प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित, आरोहणको ‘समिट बिन्डो’ गुम्ने सम्भावना

काठमाडौँ : वसन्त ऋतुको सगरमाथा आरोहण याम चलिरहँदा प्रतिकूल मौसमका कारण सगरमाथा र कञ्चनजङ्घा आरोहण प्रभावित भएको छ। तीव्र गतिको हावाका कारण सोमवार आरोहीहरू अघि बढ्न नसकेको पर्यटन विभागले जनाएको छ।
विभागका निर्देशक हिमाल गौतमका अनुसार तीव्र हावाका कारण आजका लागि तय गरिएका आरोहणहरू स्थगित भएका छन्। धेरैजसो आरोहीहरू सुरक्षित स्थलतर्फ फर्किएका छन् भने अक्सिजन प्रशस्त भएका आरोहीहरू दोस्रो र तेस्रो शिविरमा प्रतीक्षामा छन्।
सगरमाथाको आधार शिविरमा खटिएका विभागका प्रतिनिधि पासाङ भोटेका अनुसार मे १५ को आरोहण योजना रद्द भइसकेको छ, मे १४ को सम्भावनासमेत न्यून भएको छ। “चौथो शिविरमा पुगेका आरोहीहरू सोमबार र मंगलबार सबैजना आधार शिविर फर्किनेछन्,” उनले बताए।
विभागले मौसम सुधार नहुने अनुमान गर्दै कम्तीमा आगामी तीनदेखि चार दिनसम्म सगरमाथा आरोहण सम्भव नहुने जनाएको छ। यदि मौसम अनुकूल भएमा मे १८ बाट आरोहण पुनः सुरु हुन सक्ने सम्भावना रहेको छ।
अहिलेसम्म केही मात्र सगरमाथा चढे
हालसम्म सगरमाथामा डोरी टाँग्ने टोलीसहित चार समूहका आरोहीले मात्र सफल आरोहण गरेका छन्। मे १० मा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले, मे ११ मा बेलायतका मिचेल लियोनार्ड डाक्रे, नेपालका ग्याल्जे शेर्पा, फुरी शेर्पा र आङ पेम्बा शेर्पा तथा इक्वेडरका पेट्रिसियो एरेभालोले सगरमाथा आरोहण गरेका थिए। सोही दिन दावा फुञ्जो शेर्पाले लोहोत्से पनि आरोहण गरे।
मकालु हिमालमा पनि पाँच नेपाली, तीन चिनियाँ र एक किर्गिस्तानी आरोहीले सफल आरोहण गरेको पर्यटन विभागको फिल्ड कार्यालयले जनाएको छ।
यो याममा १,१२७ जनाको अनुमति
वसन्त यामको सगरमाथा आरोहण वैशाख २६ देखि सुरु भएको हो। एटके एक्सपिडिसन कम्पनीको सात सदस्यीय शेर्पा टोलीले सगरमाथाको चुचुरोमा डोरी टाँगेर बाटो खुला गरेका थिए।
यो याममा सगरमाथासहित २६ वटा हिमालका लागि कुल १,१२७ जना (२४० महिला र ८८७ पुरुष) आरोहीले अनुमति लिएका छन्। सगरमाथा मात्रै चढ्न ४५ समूहका ४५६ जना आरोही (८४ महिला, ३७२ पुरुष) सहभागी छन्।
वैशाख २९, २०८२ सोमबार १६:२०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।