नौ महिनामा सन्तुलित मुद्रास्फीति, व्यापार घाटामा सुधार

काठमाडौं : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को नौ महिनासम्मको तथ्याङ्कमा आधारित मौद्रिक तथा वित्तीय प्रतिवेदनले मुलुकको समष्टिगत आर्थिक अवस्था सन्तुलित देखाएको छ। उपभोक्ता मुद्रास्फीति ४.९८ प्रतिशतमा सीमित रहँदा वैदेशिक व्यापार घाटा उल्लेख्य रूपमा घटेको छ।
राष्ट्र बैंकको अनुसार, गत वर्षको तुलनामा उपभोक्ता मुद्रास्फीति घटेको छ। गत वर्ष यही अवधिमा यो ७.४४ प्रतिशत थियो भने यस वर्ष ४.९८ प्रतिशतमा झरेको छ। खाद्य तथा पेयपदार्थ समूहमा ५.५७ प्रतिशत र गैर–खाद्य समूहमा ४.५६ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ।
यो अवधिमा देशको कुल वैदेशिक व्यापार घाटा २.६ प्रतिशतले घटेर ११ खर्ब ४७ अर्ब रुपैयाँमा सीमित भएको छ। निर्यात २.५ प्रतिशतले घटेर ९७ अर्ब ४५ करोड रुपैयाँमा झरेको भए पनि आयातमा २.६ प्रतिशतको गिरावट आएको छ।
वैदेशिक रोजगार र रेमिट्यान्समा सुधार
प्रतिवेदन अनुसार विदेशी मुद्रा सञ्चिति १६.५ अर्ब अमेरिकी डलर पुगेको छ, जुन चालु वस्तु खाता सुधार भई सकारात्मक बिन्दुमा जान थालेको सङ्केत हो। यो सञ्चिति हालको आयात परिमाणका आधारमा १२.५ महिनासम्म धान्न सक्ने अवस्थामा छ।
वैदेशिक रोजगार स्वीकृति (पहिलो पटक) ९.५ प्रतिशतले वृद्धि भई ३ लाख ७५ हजार पुगेको छ भने रेमिटेन्स आप्रवाह १९.२ प्रतिशतले बढेर ११ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ। यसले मुद्राको आपूर्ति सुदृढ पार्न र विदेशी मुद्रा सञ्चितिमा योगदान पुर्याएको छ।
बैंकिङ क्षेत्रमा तरलता सुधार
प्रतिवेदन अनुसार वाणिज्य बैंकहरूले कुल ६.४ प्रतिशत कर्जामा वृद्धि गरेका छन् भने निक्षेप १२.४ प्रतिशतले बढेको देखिन्छ। आधारदर ५.८९ प्रतिशतमा झरेको छ भने औसत कर्जा ब्याजदर पनि १०.२८ प्रतिशतमा सीमित गरिएको छ। कुल कर्जा–निक्षेप अनुपात ८२.८३ प्रतिशतमा सीमित गरिएको छ, जसले बैंकिङ प्रणालीको तरलता स्थायित्वतर्फ सङ्केत गर्दछ।
सरकारी राजस्व ७ खर्ब ४ अर्ब रुपैयाँमा सीमित भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.८ प्रतिशतले मात्र वृद्धि हो। तर, कुल खर्च भने ९ खर्ब २८ अर्ब पुगेको छ। यसले बजेटीय घाटा बढिरहेको देखाउँछ।
वैशाख २८, २०८२ आइतबार १९:४६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।