टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०८२ सम्पन्न, जावलाखेल ओरेटर्स विजेता

काठमाडौं : डीएभी टोस्टमास्टर्स क्लब र टोखा टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०८२ डीएभी कलेज, जवालाखेलमा सम्पन्न भएको छ।
लुगाज क्लोथिङ, स्किल स्क्वायर, ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्स, लहाना लन्चबक्स र तारा फुड्सको सहकार्य तथा डीएभी स्पोर्ट्स एन्ड इभेन्ट क्लब र मिडिया एन्ड प्रमोशन क्लबको सहयोगमा सम्पन्न प्रतियोगितामा ८ वटा टोस्टमास्टर्स क्लबहरू सहभागी थिए।
दिनभर चलेको प्रतिस्पर्धामा खेलाडीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्नुका साथै टोस्टमास्टर्स समुदायभित्रको सहकार्य, मित्रता र आत्मीयता झल्काएका थिए।
प्रतियोगितामा जावलाखेल ओरेटर्स टोस्टमास्टर्स क्लब विजेता बनेको छ भने अग्नि टोस्टमास्टर्स क्लबको टिम ‘अग्नि स्कर्पियन’ उपविजेता रहन सफल भएको छ। विजयी टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।
व्यक्तिगत विधातर्फ मोस्ट भ्यालुएबल पुरुष खेलाडीको उपाधि टिम रुस्लानका पृथम श्रेष्ठ जित्दा महिला खेलाडीतर्फ ओजश्वी तिमिल्सिनाले जितिन्। सर्वोत्कृष्ट गोलकिपर दत्ता पनेरु र सर्वाधिक गोलकर्तामा टिम काठमाडौं नाइट्सबाट नवदिप खत्री घोषित भए।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई लुगाज क्लोथिङ र ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्सले विशेष ट्रफी तथा उपहार प्रदान गरी सम्मान गरेको थियो।
पुरस्कार वितरण समारोहमा डीएभी कलेजका संयोजक माधव अधिकारी, डिभिजन बी डाइरेक्टर निराजन श्रेष्ठ तथा स्किल स्क्वायरका प्रबन्ध निर्देशक निराज प्रधानको उपस्थिति रहेको थियो।
वैशाख ३०, २०८२ मंगलबार १०:४०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।