एनएमबी बैंकले गर्‍यो दुई जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

एनएमबी बैंकले गर्‍यो दुई जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौं : एनएमबी बैंक लिमिटेडको अगुवाइमा दोलखा जिल्लाको विगु गाउँपालिकामा निर्माण हुने ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत् आयोजना र २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

लाप्चे तामाकोशी आयोजना एनएमबी बैंकको नेतृत्वमा नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक र डायनामिक हाइड्रो इनर्जी प्रालिको सहकार्यमा सञ्चालन हुनेछ। करिब ७ अर्ब लागत अनुमान गरिएको यस आयोजनामा ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी हुने बताइएको छ।

यसका साथै एनएमबी बैंकले एकल लगानीमा रहेको २ मेगावाटको चेपे खोला क्यास्केड आयोजनामा ४३ करोड ४० लाखको लागतमा ३४ करोड रुपैयाँ ऋण लगानी गर्नेछ।

ऋण सम्झौतामा एनएमबी बैंकका चिफ सस्टेनेबल इनर्जी बैंकिङ्ग दिनेश दुलाल र डायनामिक हाइड्रो इनर्जी प्रालिका अध्यक्ष मोहन बिक्रम कार्कीले हस्ताक्षर गरेका थिए।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले जलविद्युत् परियोजनाको प्राविधिक, वातावरणीय र जोखिम मूल्यांकनलाई प्राथमिकतासहित अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष कार्कीले एनएमबी बैंकसँग ८ वटा जलविद्युत् परियोजनामा ऋण उपभोग भइसकेको जानकारी दिँदै समयमै आयोजनाको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

एनएमबी बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् परियोजनामा लगानी गरिसकेको छ।

वैशाख २८, २०८२ आइतबार १९:५९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।