लमजुङमा विद्युत् उत्पादन बढेन

लमजुङ : वर्षा सुरू भइसक्दा पनि लमजुङमा विद्युत् उत्पादन बढ्न सकेको छैन। हिउँ पर्याप्त मात्रामा नपग्लनु र मर्स्याङ्दी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पानीको सतह नबढ्नुका कारण गत मङ्सिरदेखि घटेको उत्पादनले गति लिन नसकेको हो।
जिल्लामा सञ्चालितमध्ये प्रमुख मानिने ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनामा पनि उत्पादन घटिरहेको छ। बेँसीसहर नगरपालिका-१ दलालस्थित यो आयोजनामा गत मङ्सिरदेखि उत्पादन २४ मेगावाटमा सीमित भएको थियो।
मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार, अहिले उत्पादन केही बढेर ३२ मेगावाट हाराहारी पुगेको छ। गत वर्ष यही समयमा भने ४० देखि ५० मेगावाटसम्म बिजुली उत्पादन हुने गरेको उनले जानकारी दिए।
बस्नेतले भने, ‘विगतका वर्षमाभन्दा यस वर्ष विद्युत् उत्पादन वृद्धिमा ढिलाइ भएको छ। हिउँ नपग्लनु र नदीमा पानीको सतह कम हुनुले आवश्यक पानी अभाव हुँदा उत्पादन पुरानो अवस्थामा फर्किन सकेको छैन।’
मध्यमर्स्याङ्दी आयोजना सन् २००८ मा रु २७ अर्ब २० करोडको लागतमा निर्माण सम्पन्न भएको थियो।
जिल्लाको दोर्दी गाउँपालिका-६ ढोडेनीस्थित पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत् उत्पादन बढ्न सकेको छैन। यस आयोजनाबाट हाल १४ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको आयोजना कार्यालयले जनाएको छ।
त्यस्तै, मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट पनि अहिले ३० देखि ३२ मेगावाट हाराहारी मात्र विद्युत् उत्पादन भइरहेको छ। आयोजनाका इञ्जिनियर कर्ण अधिकारीले जानकारी दिए।
उनले भने, ‘यस वर्ष विद्युत् उत्पादन घट्दा २५ मेगावाटको एउटा टरर्वाइन मात्र चलाएका थियौँ, अहिले दुई वटा चलाएका छौँ, तर नदीमा पर्याप्त पानी नभएकाले पूरै क्षमतामा चल्न सकेको छैन।’
त्यसैगरी, ३० मेगावाटको ङादी जलविद्युत् आयोजना, दोर्दी करिडोरमा रहेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् (हिमालयन पावर पार्टनर लिमिटेड), दोर्दी गाउँपालिका-६ ढोडेनीमा रहेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ (लिवर्टी इनर्जी हाइड्रोपावर), चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजनाबाट पनि पूर्ण क्षमतामा उत्पादन हुन सकेको छैन।
जिल्लामा सञ्चालित करिब १७ वटा जलविद्युत् आयोजनाबाट झन्डै तीन सय मेगावाट विद्युत् उत्पादन क्षमता रहे पनि नदीमा पानीको सतह नबढ्दा हाल त्यसको आधा हाराहारी पनि उत्पादन हुन नसकेको बताइएको छ।
वैशाख ३०, २०८२ मंगलबार ०७:५३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।