँ त ऋणै लाग्थ्यो,’ उनी भन्छन्, ‘गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनभित्र एउटा आँट र अनुभव भने थियो। अब विदेश होइन, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती थालेँ।’
सुरुका दिनमा दुःख र चुनौती भए पनि अहिले उनको व्यवसायले फन्को मारेको छ। २०७० सालमा दुईवटा टनेलमा दुई लाख २७ हजार रुपैयाँको लगानीमा सुरू गरेका उनले अहिले १२ जटा टनेलमा च्याउ खेती गरिरहेका छन्।
‘सुरुमा च्याउ बिक्री गर्न बजारको समस्या निकै थियो, उत्पादन हुन्थ्यो तर बिक्रीका लागि बजारको समस्या, प्रविधिको अभाव, सीप नहुनु र रोगको समस्या आयो। तर, तालिम र अनुभवले समस्या पार गरेँ। विस्तारै बिक्रीका लागि बजारको समस्या पनि हट्यो, अहिले सबै राम्रो छ’, उनी थप्छन्।
१२ टनेलबाट बेमौसममा पनि दिनहुँ करिब तीन सय केजी बढी च्याउ उत्पादन हुने गरेको छ भने सिजनमा छ सय केजीसम्म च्याउ उत्पादन हुन्छ। पुसदेखि फागुनसम्म च्याउ राम्रो उत्पादन हुने सिजन हो।
उनी भन्छन् ‘सिजमा राम्रो उत्पादन भए पनि बजारमा मूल्य भने प्रतिकेजी ६० देखि ८० रुपैयाँ हुन्छ। अहिले भने एक सय ६० देखि एक सय ७० रुपैयाँ प्रतिकेजीसम्ममा बिक्री गरिरहेको छु। च्याउखेतीकै आम्दानीबाट घरखर्च धनेर वर्षमा १८ लाख रुपैयाँ मज्जाले बचत हुन्छ।’
अहिले उत्पादन गरेको च्याउ बिक्रीका लागि बजारको समस्या छैन। व्यापारी आफैँ फार्ममा च्याउ खोज्दै आउँछन् भने केही व्यापारीले हामीलाई दिने च्याउ बाँकी छ कि छैन भनेर फोन गर्छन्।
उनी थप्छन्, ‘व्यापारी फार्ममै च्याउ खरिद गर्न आउँदा हामीले २० देखि ३० रुपैयाँ कम मूल्यमा दिने गरेका छौँ। आफैँले बजार पुर्याउन सके हामीलाई नाफा हुन्छ। धेरैजसो धरान इटहरी चक्रघटी, कालाबन्जरलगायत स्थानीय बजारमा भने म आफैँले पुर्याउने गरेको छु भने विराटनगर, राजविराजलगायत ठाउँबाट व्यापारी आफँै लिन आउने गरेका छन्।’
अहिले उनले टनेलमा दुई जना युवालाई रोजगारी दिएका छन् भने बाँकी परिवारलाई पनि यही च्याउखेतीमा रोजगारी मिलेको छ।
परदेशको कमाइ परदेशमै सकिन्छ। तर केही व्यापार गर्दा सिकेर गरियो भने आम्दानी मनग्य भएको उनको भनाइ छ।
च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता पर्छ भने सधैँ एकनासको व्यापार नहुने उनको अनुभव छ। तर, च्याउखेती कम जग्गा र थोरै लगानीमा पनि राम्रै आम्दानी गर्न सकिने उनी बताउँछन्।
च्याउखेतीका लागि विशेषगरी पराल र चुन आवश्यक पर्छ। त्यसबाहेक बाँस र खरले छाएको टहरासँगै प्लाष्टिक र झुल पनि चाहिन्छ। च्याउखेतीमा चार–पाँच दिन मज्जाले खटेर काम गरियो भने एक महिनासम्म ढुक्क हुन्छ।
उनले अहिले कन्य जातको च्याउखेती गरिरहेका छन्। यसमा विषादीको प्रयोग नगरी उत्पादन गरिने भएकाले स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ अनि बजारमा यसको माग पनि बढ्दो रहेको भुजेल बताउँछन्।
वैशाख ३०, २०८२ मंगलबार १०:५८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।