‘ऊनको स्वीटर’ : अर्ग्यानिक प्रेमकथाको मुलायम प्रस्तुति

गीतमार्फत कथा भन्नेहरूले समाजको कथालाई पनि गीतबाटै सुर्केनो लगाउँछन्। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘वसन्त’ले यही शैली अपनाएको थियो। अन्तर्जातीय प्रेमलाई उनले गीतको बलमा स्थापित गर्ने प्रयास गरेका थिए। तर निर्देशकमा रहेको फिल्मी दृश्य भाषाको कमजोर ज्ञानका कारण सपुत सफल भएनन्।
२ वर्षअघि रिलिज भएको म्युजिकल भिडियो ‘घुमी घुमी’ अनि ‘तीनपाते’ बाट श्रोता र दर्शकको मनमा राम्रै प्रभाव पार्न सफल भएका नवीन चौहानले पनि उस्तै कथा अनि शैली पच्छ्याएर ‘ऊनको स्वीटर’ बनाए र, सफल पनि भए।
दुई प्रेम जोडी, एउटाको हिरो हुने रहर जस्ता 'वसन्त' र 'ऊनको स्वीटर’कथाको केही प्लट पनि मिल्छन्। तर प्रस्तुतीको शैली निकै भिन्न छ दुबैको। कथा भने मिल्दैन।
‘ऊनको स्वीटर’ म्युजिकल भिडियो घुमीघुमीकै विस्तारित रूप भन्दा फरक पर्दैन। त्यसमा विपिन कार्कीको अपोजिटमा अञ्जना बराइली छिन् भने ‘ऊनको स्वीटर’मा मिरुना मगर। तर प्रेमकथाको बुनोट उस्तै उस्तै नै देखिन्छ नै विपिनको क्यारेक्टरमा पनि घुमीघुमीकै धेरै झल्को आउँछ।
यो फिल्म पहिला फिल्मको कथा लेखेर अनि त्यस अनुसारको गीत र संगीतको निर्माण गरेको नभई पहिला गीत अनि संगीतको निर्माण गरेर त्यसलाई अब कसरी भिज्योलमा देखाउने भनेर फिल्म बनाएझैँ देखिन्छ। त्यसैले कथा भन्दा पनि सांगीतिक पक्ष निकै हावी छ यो फिल्ममा।
लेखक समेत रहेका निर्देशक चौहानले पाँचथरको सत्यरुपामा काफ्ले परिवार र लिम्बू समुदायको बसोबासको कथालाई बुन्ने प्रयास गरेका ‘ऊनको स्वीटर’ मा। उनले लिम्बू, बाहुन र गुरुङ समुदायका सदस्यलाई मिसाएर सांगीतिक माहौलको माध्यमबाट अलिक फराकिलो प्रेम कथा भन्ने प्रयास गरेका छन्।
स्क्रिनप्ले र कथ्य संरचनामा कमजोरी देखिए पनि निर्देशकले बलियो दृष्यभाषा मार्फत मुलायम रूपमा प्रेमकथा पस्किएका छन्। कलाकारको उस्तै अभिनयले गर्दा फिल्मका कमजोरीहरु छोपिएका छन्।
विशेषगरि विपिन पात्रको संवादमा निर्देशक अलमलिएको प्रष्टै देखिन्छ। तर उनले पहिलो फिल्मबाट जसरी अर्ग्यानिक नेपाली प्रेमकथालाई पस्किए यसले उनको निर्देशन यात्रा लामै जाने देखिन्छ।
अब लागौँ कथासारतर्फ,
पाँचथर, नवमीडाँडा, सत्यरुपामा लिम्बु समुदायको बाक्लो वस्तिका बिचमा काफ्ले माइला अर्थात् भूमिनन्द काफ्ले (सुशील पोखरेल)को परिवार छ।
उनका दाजुभाइहरू सबै बसाइँ सरेर झापा गइसके। भूमिनन्द पनि कहिले व्यापार त कहिले पैसा कमाउने ध्याउन्नमा हराई रहन्छन्। तर उनका जेठा छोरा धरणीधर काफ्ले (विपिन कार्की), श्रीमती र कान्छो छोरो डम्बर काफ्ले (एलेक्स पारस) त्यहीँ बस्तीमा बस्छन्।
छिमेकी लिम्बू परिवार र काफ्ले परिवारको सम्बन्ध घनिष्ठ छ। धरणीधरका बुबा भूमिनन्दले अलिमाथि लेकमा मित लगाएका छन्। त्यही नाताले काफ्ले परिवारको लेकमा पनि आउजाउ चल्छ।
धरणीधर (विपिन)ले आफ्नो भन्दा पनि भाइलाई पढाउने सपना देख्छ। तर भाइ डम्बरे दिलीप रायमाझी जस्तै हिरो बन्न चाहन्छ। दिलीप रायमाझीको फ्यान रहेका उनी छिमेकी आदाम्बेकी छोरी ईक्सा लिम्बू (परीक्षा लिम्बू) सँग सांस्कृतीक कार्यक्रममा भाग लिएकै रात एकाएक हराउँछन्।
यसले गाउँमा लिम्बु र काफ्लेबीच द्वन्द्वको प्रारम्भ गराउँछ। त्यही बिचमा अविवाहित धरणीधर मितबुबा (माओत्से) कोमा जानेक्रममा फूल गुरुङ (मिरुना मगर) हिमचिम बढ्छ।घर बनाउने काम गर्ने उनको हिमचिम बढ्दै माया बस्छ।
प्रधानपञ्चका छोरा शेरेहाङ्ग सुब्बा (विल्सन विक्रम राई) फूलसँग विवाह गर्न चाहन्छ। शेरेहाङ र धरणीधरमध्ये फुल कसरी हुन्छिन्? समाजमा फैलिएको द्वन्द्व समाधान हुन्छ कि झन् बढ्छ? भागेको जोडी फर्किएलान्? फिल्मको मुलकथा यसै वरपर घुमेको छ।
सबल पक्ष
फिल्ममा उपकथाहरू जोडे पनि फिल्मको मूल कथा धरणीधर बनेका विपिन र फुल बनेकी मिरुनाको प्रेमकथा नै हो। निर्देशकले पनि यसैमा आफ्नो सबै ध्यान केन्द्रित गरेका छन्। उनले यी दुवैको प्रेमलाई पर्दामा कोमलताका साथ पस्कन सकेसम्म कम त्रुटि गरेका छन्।
निर्देशकले जुन रूपमा मिहेनत गरेका छन् पर्दामा त्यही रूपमा आएको छ दृश्यहरू। हक्की फुल अनि अलि लजालु र सोझो धरणीधरको प्रेमकथाका दृष्य हेर्दा दर्शकको मनमा कुतकुती लाग्छ। कुनै प्रेमको उपन्यास पढ्दा हराए झैँ दर्शक हलमा हराउँछन्।
सिनमेमाटोग्राफीमा निकै मिहिनेत गरेको देखिन्छ फिल्ममा। पाँचथरको दृश्यहरूले दर्शकको आँखालाई शीतल बनाउँछ। बिझाउने कमै दृश्यहरू छन्। लिम्बु समुदाय र अन्य समुदायबीचको आत्मीयतालाई निर्देशक चौहानले कथाको कुरुषमा गाँठो नपारी बुन्ने प्रयास गरेका छन्।
भाइ डम्बरले छिमेकी लिम्बूनी भगाएपछि सबै आपत् धरणीधरमाथि नै आइ पर्छ। घर बनाउने उनको पेसा नै सङ्कटमा पर्छ। उता मानसिक स्वास्थ्य बिग्रिएका बुबा छन्। तर उसले आफ्नो सोझोपनाबाटै यी सबै समस्याको सामना गरिरहन्छ, आफ्नै शैलीमा।
काफ्ले पात्रमा विपिन कार्कीको हिँडाई अनि हाउभाउ एकदमै सुहाएको छ। एकातिर हक्की फुल अनि अर्कोतिर डरपोक काफ्लेको जोडी पर्दामा हेर्दा दर्शक रमाउँछन्। प्रेमकथामा पनि निर्देशकले चल्तीको फास्टफुड हैन अर्ग्यानिक शैली अपनाएका छन्। जसको प्रभावले फिल्म निकै मुलायम बनेको छ।
गीत अनि संगीत यो फिल्मको सबैभन्दा बलियो पक्ष हो नै। ब्याकग्राउण्ड म्युजिकले पनि फिल्मलाई बलियो बनाउन मद्दत गरेको छ। जति गीत प्रयोग भएको छ त्यसले फिल्मको कथाको बगाइलाई अवरोध पूर्याएको छैन।
पात्र छनोट निकै बलियो देखिन्छ। पछिल्लो समय एकपछि अर्को फिल्ममा ठक्कर खाइरहेका छन् विपिनले। हालसालै कर्मा डिजास्टर नै भयो। उनलाई यो फिल्मको क्यारेक्टरले राम्रै राहत दिएको छ। उनी निकै बलियो देखिएका छन् पात्रमा। अभिनय उम्दा छ उनको। खुलेका छन् उनी क्यारेक्टरमा।
मिरुना मगर,परीक्षा लिम्बू,तक्मे बुढा लगायतका पात्रले पनि फिल्मका पात्रहरूको लय बिगारेका छैनन्। यसै फिल्मबाट डेब्यु गरेका एलेक्सको भूमिका छोटा भए पनि उनले अभिनयमा बलियो सम्भावना देखाएका छन्। धरणीधरको मित बाको भूमिकामा रहेका माओत्से गुरुङको चरित्र रमाइलो छ। सुनिल पोख्रेल जति सिनमा देखिएका छन् उनको अभिनय क्षमता प्रस्ट देखाएका छन्।
दुर्बल पक्ष
फिल्मको स्क्रिनप्लेमा निर्देशक चुक्दा फिल्मको गति केही स्लो बन्न पुगेको छ। कतिपय दृश्य फिल्मबाट हटाउँदा त्यसको लयमा कुनै असर पर्दैनथ्यो। तर राम्रो देखिएको छ भनेर राखिएझैँ देखिन्छ।
फिल्मको कथ्य शैलीमा ठ्याक्कै घुमी-घुमीकै शैलीमा फ्लासब्याक अपनाएका छन्। यसले दर्शक अलमलिने ठाउँ प्रशस्तै छ।
निर्देशकले धरणीधरको फूलमायासँग बाल्यकालमै प्रेम थियो भन्न खोजेका छन्। तर दर्शकले त्यसको अनुभव गर्न सक्दैनन्।निर्देशकले प्रारम्भमै क्लाइमेक्सको सङ्केत गरेका छन् जुन सहजै बुझिन्छ पनि।
प्रारम्भमा बलियो पात्र देखाइएको प्रधानपञ्चको छोरा विल्सन विक्रम राई (तक्मेबुढा)लाई निर्देशकले आधाबाटोमा नै फ्यात्त फालेका छन्। पञ्चमी मेलामा फूलमायासँग नजिकिएका उनले अर्की युवतीलाई भगाएको हल्ला चल्छ। त्यसपछि उनी फिल्मबाट हराउँछन्। उनले युवती भगाएर हराएका हुन् या हैन त्यतातिर वास्तै गरेका छैनन् निर्देशकले। विपिनको भाईलाई पनि फिल्मबाट त्यसरी नै बेपत्ता बनाइदिएका छन् निर्देशकले।
पहिला बहु प्रेम सम्बन्ध देखाउन पात्र निर्माण गरे। तर उनीहरुको सही व्यवस्थापन गर्न सकेनन्। अनि फूल र धरणीधरको प्रेममा केन्द्रित हुन अन्यलाई फुत्त फुत्त भगाए निर्देशकले। त्यसले फिल्मलाई बलियो भने बनाएको छैन।
धरणीधरका बुबा भूमिनन्द घरमा आउनु,अनि राति चिहान खन्न जानुको खासै अर्थ देखिएन कथामा। बाउले चिहान खनिरहेको ठाउँमा पुगेका धरणीधर र उनकी आमा रोएर बेहोस नै हुन खोज्छन्। तर त्यो दृश्यले दर्शकको मन हुँडलिँदैन।
विपिनको लवजमा पनि बेलाबखत चिप्लिएको अनुभव हुन्छ। लिम्बु बस्तीमा हुर्किएका उनको लवजमा लिम्बुपन आउनु नयाँ भएन। तर कहिलेकाहीँ तराईको लवज समेत मिसिदिन्छ।
विपिन हुन् या उनको भाइ दुवैकोमा प्लेब्याक एकै गायकको प्रयोग गरिँदा अलि अमिल्दो सुनियो। सुजनको गीतमा विपिनको लिपसिङ पनि चिप्लिएको देखिन्छ। जताततै सुजनको मात्र स्वर प्रयोग नगरेको भए अझ बलियो हुन सक्थ्यो।
प्रेमकथा सबैभन्दा धेरै फिल्म बन्ने विषय हुन् भन्दा फरक पर्दैन। फिल्ममा कुनै न कुनै रूपमा प्रेम मिसिएकै हुन्छ, अभिनेता अनि अभिनेत्रीका रूपमा। तर प्रेम अनि त्यसको भाव आँखा जुध्दैमा, कुनै पार्कमा नाच्दैमा अनि आईलभयू भन्दैमा मात्र प्रकट हुन सक्दैन। प्रेम आफैँमा मनमा कुतकुती लगाउन सक्ने भावना हो। यो सिधै मष्तिष्कबाट प्रकट हुन्छ।
त्यसैले जुन फिल्मले दर्शकको मनमा कुतकुती लगाउन सक्छ त्यो नै सफल फिल्मको सूचीमा पर्छ। यो मानेमा फिल्म ‘ऊनको स्वीटर’ मुलायम प्रेमकथा मार्फत दर्शकको मनमा कुतकुती लगाउन सफल भएका छ।
कमजोरी टन्नै छन् फिल्मका। तर शक्तिशाली गीत-संगीत अनि उस्तै अभिनयका साथ अर्ग्यानिक प्रेमकथा र मुलायम प्रस्तुतिले निर्देशक नवीन चौहान पहिलो फिल्ममै सफल भए।
वैशाख २८, २०८२ आइतबार १९:०२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।