वडाले ज्येष्ठ नागरिकलाई लग्यो ‘चन्द्रागिरि टुर’, ज्येष्ठ नागरिक भन्छन्- मन हलुङ्गो भयो

वडाले ज्येष्ठ नागरिकलाई लग्यो ‘चन्द्रागिरि टुर’, ज्येष्ठ नागरिक भन्छन्- मन हलुङ्गो भयो

काठमाडौं : ‘उमेर ढल्किँदै गयो, घुमफिरको इच्छा मनमै थामियो’ भन्दै आएकी बालाजुकी ७२ वर्षीया लक्ष्मीदेवी घिमिरेको अनुहारमा सोमबार बिहान मुस्कान छाएको थियो। कारण थियो- काठमाडौं महानगरपालिका-२६ ले आयोजना गरेको ज्येष्ठ नागरिक तीर्थयात्रा।

‘उमेर पो पाको भयो त, मन त हुन्छ नि,’  घिमिरेले उत्साहित स्वरमा भनिन्, ‘वडाले हाम्रो पनि कुरा बुझ्यो । मलाई त हर्ष लागेको छ ।’ उनी बसबाट बाहिर हेरेर बोर्डमा लेखेका अक्षर पढ्दै अरुलाई सुनाउँदै थिइन्। उता छेउमै बसिरहेकी अर्की आमाले भनिन्, ‘हाम्रो त ९ वर्षमै बिहे, के पढ्नु?’ जवाफमा घिमिरे मुस्काउँदै भन्न थालिन्, ‘पहिलो किताब पढेको, त्यहाँ ए, बि, सि, डी, एम, जेड पनि पढेको भए त अहिले राम्रो हुने रहेछ। नेपाली अक्षर मात्रै पढियो।’

बसभित्रका यस्तै संवादले यात्रालाई अझ रमाइलो बनाइदिएको थियो। चन्द्रागिरीको रमणीय वातावरणमा पुग्दा सबैले भालेश्वर महादेवको दर्शन गरे, हर्षले मन हलुङ्गो बनाए।

सामाखुशीका ७३ वर्षीय केदारनाथ दाहालले भने, ‘हामी एउटै ठाउँमा बस्छौँ, तर बोलचाल हुँदैनथ्यो। आज यहाँ छिमेकीसँग खुलेर कुरा गर्न पाइयो, यो त सामाजिक सद्भावकै राम्रो अभ्यास हो।’

पीएचडी गरेका दाहालले आफ्नो अध्ययनको अनुभव पनि जोड्दै भने, ‘२०५४ सालमा संघीयतामाथि पीएचडी गर्दा जे पढियो, आज वडाको काम देखेर त्यो बुझेँ। स्थानीय तहले नागरिकलाई यति माया गर्न थालेपछि त आफू सुरक्षित महसुस हुन्छ।’

त्यस दिन चन्द्रागिरी पुग्ने ८ मध्ये ५ जना ज्येष्ठ नागरिक पहिलोपटक त्यहाँ पुगेका थिए। ती सबैको अनुहारमा अनौठो उत्साह देखिन्थ्यो। दर्शनपछि वडा अध्यक्ष ख्यामराज तिवारीले सबैलाई दोसल्ला ओढाएर सम्मान गरे।

९१ वर्षीय ज्ञानुगोपाल प्रधानले प्रतिक्रिया दिँदै भने, ‘हामी आफैंसँगै उमेर पुगेकासँग खुलेर कुरा गर्यौ, रमाइलो साट्यौँ। यस्ता कार्यक्रमले मनै हलुङ्गो हुन्छ। वडाले यस्ता काम गर्न अझ हौसला पाओस्।’

सबैभन्दा पाको उमेरकी ९२ वर्षीया कान्छी मगरलाई दोसल्ला ओढाएर सम्मान गरेर कार्यक्रमको सुरुवात गरिएको थियो। त्यसपछि ९१ वर्षीय प्रधान, ८८ वर्षीय ललितसिंह रायमाझी, ८८ कै मचाय महर्जनसहित २१९ जना ज्येष्ठ नागरिक सम्मानित भए।

जो केवलकार चढ्न सक्ने अवस्थामा थिएनन्, उनीहरूलाई मन्दिरसम्म पुर्याउन हायस गाडीको व्यवस्था गरिएको थियो। बिहानको खाजा, दिउँसोको खाना र बेलुकाको खाजासमेत व्यवस्थित गरिएको थियो।

यात्राभर ज्येष्ठ नागरिकले कविता सुनाए, भजन गाए, मादल बजाए, नाचे र योग अभ्यास समेत गरे।

वैशाख २९, २०८२ सोमबार ११:१४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।