आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा इला होटेल सञ्चालनमा आउँदै

आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा इला होटेल सञ्चालनमा आउँदै

काठमाडौँ : आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटेल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ। होटेलको भोली सोमबार उद्घाटन हुँदैछ।

मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटेलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरू उपलब्ध रहेको होटेल व्यवस्थापकले जानकारी दिए।

केबलकारसहितको इला होटेल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरूको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरूसमक्ष पुर्याउन थप सघाउन पुग्ने होटेल व्यवस्थापकले बताएका छन्।

आइएमई ग्रुपले सात वटै प्रदेशमा केबलकार, होटेल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको छ।

हालसम्म तीन वटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटेल सञ्चालनसँगै दुई वटामा होटेलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन्।

लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटेल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटेल, रिपोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ।

त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउने र त्यसको केही समयपछि नै होटेल र रिपोर्ट पनि सञ्चालनमा आउने समूहले बताएको छ। ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ। निर्माणको काम विवादका कारण रोकिएको छ।

वैशाख २८, २०८२ आइतबार १९:२७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।