व्यापार घाटा अझै गहिरो तर घट्दो क्रममा, रुपैयाँ कमजोर, तर सेवा व्यापारमा सुधार

व्यापार घाटा अझै गहिरो तर घट्दो क्रममा, रुपैयाँ कमजोर, तर सेवा व्यापारमा सुधार

काठमाडौं : नेपालको वैदेशिक व्यापार अझै पनि निर्भरमुखी, असन्तुलित र उपभोग केन्द्रित देखिन्छ। नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनाको समष्टिगत प्रतिवेदन अनुसार व्यापार घाटा घट्नु, विदेशी मुद्रा सञ्चिति सुदृढ हुनु, र सेवा क्षेत्रको सुधार हुनुले दीर्घकालीन व्यापार सन्तुलनको सम्भावना देखाएको छ।

प्रतिवेदनले अबको चुनौती निर्यात वृद्धि र मूल्यवृद्धिबाट रक्षा गर्दै दीर्घकालीन व्यापार रणनीति निर्माण गर्नु देखाउँछ।

प्रतिवेदनमा नेपालको वैदेशिक व्यापारमा केही सकारात्मक सङ्केत देखिएका छन्। निर्यात घटे पनि आयातको सङ्कुचनले कुल व्यापार घाटा घटेको छ। रिपोर्ट अनुसार, पहिलो नौ महिनामा नेपालको निर्यात २.५ प्रतिशतले घटेर ९७ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ।

खासगरी कपडा, छाला, तयारी वस्त्र, आयुर्वेदिक उत्पादन, र हस्तकला जस्ता वस्तुहरूको निर्यातमा निरन्तर कमी आएको देखिन्छ।

अर्कोतर्फ, आयात २.६ प्रतिशतले घटेर १२ खर्ब ४५ अर्ब रुपैयाँमा सीमित भएको छ। पेट्रोलियम पदार्थ, सवारीसाधन, र विद्युतीय सामानको आयातमा उल्लेख्य कमी देखिएको छ। यसको प्रमुख कारण आयात प्रतिस्थापनका लागि लिइएका नीतिगत कदम र मुद्रास्फीति तथा ब्याजदरका कारण घट्दो उपभोग शक्ति देखिन्छ।

राष्ट्रिय बचत र विदेशी मुद्रा सञ्चिति सुदृढ

यो अवधिमा नेपालको कुल व्यापार घाटा ११ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही कम हो। यद्यपि प्रतिवेदनमा व्यापार घाटाको आकार अझै पनि उच्च नै रहेको देखिन्छ।

विनिमय दरमा रुपैयाँले केही हदसम्म अवमूल्यन व्यहोरेको देखिए पनि सेवा व्यापार (जस्तै पर्यटन, परामर्श, यातायात) मा सुधार देखिएको छ। नेपालले विदेशी सेवा उपभोगमा खर्च घटाउँदै ल्याएका सकारात्मक सङ्केतहरू देखिएका छन्।

वर्तमान व्यापार संरचनाले चालु खातामा सुधार ल्याएको छ। रेमिटेन्स वृद्धि र सेवा क्षेत्रको सुधारसँगै, विदेशी मुद्रा सञ्चिति १६.५ अर्ब डलरसम्म पुगेको छ, जसले हालको आयात आवश्यकताहरूका लागि १२ महिनाभन्दा बढी समय धान्न सक्ने स्थितिमा पुर्याएको छ।

वैशाख २८, २०८२ आइतबार २०:१४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।