नेपालमा मूल्यवृद्धि: उपभोक्ता मूल्य सूचकाङ्क ४.२४% ले उकालो, खाद्य र पेय पदार्थमा उच्च वृद्धि

काठमाडौं : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको तथ्यांकअनुसार देशको उपभोक्ता मूल्य सूचकाङ्क (मुद्रास्फीति) ४.२४% ले वृद्धि भएको छ। यो वृद्धिले नेपाली बजारमा खाद्य तथा गैर-खाद्य वस्तुहरूको मूल्यमा उल्लेख्य प्रभाव पारेको छ।
तथ्यांकअनुसार खाद्यजन्य पदार्थमा ४.६३% र मदिराजन्य पेय पदार्थमा ६.०७% को उच्च मूल्यवृद्धि भएको छ। त्यस्तै, मरमसलाको मूल्य २.३९% र माछा तथा मासुको मूल्य ०.६९% ले बढेको छ। कपडा र जुत्तामा ४.०१%, फर्निचर तथा घरायसी उपकरणमा ४.४०% र विविध वस्तु तथा सेवामा सबैभन्दा उच्च मूल्यवृद्धि देखिएको छ।
शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा मुद्रास्फीति कम रहेको छ। ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.४% ले बढेको छ, जसले ग्रामीण उपभोक्ताहरूमाथि मूल्यवृद्धिको दबाब केही कम भएको सङ्केत गर्छ।
मदिराजन्य पदार्थ र खाद्य वस्तुहरूमा भएको उच्च मूल्यवृद्धिले सर्वसाधारणको दैनिक खर्चमा चाप परेको छ। विशेषज्ञहरूका अनुसार, यो वृद्धिले मध्यम र निम्न आय भएका परिवारको बजेटमा थप चुनौती थप्न सक्छ।
वैशाख २८, २०८२ आइतबार २०:३०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।