१९ महिनापछि गाजाबाट मुक्त अमेरिकी-इजरायली नागरिक एडन अलेक्ज्याण्डर परिवारसँग पुनर्मिलन

एजेन्सी : अक्टोबर २०२३ देखि गाजामा हमासद्वारा बन्धक बनाइएका अमेरिकी–इजरायली नागरिक एडन अलेक्ज्याण्डर १९ महिनापछि मुक्त भई आफ्ना परिवारसँग पुनर्मिलन भएका छन्।
अलेक्ज्याण्डर सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका बेला गाजा सीमामा तैनाथ एक विशेष सैन्य एकाइमा कार्यरत थिए। उनी इजरायलको तेल अभिभमा जन्मिए पनि हुर्काइ अमेरिकाको न्यु जर्सीमा भएको हो।
सोमबार, इजरायली सेनाले गाजामा केही घण्टाको लागि सैन्य कारबाही रोक्दै अलेक्ज्याण्डरको सुरक्षित रिहाइ सुनिश्चित गरेको जानकारी दिएको छ।
हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार अलेक्ज्याण्डरको रिहाइ सम्भावित नयाँ युद्धविराम सम्झौताको संकेतस्वरूप गरिएको हो, जुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमणको पूर्वसन्ध्यामा भएको हो।
हमासद्वारा हिरासतमा रहेका अन्तिम जीवित अमेरिकी नागरिकको रूपमा अलेक्ज्याण्डर चिनिएका थिए। राष्ट्रपति ट्रम्पले रिहाइमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिँदै अलेक्ज्याण्डरको परिवारलाई बधाई दिएका छन्।
हमासले यसअघि अलेक्ज्याण्डरको रिहाइ मानवीय सहायता गाजामा प्रवेश गराउने मार्ग खोल्ने उद्देश्यसहित गरिएको जनाएको थियो। इजरायलले पछिल्ला ७० दिनदेखि गाजामा खाद्य, औषधि र अन्य मानवीय सामग्रीको आपूर्ति रोकेको छ।
सहायता एजेन्सीहरूले इजरायलको यो कदमलाई ‘भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्नु’ भन्दै युद्ध अपराधको संज्ञा दिएका छन्।
मार्चको मध्यदेखि इजरायली सेनाले गाजामा फेरि तीव्र बमबारी र सैन्य कारबाही थालेको छ।
वैशाख ३०, २०८२ मंगलबार ०८:५९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।