उभौली पर्व आपसी सद्भाव र एकता प्रवर्द्धन गर्ने सांस्कृतिक धरोहर : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायलाई शुभकामना व्यक्त गरेका छन्। आज सार्वजनिक शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दाजुभाइ तथा दिदीबहिनीप्रति सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
राष्ट्रपतिले उभौलीजस्ता सांस्कृतिक पर्वहरूले नेपालको विविध सांस्कृतिक सम्पदाको सम्मान र संरक्षण गर्न सहयोग पुग्ने उल्लेख गर्दै भने- ‘यस्ता पर्वले विभिन्न जातजाति र समुदायबीच समानता, सहअस्तित्व, आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्छन्।’
वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने उभौली पर्व जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँग जोडिएको छ। यो पर्वलाई जनावर र पन्छीहरू बेँसीबाट लेकतर्फ सर्ने प्राकृतिक समयसँग पनि जोडेर मनाइन्छ।
किराँत समुदायले बाली लगाउने मौसमको सुरुआतको रुपमा उभौली पर्वलाई महत्व दिने गरेका छन्। यस अवसरमा पितृ र प्रकृति पूजासहित भूमि र बालीनालीको संरक्षणका लागि पूजा गरिन्छ।
परम्परागत नाचगान, सांस्कृतिक पहिरन, पारम्परिक परिकार र आपसी शुभकामना आदान–प्रदानमार्फत पर्वलाई उत्सवमय वातावरणमा मनाउने परम्परा रहेको छ।
वैशाख २९, २०८२ सोमबार १०:०१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।