सडक अवरुद्ध भएपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ सेवा बन्द

चितवन : चितवनको चौकीडाँडा–कबिलासडाँडामा सञ्चालित प्याराग्लाइडिङ सेवा सडक अवरुद्ध भएपछि अस्थायी रूपमा बन्द गरिएको छ।
भरतपुर महानगरपालिका–२९ अन्तर्गत चौकीडाँडादेखि कबिलासडाँडासम्म सञ्चालन हुँदै आएको साहसिक खेल ‘प्याराग्लाइडिङ’ हालको लागि बन्द गरिएको हो।
हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजय घलेका अनुसार दुई वर्षअघि सुरु गरिएको यो सेवा सडक समस्याका कारण सुरु भएको तीन महिनामै बन्द भएको थियो।
अहिले पुनः उडान सञ्चालनमा ल्याइए पनि सडक पहुँच बिग्रिएपछि पर्यटक आवागमन घटेको र त्यसले व्यवसाय प्रभावित पारेपछि सेवा फेरि बन्द गरिएको हो।
“स्टेसनसम्म पुग्ने सडक निर्माणाधीन छ,” घलेले बताए, “त्यस क्षेत्रमा होटल र अन्य पूर्वाधार निर्माण भइरहेकाले सडक पुर्णरूपमा खुल्नासाथ, सम्भवतः आगामी दसैँदेखि सेवा पुनः सञ्चालन गर्ने तयारी छ।"
३० करोडको लगानीमा स्थापना गरिएको यो परियोजनामा १२ वटा प्याराग्लाइडिङ युनिटको व्यवस्था गरिएको छ।
चौकीडाँडाको १,०५० मिटर उचाइ र कबिलासडाँडाको ५८० मिटर उचाइबाट ‘टेकअफ’ हुने गरी त्रिशूली नदी किनारमा अवतरणको व्यवस्था मिलाइएको छ।
उडान अवधि २० देखि ३० मिनेटसम्मको हुने र देवघाट क्षेत्रको दृश्यावलोकनसहित रमणीय अनुभव प्राप्त हुने जनाइएको छ।
स्थानीयको माग-प्याराग्लाइडिङ पुनः सञ्चालन होस् भरतपुर–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले प्याराग्लाइडिङले स्थानीय क्षेत्रको पर्यटन, व्यापार, रोजगार र जमिनको मूल्यमा सकारात्मक असर पारेको उल्लेख गर्दै सेवा यथाशक्य चाँडो पुनः सञ्चालन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।
“स्थानीय सरकार पर्यटन प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्न तयार छ,” उनले बताए। भरतपुर महानगरले घोषणा गरेको ‘भ्रमण वर्ष–२०२४’ लाई सफल बनाउन यो परियोजना महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
वैशाख २९, २०८२ सोमबार १७:१४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।