सेयर बजार नौ महिनामै १ हजार २ सय १३ अर्ब बढ्यो, , बजार पूँजीकरण ४ हजार ४ सय २५ अर्ब पुग्यो

सेयर बजार नौ महिनामै १ हजार २ सय १३ अर्ब बढ्यो, , बजार पूँजीकरण ४ हजार ४ सय २५ अर्ब पुग्यो

काठमाडौँ : २०८१ चैत मसान्तसम्मको पुँजी बजारको तथ्याङ्कले नेपालको शेयर बजारमा उल्लेखनीय वृद्धि देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको तथ्यांकअनुसार नेप्से सूचकाङ्क गत वर्षको २०८० चैत मसान्तमा २०२५.७१ विन्दुमा रहेकोमा १ वर्षमै २६६२.०८ विन्दुमा पुगेको छ, जुन ६३७ विन्दु भन्दा बढीको वृद्धि हो।

धितोपत्र बजार पूँजीकरणमा पनि उल्लेख्य वृद्धि भएको छ। २०८० चैत मसान्तमा बजार पूँजीकरण रु. ३२१२ अर्ब १ करोड रहेकोमा २०८१ चैत मसान्तसम्म आइपुग्दा यो रकम रु. ४४२५ अर्ब ४० करोड पुगेको छ। यसले गत वर्षको तुलनामा १२१३ अर्ब भन्दा बढीको वृद्धि दर्साउँछ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०८१ चैत मसान्तसम्म २७० पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्। त्यसैगरी ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटेल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका कम्पनीहरू सूचीकृत छन्। गत वर्षको चैतमा सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थियो।

बजार पूँजीकरणमा क्षेत्रगत हिस्सा हेर्दा, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५२.७ प्रतिशत रहेको छ। त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.५ प्रतिशत रहेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार २०८१ चैत मसान्तमा सूचीकृत ८ अर्ब ७२ करोड शेयरको चुक्ता मूल्य रु. ८५९ अर्ब ४५ करोड पुगेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा विभिन्न प्रकारका धितोपत्रहरू सूचीकृत भएका छन्। यस अवधिमा रु. १९ अर्ब ७७ करोड बराबरको बोनस शेयर, रु. १५ अर्ब ४१ करोड बराबरको साधारण शेयर, रु. ११ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर, रु. १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु. १० करोड ६९ लाख बराबरको एफपीओ र रु. ३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु. ५२ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. ११ अर्ब ६० करोड बराबरको म्युचुअल फण्ड, रु. १० अर्ब ३७ करोड बराबरको हकप्रद शेयर, रु. ४ अर्ब ८२ करोड बराबरको डिबेन्चर र रु. १ अर्ब ७९ करोड बराबरको साधारण शेयर गरी कुल रु. २८ अर्ब ५८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।

यो पनि

वैशाख २८, २०८२ आइतबार २१:०१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।