हिल्टन होटल देउवा पुत्रले किनेको हल्लाले जगदम्बा ग्रुप नै चकित

हिल्टन होटल देउवा पुत्रले किनेको हल्लाले जगदम्बा ग्रुप नै चकित

काठमाडौं : हिल्टन होटल बेचिएको भन्ने विभिन्न मिडियामा आएका समाचारप्रति जगदम्बा हस्पिटालिटी ग्रुपले स्पष्टीकरण दिएको छ। ग्रुपले शनिबार एक विज्ञप्ति जारी गर्दै होटल कसैलाई बिक्री नगरिएको भन्दै बेच्ने योजना समेत नभएको बताएको छ। 

 ‘केही अनलाइन मिडिया र विभिन्न सामाजिक सञ्जालहरू मार्फत हिलटन होटल खरिद बिक्री विषयमा भ्रामक र आधारहीन समाचार प्रकाशित भएको प्रति हामी आश्चर्यचकित भएका छौं र यस अफबाह प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ। 

जगदम्बा ग्रुपले हिल्टन होटल अहिले पनि निर्माणाधीन अवस्थामा रहेको र सबै सरकारी प्रक्रिया अनुसार काम अगाडि बढिरहेको जानकारी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामीले हिल्टन ब्रान्डसँग सहकार्य गरेर नेपालमै अन्तर्राष्ट्रियस्तरको होटल ल्याउँदैछौ। निर्माणको काम अन्तिम चरणमा पुगेको छ र छिट्टै सञ्चालनमा आउने तयारी छ।’

ग्रुपले यस्ता गलत समाचारले लगानीकर्ताको मनोबलमा असर पार्ने र व्यवसायीक वातावरणमै नकारात्मक प्रभाव पार्ने भन्दै मिडियालाई अनधिकृत र अप्रमाणित कुरा नलेख्न अनुरोध गरेको छ।

‘राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडेर आउने भ्रामक समाचारहरूले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुऱ्याउने कार्य भए गरेको प्रति गम्भीर आपत्ति जनाउँदै नेपालको प्रचलित कानून बमोजिम आवश्यक कानूनी प्रकृया अपनाइने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौ,’ विज्ञप्तीमा उल्लेख छ। 

हिल्टन होटल काठमाडौंमा अत्याधुनिक सेवा, सुविधासहित छिट्टै सञ्चालनमा ल्याइने योजना अन्तिम तयारीमा रहेको पनि ग्रुपले जानकारी दिएको छ।

शनिबार मिडियाहरूमा हिल्टन होटल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले किनेको भन्ने समाचार आएका थिए।

वैशाख २८, २०८२ आइतबार १९:२५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।