बौद्धस्थित ल्हाखाङ गुम्बामा पुगेर राष्ट्रपतिले गरे बुद्धको अस्तुधातु दर्शन

बौद्धस्थित ल्हाखाङ गुम्बामा पुगेर राष्ट्रपतिले गरे बुद्धको अस्तुधातु दर्शन

काठमाडौं : पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेलले सोमबार बिहान बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा पुगेर गौतम बुद्धको पूजा-आराधना गरेका छन्।

राष्ट्रपति दम्पतीले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै त्यहाँ प्रदर्शनीका लागि राखिएको बुद्धको अस्तुधातु पनि दर्शन गरे।

बुद्धजयन्तीको अवसरमा आज बिहानैदेखि बौद्ध क्षेत्र भक्तजनहरूले भरिएको थियो। श्रद्धालुहरू बुद्धको अस्तुधातु दर्शनका लागि लामबद्ध थिए। विशेषगरी आजको दिनमा काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तुधातु पनि दर्शनका लागि सार्वजनिक गरिएको छ।

यसै सन्दर्भमा बुद्धको प्राचीन मूर्तिसहित भव्य शोभायात्रा निकालिने तयारी गरिएको छ। ‘मेरो जन्म अरूको लागि’ भन्ने मूल नारासहित सुरु गरिने विश्व शान्ति तथा मानव कल्याण यात्राले बुद्धको असीमित ज्ञान, करुणा र शान्तिको सन्देश संसारभर पुर्याउने लक्ष्य राखिएको घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले जानकारी दिए।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भू, नमो बुद्धलगायत स्थानमा विशेष भव्यताका साथ मनाइने परम्परा रहिआएको छ। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको यही पवित्र तिथिमा बुद्धको शिक्षालाई स्मरण गर्दै देशैभर विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ।

वैशाख २९, २०८२ सोमबार १०:२८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।