१ अर्ब कर छलीको अभियोगमा ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध मुद्दा दायर

काठमाडौं : ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवले ठूलो रकम कर छली गरेको देखिएको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।
१ अर्ब २१ करोड रुपैयाँ बराबरको कर छली गरेको अभियोगमा विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार देवले वस्तु तथा सेवा हस्तान्तरण नगरी केवल बिल काट्ने, बैंकमार्फत भुक्तानी नगर्ने, र बिजक सिलसिलेवार जारी नगर्ने जस्ता कार्यमार्फत ठूलो परिमाणमा कर छल गरेका छन्।
राजस्व अनुसन्धान विभागकी प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठका अनुसार देवले मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरसम्बन्धी झुटा विवरण बुझाएको, विवरण नै दाखिला नगरेको, र मालसामान खरिदको स्रोत प्रमाणित गर्न नसकेको पाइएको छ।
विभागले मूल्य अभिवृद्धि करतर्फ ४५ करोड ८० लाख र आयकरतर्फ १४ करोड ६५ लाख बराबरको कर छली भएको दाबी गर्दै कुल १ अर्ब २० करोड ९२ लाख रूपैयाँ असुलसहित कैद सजायको मागदाबीसहित अभियोगपत्र पेस गरेको हो।
मुद्दा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार दफा २०(६), दफा २(छ)(१), र दफा २३ अन्तर्गत दायर गरिएको विभागले जानकारी दिएको छ।
वैशाख २९, २०८२ सोमबार १४:२२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।