बुद्ध जयन्तीको पूर्वसन्ध्यामा झकिझकाउ लुम्बिनी
 
                    
                    
                    
                    भैरहवा : दुई हजार ५६९ औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुद्ध जन्मस्थल लुम्बिनी दीपमालिकाले झकिझकाउ भएको छ। वैशाख शुक्ल पूर्णिमाको दिन परेका बुद्ध जयन्तीलाई लक्षित गर्दै लुम्बिनीमा विशेष तयारी गरिएको छ।
मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरीलगायत क्षेत्रहरू रङ्गीबिरङ्गी बत्तीहरूबाट सजिएका छन्। त्यस्तै, विभिन्न बौद्ध स्तूप र विहारहरूलाई आकर्षक रूपमा सजाएर पर्यटक र श्रद्धालुहरूलाई स्वागत गर्न लुम्बिनी तयार भएको छ। लुम्बिनी विकास कोषले सञ्चालन गरेको विशेष सरसफाइ अभियानका कारण सम्पूर्ण क्षेत्र स्वच्छ र व्यवस्थित देखिएको छ।
भोलिको बुद्ध जयन्तीका अवसरमा विशेष पूजा, प्रार्थना, शान्ति ¥याली र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिनेछ। मूल समारोह अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुनेछ, जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए।
देश-विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला हुने अपेक्षा गरिएको छ। शान्तिपूर्ण र सुरक्षित वातावरणमा जयन्ती मनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ। दीप प्रज्वलन कार्यक्रमलाई भव्य बनाउन स्थानीय प्रशासन र लुम्बिनी विकास कोषले सबैलाई सहभागिताको आह्वानसमेत गरेको छ।
लुम्बिनीको सजावट र वातावरणले यहाँ आएका आगन्तुकहरूलाई शान्ति र आन्तरिक आनन्दको अनुभूति गराएको छ। यस वर्षको बुद्ध जयन्तीले विश्वभर शान्ति, सद्भाव र भाइचाराको सन्देश फैलाउने विश्वास गरिएको छ।
वैशाख २८, २०८२ आइतबार २२:०८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    