नीलगिरिको काखमा चम्किरहेको ‘ढुम्बाताल’

मुस्ताङ : नीलगिरि हिमालको फेदमा रहेको ढुम्बाताल पछिल्लो समय पर्यटकहरूका लागि प्रमुख गन्तव्य बन्दै गएको छ। समुद्री सतहदेखि २,८३० मिटरको उचाइमा रहेको यो ताल अद्भुत प्राकृतिक सौन्दर्यता, शान्त वातावरण र धार्मिक-सांस्कृतिक पृष्ठभूमिका कारण विशेष आकर्षणको केन्द्र बनेको छ।
जोमसोम-कोरला राष्ट्रिय राजमार्गबाट तीन किलोमिटर दूरीमा रहेको ढुम्बातालसम्म सडक विस्तार भएपछि यहाँ आउने पर्यटकहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। मुक्तिनाथको दर्शन सकेर वा उपल्लो मुस्ताङको कोरला पुगेका पर्यटकहरू ढुम्बाताल नछुटाई फर्किन्छन्। गण्डकी प्रदेश सरकारले तालसम्म पुग्ने घरपझोङ रिङरोड सडक स्तरोन्नति गरेपछि आवागमन झन् सहज भएको छ।
तालको छेउमै रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी सनी थकालीका अनुसार, दसैं, तिहार र औंसीजस्ता विशेष अवसरहरूमा दैनिक २०० देखि ५०० जना पर्यटक ढुम्बाताल पुग्छन्। अन्य समयहरूमा पनि औसतमा दैनिक ४०-५० पर्यटकले तालको अवलोकन गर्ने गरेका छन्। उनका अनुसार सडक सुविधासँगै पर्यटकहरूको आगमन वर्षेनि बढ्दो छ।
ढुम्बाताललाई पछिल्लो समय ‘पान बुट्टे ताल’ पनि भनिन्छ। माथिबाट हेर्दा तालको आकृति प्रेमचिह्न (हृदय) जस्तै देखिने भएकाले यस्तो नाम दिइएको हो। करिब १३० मिटर क्षेत्रफलमा फैलिएको यो नीलो ताल जङ्गलको फेदमा छ, जहाँ नीलगिरि हिमालको मुहानबाट आउने पानी जमेर ताल बनेको बताइन्छ।
ढुम्बातालबाट निलगिरि, धौलागिरि हिमाललगायत आसपासका डाँडाकाँडा मनमोहक देखिन्छन्। तालबाट जोमसोम, मार्फा, स्याङ, ठिनी, सम्ले जस्ता गाउँहरूका दृश्य, स्याउबारी तथा उवाखेतीले थप आकर्षण थप्ने गर्छन्।
काठमाडौँबाट ताल हेर्न आइपुगेकी सोनी अवाल भन्छिन्, ‘यो स्थान एकदमै शान्त र रमणीय छ। अरू तालहरू जस्तै कोलाहल छैन, यहाँ आइपुग्दा मानौं अर्को दुनियाँमा छु जस्तो लाग्यो।’
ढुम्बाताल नजिकै रहेको कुछ्प तेरङ्गा गुम्बासँग गहिरो ऐतिहासिक र धार्मिक सम्बन्ध पनि छ। किंवदन्ती अनुसार, ठिनीका लामा उर्गेन पाल्साङ तिब्बत गएर बौद्ध शिक्षामा दीक्षित भएपछि गुरुबाट पाँच रत्न उपहारस्वरूप पाए। ती रत्नहरू नीलगिरि, धौलागिरि, कालीगण्डकी र ढुम्बाताल देखिने ठाउँमा प्रतिस्थापन गर्न निर्देशन दिइएको थियो। त्यसै अनुरूप गुम्बा ढुम्बातालको छेउमा स्थापना गरिएको मानिन्छ।
बौद्ध धर्मको निङ्मा शाखासँग सम्बन्धित यस गुम्बामा विशेष धार्मिक पूजापाठ गरिने गरिन्छ, जसमा ढुम्बातालको पानी पनि चढाइन्छ। गुम्बा ढुम्बाताल कुछ्प तेर्ङ्गा गुम्बा व्यवस्थापन समितिको स्वामित्वमा रहेको छ भने तालको संरक्षण स्थानीय संरक्षण समितिहरू, एक्याप र सरोकारवालाहरूको सहयोगमा भइरहेको छ।
तालको उत्तरपट्टि रहेको सेतो ढुंगालाई नागदेवताको थान मानिन्छ। यहाँ माछा मार्न प्रतिबन्ध छ भने लोपोन्मुख पानी हाँसहरू माछा खान तालमा आइरहने गर्दछन्।
प्रदेश तथा स्थानीय सरकार, एक्याप, संरक्षण समितिहरूको सहकार्यमा ढुम्बातालमा पूर्वाधार विस्तारमा जोड दिइएको छ। रेलिङसहितको सिँढी बाटो, विश्रामस्थल, हट रुम तथा सूचना मूलक साइनबोर्डहरू स्थापना गरिएको छ, जसले पर्यटकलाई सहजता र जानकारी दुवै प्रदान गरिरहेको छ।
ढुम्बाताल, अब केवल एक ताल मात्र होइन, प्राकृतिक, सांस्कृतिक र धार्मिक अनुभवको संगम हो। यहाँ पुग्ने जोकोहीलाई यसको सौन्दर्यले लोभ्याउँछ।
वैशाख २९, २०८२ सोमबार ०९:५२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।