बुद्ध जयन्तीको शुभकामना दिँदै प्रचण्डले भने- बुद्ध शान्तिपूर्ण क्रान्तिको प्रेरणाका स्रोत

बुद्ध जयन्तीको शुभकामना दिँदै प्रचण्डले भने- बुद्ध शान्तिपूर्ण क्रान्तिको प्रेरणाका स्रोत
फाइल फोटो

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको विचार र दर्शनले न्याय, समानता, समावेशिता र सामाजिक रूपान्तरणका लागि मार्गनिर्देशन गर्ने बताउँदै बुद्धलाई शान्तिपूर्ण क्रान्तिको प्रेरणाका स्रोतका रूपमा व्याख्या गरेका छन्।

शान्तिका अग्रदूत र बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९ औँ जन्मजयन्तीको अवसरमा सोमबार शुभकामना दिँदै अध्यक्ष प्रचण्डले बुद्ध जयन्ती केवल धार्मिक वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थिति विरुद्धको विद्रोह र परिवर्तनको ऐतिहासिक प्रेरणादायी क्षण भएको उल्लेख गरेका छन्।

उनले भने- ‘बुद्धको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ। क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, बरु एक-अर्काका परिपूरक हुन् भन्ने गहिरो पाठ बुद्धको दर्शनबाट प्राप्त हुन्छ।’

प्रचण्डले बहुजातीय, बहुभाषिक र सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता कायम गर्न सबैको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको पनि औँल्याएका छन्।

बुद्धको शिक्षाले आजको समयको राजनीतिक, सामाजिक र सांस्कृतिक सन्दर्भमा अझ सान्दर्भिकता राख्ने उल्लेख गर्दै उनले सबै नेपालीमा मानवता, सहिष्णुता र सामाजिक न्यायको भावना बलियो होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

वैशाख २९, २०८२ सोमबार १०:१५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।