‘ऊनको स्वीटर’ ले डुबाइदियो जार, ‘स्वीटर’ले २ करोड छेउछाउ ग्रस कलेक्सन गर्दा ‘जार’को १० लाख

काठमाडौं : फिल्मको गुणस्तर हेर्दा दुवै उस्ता उस्तै नै छन्। एउटामा संगीत र भाव बलियो छ अर्कोमा कथा र सिनेमाटोग्राफी। तर हाइपले ह्वात्तै छोपिदिँदा ‘ऊनको स्वीटर’को अगाडि व्यापारमा जार निकै पछाडि छ। चमत्कार नभए व्यापारिक रूपमा जार डुब्ने पक्का छ।
यी दुवै शुक्रवारबाट प्रदर्शनमा आए। ‘ऊनको स्वीटर’ले दुई दिनमा झन्डै २ करोडको ग्रस कलेक्सन गरिसकेको छ। शुक्रवार र शनिवारको व्यापार कलेक्सन हेर्ने हो भने ‘ऊनको स्वीटर’ले पहिलो सप्ताहान्त (शुक्रवार र शनिवार) सरकारको आधिकारिक बक्स अफिसमा १ करोड ७३ लाख ग्रस कमाइ गरेको छ।
‘जार’को ग्रस कलेक्सन भने निकै कमजोर छ। यस फिल्मले दुई दिनको घरेलु बक्स अफिसमा जम्मा १० लाख ग्रस कलेक्सन गरेको छ। शो संख्या अनि अकुपेन्सीमा पनि ‘ऊनको स्वीटर’ निकै अगाडि छ।
फिल्मको गुणस्तर हेर्ने हो भने जार पनि कमजोर भने छैन। निर्माण टिमले निकै मिहेनत गरेका छन्। कलाकारहरूको पनि जारमा चर्चितै छन्। तर ‘ऊनको स्वीटर’को हाइपका अगाडि दर्शकलाई हलसम्म आकर्षण गर्न सकिरहेको छैन जारले।
‘ऊनको स्वीटर’लाई नवीन चौहान निर्देशन गरेका हुन्। फिल्ममा विपिन कार्की,मिरुना मगर,परीक्षा लिम्बू,विल्सन विक्रम राई,एलेक्स पारस,सुनिल पोखरेल लगायतको मुख्य भूमिका छ। फिल्ममा सुजन चापागाईँ र झुमा लिम्बुको स्वरमा रहेको गीत ‘काफ्ले’पछिल्लो समय चर्चामा छ।
शुक्रवारबाट नै रिलिजमा आएको फिल्म ‘जार’मा सौगात मल्ल,अनुप विक्रम शाही,गीताञ्जली थापा लगायतको मुख्य भूमिका रहेको छ। ‘इन्द्र बहादुर राईको कथामा निर्माण भएको फिल्मलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन्। २ सय वर्ष अगाडिको नेपाली समाजको कथामा निर्माण भएको यो फिल्ममा कलाकारहरूले गजबको काम गरेका छन्।
तर खै किन हो जारको कथाले दर्शकलाई हलसम्म तान्नै सकेको छैन। कतै बाँकी दिनमा पिकअप लिइहाल्छ कि!
वैशाख २८, २०८२ आइतबार २३:३३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।