‘गभर्नर बन्न’ सिफारिस समितिबाट राजीनामा दिए डा. विश्वले

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सिफारिस समितिमा रहेका डा. विश्व पौडेलले राजीनामा दिएका छन्। सत्तारूढ दल नेपाली कांग्रेसले गभर्नरमा प्रस्ताव गरेपछि आइतबार उनले राजीनामा बुझाएका हुन।
डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको कांग्रेस-एमाले शीर्ष नेतृत्व बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको नाम गभर्नरमा सिफारिस गरेका थिए।
यसअघि राष्ट्र बैंक कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन सत्ता गठबन्धनमा सहमति भएको थियो। वैशाख ५ मा भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर कायममुकायम गभर्नर नीलम ढुंगानाले राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले विकल्पका रुपमा डा. पौडेलको नाम अगाडि सारेको हो।
वैशाख २८, २०८२ आइतबार २१:१९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।