मुगुको पाटन क्षेत्रमा विना अनुमति यार्सा संकलन गर्नेको लर्को

मुगु : मुगु जिल्लाको मुगुमकामारोङ्ख गाउँपालिकाअन्तर्गत पर्ने पाटन क्षेत्रमा अनुमति नलिइ यार्सागुम्बा संकलन गर्नेको भीड बढेको छ।
गाउँपालिकाको निर्णय अनुसार हरेक वर्ष जेठ १० गतेपछि मात्र यार्सा संकलनको लागि पाटन प्रवेशको अनुमति दिने गरिन्छ। तर यसपालि त्यो मिति अघिनै सयौं संकलक पाटन क्षेत्रमा प्रवेश गरिरहेका छन्।
मुगुमकामारोङ्ख–१ का स्थानीय कार्मा लामाका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति, स्थानीय र बाह्य जिल्ला दुवैबाट, रातारात पाटन प्रवेश गरी यार्सा संकलनमा लागेका छन्।
अवैध प्रवेशबारे सूचना आएपछि गाउँपालिका, सुरक्षा निकाय र सरोकारवालाबीच बैठक बसेको छ। बैठकमा नियम उल्लंघन गर्नेहरूमाथि कडा जरिवाना र कानुनी कारबाहीको तयारी गरिएको गाउँपालिकाले जनाएको छ।
गएको वर्ष यार्सा संकलनमार्फत गाउँपालिकाले ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। यस वर्ष त्योभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष छिरिङ लामाले बताए।
तर पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कम हुँदै गएको स्थानीयहरूको भनाइ छ। यार्साको संरक्षण र व्यवस्थापनमा चुनौती थपिँदै जाँदा पालिकाले नियम पालना गराउन थप कडाइ गर्ने चेतावनी दिएको छ।
यार्सा संकलनलाई व्यवस्थित गर्न गाउँपालिकाले अनुमति प्रणाली कडाइका साथ लागू गर्ने जनाएको छ।
वैशाख २९, २०८२ सोमबार ११:५८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।