
विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिए

काठमाडौं : भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले आज सोमवार टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।
कोहलीले एक महिनादेखि नै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सँग संन्यासको विषयमा छलफल गरिरहेका थिए। बोर्डले उनलाई आगामी इंग्ल्यान्डविरुद्धको सिरिजका लागि निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो, तर कोहलीले आफ्नो निर्णयमा अडिग रहेका छन्।
- १४ वर्षको टेस्ट करिअरमा १२३ टेस्ट म्याच खेलेका छन्
- ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्
- ३० शतक प्रहार गरेका छन्
- ६८ म्याचमा भारतको कप्तानी गरेका थिए
कोहलीको संन्यासपछि भारतीय टोलीले आगामी इंग्ल्यान्डविरुद्धको पाँच म्याचको सिरिजमा केएल राहुल, शुभमन गिल, यशस्वी जैसवाल र ऋषभ पन्त जस्ता युवा खेलाडीमा भर पर्नुपर्ने देखिन्छ। यो सिरिज जुन २० देखि सुरु हुँदैछ।
यसअघि नै रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यास लिएका थिए भने रविचन्द्रन अश्विनले पनि अस्ट्रेलियाविरुद्धको सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट छाडेका थिए।
कोहलीले यसअघि नै टी-२० बाट संन्यास लिएका थिए र अब उनी भारतका लागि एकदिवसीय खेलमा मात्र उपलब्ध हुनेछन्।
पछिल्लो समय कोहलीको टेस्ट प्रदर्शन निराशाजनक रहेको थियो।
२०२४-२५ मा अस्ट्रेलियामा भएको बार्डर-गावास्कर ट्रफीमा उनले पाँच टेस्टमा एक शतकसहित जम्मा १९० रन मात्र बनाएका थिए।
न्यूजिल्यान्डविरुद्ध भएको घरेलु सिरिजमा पनि उनको प्रदर्शन सन्तोषजनक थिएन।
वैशाख २९, २०८२ सोमबार १४:५४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।