स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

काठमाडौं : आज २५६९औँ बुद्धजयन्तीको अवसरमा देशभरका बौद्ध स्तूपा, गुम्बा र विहारहरूमा विशेष पूजाआजा तथा विविध कार्यक्रमसहित बुद्धजयन्ती मनाइँदैछ। लुम्बिनीसँगै स्वयम्भूनाथ क्षेत्रमा पनि बिहानैदेखि बौद्धमार्गी र श्रद्धालुको बाक्लो भीड लागेको छ।
विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यमा आज विशेष पूजाआर्चना भइरहेको छ। नेपाल सरकारका उच्चपदस्थ व्यक्ति, बौद्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा विदेशी अतिथिहरूले समेत पूजाआर्चनामा सहभागी हुने कार्यक्रम तय गरिएको छ।
स्वयम्भूनाथ परिसरभित्रको आनन्दकुटी विहारमा बुद्धको पवित्र अस्तुधातु विशेष पूजाआजा तथा सार्वजनिक दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए। यो अस्तुधातु प्रत्येक वर्ष बुद्धजयन्तीकै दिन श्रद्धालुका लागि प्रदर्शन गरिँदै आएको छ।
बिहानदेखि नै पूजा, ध्यान, रक्तदान र प्रसाद वितरणजस्ता कार्यक्रम भइरहेका छन् भने दिउँसो सार्वजनिक बौद्धसभा आयोजना गरिने जनाइएको छ।
वैशाख २९, २०८२ सोमबार ०७:२३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।