बिहेको खाजामा मिठाई खाँदा जन्तीसहित एक सय बढी बिरामी

बिहेको खाजामा मिठाई खाँदा जन्तीसहित एक सय बढी बिरामी

जनकपुर : धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी भएका छन्।   
   
जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धीबाट गए राति ठेरा कचुरीमा पुगेको जन्ती स्वयंवर सकिए पछि खाजामा बुनियाँ, रसबरीलगायतका अनिय मिष्टान्न खाएको केही समय पछि पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले बताए।   
   
उपचारका लागि ६० जनाभन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए। केही भने उपचारपश्चात् निको भएर घर फर्किसकेका छन्।   
   
“खाजामै पोइजन भएर बिरामी परेको हाम्रो अनुमान छ। घटनास्थल पुगेर हामीले खाजाको नमुना ल्याएका छौँ। परीक्षणका लागि प्रयोगशालामा पठाएको र परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ,” यादवले भने।

वैशाख २९, २०८२ सोमबार १८:५७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।